भारतमा कोरोना कहर : संक्रमित र मृत्युको नयाँ रेकर्ड

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीव्र बनेको देखिएको छ। स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने र नयाँ संक्रमणको दरमा नयाँ रेकर्ड देखिएको छ।

शुक्रबार बिहान सार्वजनिक गरिएको एक तथ्यांकमा गएको २४ घन्टा यता मात्र थप ३ लाख ३२ हजारभन्दा बढी नागरिक संक्रमित भेटिएका छन् । यो संख्या भारतमा अहिलेसम्ममा एकै दिन देखिएको संक्रमणको सबैभन्दा ठूलो संख्या भएको बताइएको छ ।

त्यसैगरी गएको २४ घन्टा यता २ हजार २६३ जनाको ज्यान गएको छ। यसरी कोरोना भाइरसको संक्रमणकै कारण भारतमा २४ घन्टामा भएको मृत्यु सबैभन्दा बढी हो । भारतमा अहिलेसम्ममा संक्रमणबाट १ करोड ६२ लाखभन्दा बढी व्यक्ति संक्रमित पुगेका छन्। त्यसैगरी भारतमा यो संक्रमणबाट मात्र एक लाख ८६ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

भारतमा यसअघि तीन लाखभन्दा केही बढी संक्रमित एकैदिन भेटिएका थिए । तर बिहीबार भने ३ लाख ३२ हजार भन्दा बढी नागरिक यसका संक्रमित भेटिएका हुन्। कोरोना माहामारी शुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्यांकले देखाएको छ।

यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संक्रमित भएका थिए। भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। अहिलेसम्म भारतमा १३ करोड ५४ लाख ७८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलि रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन्। रुसले विकास गरेको स्पुतनिक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् । भारतमा बिहीबार मात्रै १७ लाख ४० हजार ५५० जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।

अप्रिल २२ सम्म कूल २७ करोड ४४ लाख ४५ हजार भन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ। भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ। दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना संक्रमणबाट १२ हजार ६४० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया