एजेन्सी । भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको एक अस्पतालमा आगलागी हुँदा १३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।
महाराष्ट्रको बसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा आईसीयुमा भर्ना भएका १३ बिरामीको मृत्यु भएको हो । आगलागीमा परेर घाइते भएका अन्य बिरामीहरुलाई नजिकैका अस्पतालमा सारिएको छ ।
दुई दिनअघि महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन लिक हुँदा २२ बिरामीको मृत्यु भएको थियो। यसैबीच नयाँ दिल्लीका ठूला ६ वटा अस्पतालमा अक्सिजन रित्तिएको छ ।
साथै अन्य केही अस्पतालमा अक्सिजन अन्तिम अवस्थामा पुगेको बताइएको छ । दिल्लीमा अक्सिजन अभावका कारण थुप्रै कोरोना संक्रमितको ज्यान गइरहेको बताइएको छ ।
अधिकारीहरुका अनुसार कोरोना संक्रमितले ९९ प्रतिशत बेड भरिएका छन् भने अस्पतालका पेटी र खुला ठाउँमा बिरामीहरुको भीड लागेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ३२ हजार ५ सय संक्रमित थपिएका छन् ।
यो हालसम्मकै उच्च संख्या हो । त्यस्तै यो अवधिमा २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ। दैनिक हुने मृत्युमा यो पनि हालसम्मकै उच्च संख्या हो ।
युग संवाददाता । । १० बैशाख २०७८, शुक्रबार १६:०९