भारतलाई कोरोना महामारी नियन्त्रणमा सघाउन चीन इच्छुक

नयाँदिल्ली । भारतमा बढ्दो कोरोना संक्रमण र मेडिकल अक्सिजन अभावबाट उत्पन्न संकटलाई नियन्त्रणमा लिन चीन सरकारले सहयोग गर्ने जनाएको छ । भारतीय अखबार टाइम्स अफ इन्डियाले चीन सरकारले भारतलाई सघाउन इच्छा देखाएको समाचार लेखेको छ ।

कोरोना भाइरस मानव जातिकै साझा शत्रु रहेको र यो महामारीलाई परास्त गर्न अन्तर्राष्ट्रिय एकता र परस्पर सहयोगको आवश्यकता रहेकोमा चीनले जोड दिएको छ । ‘भारतमा हाल देखिएको गम्भीर अवस्थामाथि हाम्रो नजर छ । त्यहाँ महामारीबाट लड्न आवश्यक जरुरी औषधिको समेत कमी भइरहेको छ,’ बिहीबार चिनियाँ विदेश मन्त्रालयले भनेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले गत साता मात्रै विदेशबाट मेडिकल अक्सिजन आयात गर्न योजना बनाइरहेको बताएको थियो । तर चीन नभई उ खाडी मुलुक र सिंगापुरबाट मेडिकल अक्सिजन खरिद गर्न चाहिरहेको स्रोतलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

भारतले गतवर्ष मात्रै चीनबाट मेडिकल उपकरण मगाएको थियो । जसमध्ये अधिकतम सामग्री खरिद गरिएका थिए । हाल दुवै देशले कोरोनाविरुद्धको खोप उत्पादन गरी विश्वका विभिन्न देशमा ढुवानी गरिरहेका छन् ।

दक्षिण एसियाका श्रीलंका र नेपाललगायत मुलकमा भारतबाट आपूर्ति बन्द भएपछि मात्र चिनियाँ खोप पुगेको थियो । तर अहिले मुलकभित्रै कोरोनाको गहिरो संकट देखिएकोले भारतले खोप निर्यातमा आधिकारिक रुपमा रोक लगाएको छ ।

तपाईको प्रतिक्रिया