लमजुङमा मानवसेवा आश्रम भवन निर्माणार्थ महायज्ञ हुँदै

स्वास्थ्यका सबै मापदण्ड पुरा गरिने आयोजकको दावी

लमजुङ । मानवसेवा आश्रम लमजुङ शाखाको भवन निर्माण सहयोगार्थ महायज्ञ गरिने भएको छ । शाखाको भवन निर्माण सहयोगार्थ बैशाख १२ गतेदेखि १९ गतेसम्म श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ–२०७८ को आयोजना हुन लागेको हो ।

सडकमा बेसहारा जीवन बिताइरहेका सहयोगापेक्षीलाई उचित बसोबासका लागि भवन निर्माण गर्न मानवसेवा आश्रम शाखा लमजुङले महायज्ञको आयोजना गर्न लागेको हो । १३ रोपनी जग्गामा करिव २० करोडको लागतमा बन्ने उक्त भवन १५० जना अट्ने क्षमताको हुनेछ ।


भवनमा आश्रीतहरुका लागि मनोरञ्जन स्थल, आकर्षक बालउद्यान, खुला व्यामशाला, योग साधना हल तथा पुस्तकालयसमेत निर्माण गरिने छ । महायज्ञको तयारीमा भई रहेको प्रतगिको अवस्थाका बारेमा जानकारी दिन (बिहीवार) आयोजित पत्रकार सम्मेलनमा आश्रमकी जिल्ला संयोजक अनिता अधिकारीले महायज्ञको तयारी अन्तिम अवस्थामा पुगिसकेकाले महायज्ञ सफल पार्न सञ्चारकर्मीको भुमिका महत्वपूर्ण हुने भन्दै सहयोगापेक्षीको उद्दारका लागि सहयोग गरिदिन आग्रह गरिन् ।

महायज्ञ सञ्चालनका लागि प्रचार–प्रसार तथा निमन्त्रणाको काम तीव्ररुपमा भइरहेको जानकारी दिइन् । महायज्ञ सफल पार्न विविध उपसमितिहरुसँग छलफल भइरहेको भन्दै महायज्ञ सञ्चालनमा करिव २५ लाख लागत लाग्ने र तीन करोड सहयोग संकलन गरिने लक्ष्य रहेको अधिकारीले जानकारी दिइन् ।

कोराना भाईरसको दोस्रो लहर चलिराखेका बेला लमजुङ जिल्ला अहिलेसम्म खतरामुक्त रहेको उल्लेख गर्दै महायज्ञ सञ्चालन अवधिभर स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु कडाईका साथ लागु गरिने पूर्व संविधानसभा सदस्य एवम् महायज्ञ मूल आयोजक समितिका संयोजक जमिन्द्रमान घलेले जानकारी दिए ।

महायज्ञको तयारी अन्तिम अवस्थामा पुगिसकेकाले सम्पूर्ण नागरिक तथा संघसंस्थाहरुलाई आफ्नो ठाउँबाट महायज्ञ सफल पार्न सहयोग गरिदिन आग्रह गरे । उनका अनुसार कोरोना संक्रमणलाई ध्यानमा राख्दै कार्यक्रम स्थलमा मास्क, स्यानिटाइजर र सामाजिक दुरी अनिवार्य गरिनुका साथै थर्मल गनसहित स्वास्थ्यकर्मीको टोली हाई अलर्ट अवस्थामा राखिने बताए ।

महायज्ञमा सहभागी हुन आउने नागरिकको अनिवार्य प्रवेशद्धारमा ज्वरो नापिने र संक्रमणको संका लागे प्रवेशमा रोक लगाउने बताए । बेसहाराको सारथी बन्दै आएको मानवसेवा आश्रमको भवन निर्माणमा सहयोग गरी पुण्य आर्जन गर्नसमेत अनुरोध गरे ।

महायज्ञमा गुरु कमलनयन गौतमले प्रवचन गर्नेछन् भने, कार्यक्रममा आश्रमका सद्भावना दुत मह जोडी हरिवंश अचार्य, मदनकृष्ण श्रेष्ठ, पूर्व मिस नेपाल श्रृखला खतिवडा सहभागी हुनेछन् । यस्तै गायक राजु परियार, विमाकुमारी दुराको समेत सहभागी हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा लमजुङका विभिन्न सञ्चारमाध्ययममा कार्यरत पत्रकार, आश्रमका स्वंमसेवक लगायत समाजसेवीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया