अविश्वासको प्रस्ताव लैजान कांग्रेसले अझै एक हप्ता कुर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउनु पर्ने टुंगोमा पुगेको नेपाली कांग्रेसले समय परिपक्व हुन अझै एक साता लाग्ने निष्कर्ष निकालेको छ । यसबारे बुधबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा लामो छलफल भएको थियो ।

‘प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा हामी पुगेका छौं, समय परिपक्व भने भइसकेको छैन,’ देउवानिकट एक नेताले भने, ‘विकसित भइरहेका राजनीतिक घटनाक्रम र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्याबारे मसिनो गरी हिसाबकिताब गर्नुछ ।’

अविश्वास प्रस्ताव पारित हुने गरी गृहकार्य गर्नु परेकोले केही ढिलाइ हुने ती नेता बताउँछन् । प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्न दलहरूको गठबन्धन बनाउनु पर्ने चुनौती कांग्रेससामु छ ।

‘माओवादी केन्द्र थप प्रष्ट भएर आएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने अधिकार पार्टीले प्रचण्डलाई दिएको छ,’ ती नेताले थपे, ‘जसपाले निर्णय गरेन ।’ जसपाले संस्थागत निर्णय नगर्दा पार्टीका नेतैपिच्छे फरक कुरा बाहिर आएका छन् । अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो कांग्रेसको नेतृत्वमा सरकार बनाउन चाहिरहेका छैनन् भन्ने कांग्रेसको विश्लेषण छ ।


‘महन्थ ठाकुर र राजेन्द्र महतो ओलीतिरै मिल्छन् । उपेन्द्र यादव र बाबुराम भट्टराई एजेन्डामा हामीसँग नजिक छन्, ओलीसँग कुनै पनि हालतमा मिल्नु हुन्न भन्नेमा उनीहरू छन्,’ ती नेताले भने, ‘जसपा निर्णयविहीन भयो भने अविश्वास प्रस्ताव आउन थप ढिला हुनेछ । तर जसपाले ओली वा कांग्रेसतिर मिल्ने निर्णय गरेमा केही प्रष्ट तस्बिर देखा पर्छ।’ कांग्रेस नेताहरूको विश्लेषणमा जसपा अब एक रहन सक्दैन ।

‘ओलीतिर महन्थ र राजेन्द्र मिले भने बाबुराम र उपेन्द्रले नयाँ पार्टी बनाउँछन्, बाबुराम र उपेन्द्र कांग्रेसतिर मिल्ने निर्णय भयो भने महन्थ र राजेन्द्रले अर्को पार्टी बनाउँछन् भन्ने हाम्रो विश्लेषण छ । एक साताभित्र यसबारे थप प्रष्टता होला,’ उनले भने।

जसपा विभाजन भएमा ओलीविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर र मतदान गर्ने सांसदको संख्या पुर्‍याउन आफूहरूलाई थप चुनौती हुने ती नेता बताउँछन् । यस्तो बेला एमालेमा समानान्तर गतिविधि गरिरहेको माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदले सघाउने आशा कांग्रेसको छ । तर एमालेमा थप विग्रह हुन नदिन भएका पछिल्ला प्रयासले यो सम्भावनालाई कमजोर बनाउन सक्ने कांग्रेसको विश्लेषण रहेको ती नेताले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार