त्रास होइन, सचेत बनौं

कोरोना महामारीको दोस्रो लहर फैलिएपछि पुनः त्रास छाएको छ । अघिल्लो वर्ष पनि यो महामारीका कारण त्रास छाएको थियो । सुरुवातमा त्रास भए पनि विस्तारै यसबाट जोगिने उपायहरु अपनाउन सर्वसाधारणले सिके ।

स्वास्थ्यका मापदण्ड अपनाए, सामाजिक दुरी कायम गरे र स्वास्थ्यकर्मीसँग परामर्श गरेका कारण निको हुने दर पनि बढ्यो । यसले पनि के प्रमाणित गरिदियो भने, कोरोनाको नाममा फैलाएको त्रास र आतंकले भन्दा आत्मबलले कोरोनाबाट बच्न सहयोग गरेकै हो । तर यसपाली फेरि कोरोनाको आतंक फैलाउन थालिएको छ ।

कोरोना संक्रमण बढ्दै जाँदा यसबाट बच्नका लागि आवश्यक सावधानी अपनाउनुको साटो केवल आतंक र त्रास फैलाउने काम भइरहेको छ । यसअघि संक्रमणदर बढी भए पनि निको हुने दर पनि बढी नै थियो ।

अर्थात् जसरी त्रास फैलाइएको थियो, त्यसको तुलनमा मृत्युदर कम भयो । यसका पछाडि धेरै कारणहरु हुन सक्छन् । कारण जेसुकै भए पनि नेपालमा कोरोनाबाट बच्ने दर बढी नै भयो । यसपटक पनि अघिल्लो वर्षको जस्तै संक्रमणबारे अनेकौ भ्रम र त्रास फैलाउने क्रम सुरु भएको छ । यसले संक्रमणबाट जोगाउने भन्दा पनि सर्वसाधारणहरुको मनोवल कमजोर बनाएको छ ।

बरु नागरिकलाई संक्रमणबाट जोगिने उपायहरुको बारेमा पो सचेत बनाउने होला । कोरोना पहिला जस्तो नयाँ विषय अब रहेन । किनकी यसबारे धेरै नागरिक जानकार छन् । यसको संक्रमण हुने र बच्ने उपायहरुबारे पनि जानकार छन् ।

यसकारण पनि कोरोना फैलियो भनेर प्रचार गर्नुभन्दा पनि कसरी यसको संक्रमणबाट जोगिन सकिन्छ भन्नेतर्फ हाम्रो प्रयासहरु केन्दीत हुनु पर्दछ । स्वास्थ्य मापदण्डहरुको पालना गराउने, मास्क र सेनिटाइजरको प्रयोगमा जोड दिने, सामाजिक दुरी कायम गराउने र सार्वजनिक सेवालाई सुरक्षित रुपमा प्रवाह गर्न सकेमा कोरोनाको नाममा अनावश्यक त्रास फैलाउन जरुरी नै छैन ।

अर्कोतर्फ कोरोनाको नाममा शैक्षिक संस्थाहरु बन्द गर्ने काम भएको छ । यसले बालबालिकामा त्रास र भय सिर्जना गरेको छ । कोरोना देखाएर शैक्षिक संस्थाहरु कहिलेसम्म बन्द गर्ने ? बरु यसको साटो बैकल्पिक माध्यमबाट पढ्ने वातावरण मिलाउने तर्फ हाम्रो ध्यान कहिले जान्छ ? कारोनालाई देखाएर मानिसहरुलाई घरभित्रै थुन्न सम्भव छ ? पक्कै पनि यो सम्भव छैन ।

बरु कोरोनासँग जुध्दै हामीले हाम्रो दैनिकै अगाडि बढाउनुपर्ने हुन्छ । यसकारण चाहिनेभन्दा बढी त्रास देखाउने, केवल संक्रमितको तथ्यांक मात्र देखाउने, मानिसहरुलाई घरभित्र मात्र थुन्ने, अर्थतन्त्रलाई कमजोर बनाउने भन्दा पनि कोरोनाबाट जोगिने उपायहरु अपनाउँदै अवस्था सामान्य बनाउनेतर्फ सबैको पहल हुन आवश्यक छ ।

जे गर्दा कोरोना संक्रमणबाट बच्न सकिन्छ, बच्नका लागि के के सावधानी अपनाउनुपर्ने हो, व्यक्तिगत रुपमा कस्तो सतर्कता चाहिने हो त्यसमा राज्यले कडाइ गर्नु पर्दछ । संक्रमण भइहालेमा विरामीले सहज र छरितो रुपमा उपचार पाउने व्यवस्था मिलाउनु पर्दछ । त्यसकारण महामारीको समयमा त्रास र आतंकभन्दा सचेतना फैलाउनु नै उत्तम हुनेछ ।

तपाईको प्रतिक्रिया