‘उत्पादनमुलक कार्यक्रमलाई प्राथमिकता दिएका छौं’

कर्णाली प्रदेशका १० जिल्ला मध्येको एउटा जिल्ला हो जुम्ला । जुम्लाको तिला गाउँपालिकामा जम्मा ९ वडा छन् । गाउँपालिकाको क्षेत्रफल १७५.४९ वर्गकिलोमिटर रहेको छ । भने पुरुषको संख्या ८२४१ र महिलाको संख्या ७८३४ गरी जम्मा १६०७५ जनसंख्या रहेको रहेको छ । यो गाउँपालिकामा जनप्रतिनिधि आएपछि के परिवर्तन भयो ? हालसम्म गाउँपालिकामा के कस्ता विकास निर्माण भए त ? यसै विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी टेकराज केसीले जुम्लाको तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंश

हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?

गाउँपालिकाकै काममै व्यस्त छु । जनताका समस्या समाधान कसरी गर्न सकिन्छ, भन्ने सन्दर्भमा व्यस्त छु । जनताका गुनासा सुन्ने र विकासका काम संचालन गर्दै समय वितेको छ ।

यहाँको नेतृत्वमा गाउँपालिकामा के परिवर्तन भयो त ?

हाम्रो गाउँपालिका सन्र्दभमा कर्णाली राजमार्गले छोएको गाउँपालिका तर कुनै पनि गाउँमा सडक संजालले नछोएको अवस्था थियो । अहिले सबै वडाका ३२ वटा टोलमध्ये पाँच वटा टोलमा मात्र सडक संजाल पुग्न बाँकी छ । अन्य सबै वडामा सडक संजाल पुगेको छ ।

पहिले चारवटा मात्र स्वास्थ्यचौकी पालिकाभित्र थिए । हामी निर्वाचित भएर आइसकेपछि अब बन्ने १० शैयाको हस्पिटलसहित १२ वटा स्वास्थ्य संस्थाहरु सबै वडामा पुर्याएका छौं । गाउँपालिकामा रहेका सबै विद्यालय भवनहरु बनेका छन् ।

विद्यार्थीहरुको संख्याको आधारमा विद्यालय मर्ज गरेका छौं भने दुईवटा माविहरु स्वीकृत गरेका छांै । स्वास्थ्य क्षेत्रमा जेष्ठ नागरिकको घरमै गएर उपचार गर्ने गरेका छौं । प्रत्येक विद्यालयमा स्वास्थ्य चेकजाँचको व्यवस्था गरेका थियौँ । यो विगतकोभन्दा धेरै परिवर्तन होइन र ?

अनि कृषि क्षेत्रमा हामीले स्वरोजगारमुलक कार्यक्रम संचालन गरेका छांै । त्यसको लागि चालु अर्थिक बर्षमा मात्र डेढ करोड रकम बजेट छ । गाउँपालिकामा विद्युतिकरण गर्नेगरी काम पनि भइरहेका छन् ।

सिमान्तकृत समुदायको क्षेत्रमा कस्तो काम भइरहेको छ नी ?

तपाईँले भनेको जस्तो सिमान्तकृतको परिभाषाभित्र हाम्रो गाउँपालिकामा समुदाय छैन । पछाडी पारिएको समुदाय भनेको हाम्रो पालिकामा दलित समुदाय हो । आर्थिक रुपमा गैरदलित पनि पछाडी नै छन् ।

त्यस्ता समुदायको लागि हामीले लक्षित कार्यक्रम संचालन गरिरहेका छांै । विभिन्न आयआर्जनमुलक कार्यक्रमहरु संचालन गरिहरहेका छांै । भने गाउँपालिकाले संचालन गर्ने विभिन्न रोजागरीमुलक, सीपमुलक कार्यक्रमहरुमा पछाडी पारिएको समुदायलाई नै प्राथामिकतामा राख्ने गरिएको छ ।

आफै गरिखाने गराएका छौं । जस्तैः तपाइँलाई एउटा उदाहरण दिऊँ, गाउँपालिकामा रहेका दलित समुदायको लागि हामीले स्वरोजगारमुलक कार्यक्रमहरु दिएका छौं । भन्नाले आरन व्यवसायको तालिमलाई लिन सकिन्छ ।

गाउँपालिकामा समृद्धिका आधारहरु के–के हुन् ?

हाम्रो पहिलो कुरा जनतामा समृद्धि आयो की आएन भनेर हेर्नुपर्छ । अनिमात्र समृद्ध बन्न सकिन्छ । हामीले गर्ने सबै खालका कार्यक्रम उत्पादनमा केन्द्रीत गराएका छांै । हाम्रो गाउँपालिकाको समृद्धिको पहिलो आधार भनकै कृषि हो ।


मैले अघि पनि भने हामीले कृषिमा करिब १० लाखसम्म ऋण दिने व्यवस्था मिलाएका छौं । सबैलाई हामी स्वरोजगार बनाउन चाहान्छौं । यसैले नै समृद्धि हासिल गर्न सकिन्छ । हाम्रो प्राथमिकता भनेको आलुखेती, फलफुलखेती र पशुपालनतर्फ केन्द्रीत छौं । दोश्रो समृद्धिको आधार भनेको जडिबुटी हो ।

यसलाई पनि व्यवस्थित बनाउन लागेका छौं । धेरैले पर्यटन क्षेत्र पनि समृद्धिको आधार हो भन्ने गर्छन् । एउटा मन्दिरका भरका पर्यटकीय क्षेत्र बन्न सक्छ र ? यसमा त ठुलो बहस हुन जरुरी छ ।

विकासका काम गर्दा के कस्ता चुनौती आउँछन् ?

विकास गर्दा धेरै चुनौती आएका छन् । सबैभन्दा ठुलो चुनौती प्रदेश सरकार भएको छ । म एउटा उदाहरण दिन्छु । प्रदेशले आफ्ना अनुकुलका पालिकामा बजेट विनियोजन गर्छ । आफ्नो अनुकुलता हुँदा विधि, कानुन पनि नहुँदो रहेछ । कानुनी अस्पष्टता त छदै छ । ६० र ४० पनि छ ।

विकासमा ६० प्रतिशत भए हुने ४० प्रतिशत त गोजीमा हाले पनि हुँदो रहेछ । विकास बजेट पार्न किस्ता बुझाउनुपर्ने कस्तो तितो कुरा म त के भनौं र ? प्रदेश सरकारबाट आउने बजेट व्यक्तीको टाउको गनेर बजेट दिइन्छ ।

मुख्यमन्त्री रोजागार कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतमा कार्यविधि अनुसारभन्दा अनुकुलताको आधारमा काम भइरहेका छन् । यो पहिलो चुनौती हो । दोस्रो भनेको कमाई खाने उपभोक्ता समितिहरु हुन् । यो उपभोक्ता समिति पनि चुनौती बनेका छन् ।

गाउँपालिकामा मुख्य समस्या के छन् ?

गाउँपालिकाको प्रमुख समस्या भनेको त बजेट अभाव नै हो । केन्द्र र प्रदेश सरकारले दिने अनुदान मात्रै हाम्रो विकास बजेट हो । हाम्रो आन्तिरक स्रोत छैन । जसले गर्दा समस्या छन् । अर्को जनताको चेतनाको स्तर माथी नउठ्दा र सबै क्षेत्र संस्कारभन्दा बाहिर छ । यसले ठुलो समस्या पारेको छ ।

संघ, प्रदेश र स्थानीय तहसँग कसरी समन्वय गर्नुभएको छ ?

समन्वय गर्ने आफ्नै निती र विधि छन् । तर त्यो अनुसार नचलेपछि केही लाग्दो रहेन्छ । जस्तै तपाईलाई भनौँ, मुख्यमन्त्री रोजगार कार्यक्रममा पालिकाका १० वटा योजना पठाइदिनु भनेर आउँछ, पालिकाबाट पठायो त्यो काटेर अर्को योजना आउँछ ।

संघले त पालिकाले भनेअुनसार नै पठाएको हुन्छ । तर प्रदेशले त स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने होला नी ? तर त्यसो भइरहेको छैन । संविधानले भनेको अधिकारक्षेत्रभित्र रहेर हो समन्वय गर्ने तर त्यो भने प्रदेशबाट कत्ति पनि समन्वय गरिन्न । मैले अघि भनेजस्तै व्यक्तीबादी सोचमा प्रदेश सरकार छ ।

युवालाई गाउँमै रोजगारी दिन के योजना बनाउनु भएको छ ?

हामीले युवाहरुलाई जागिरी भनेर दिन सकेको अवस्था छैन । किनकी सबै युवाहरुलाई जागिर दिने ठाउँ पनि हुँदैन । हाम्रो मान्यता केहो भने सबै युवा स्वरोजगार बन्नुपर्छ । आफ्नो ज्ञान सीप कृषि, पशुपालन क्षेत्रमा केन्द्रीत गर्नुपर्छ भन्ने हो ।

त्यसको लागि हामीले कृषिलाई व्यवसायिकता बनाउँदै लैजानेगरी काम गरिरहेका छौं । युवाहरुलाई आकर्षित गर्न प्रोत्साहनका कार्यक्रम पनि ल्याएका छौं । जस्तै तपाईँलाई जानकारी गराँउ, यही आर्थिक बर्षभत्रि हामीले १५० जना युवाहरुलाई उद्यमी बनाउन खोज्दै छौं । त्यसको सुचना प्रकाशित भइसकेको छ । १८ देखि ४० बर्षभित्रका युवाहरुलाई काउन्सिलङ हुनेछ ।

कुन व्यवसाय गर्ने हो ? उसको स्किल टेस्ट हुनेछ । उनीहरुलाई रकम अभाव हो भने हामी आफैले नै बैँक र युवा परिषद जोड्छौं र उनीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएर हामीले व्यवसायिक बनाउछौं । त्यसको अलवा विगतदेखि कृषि क्षेत्रमा र पशुपालन क्षेत्रसँगै विभिन्न सीप सिकाएर धेरै युवाहरुलाई आत्मनिर्भर बनाइसकेका छौं । अहिले भने कृषि क्षेत्रमा करिब डेढ करोड बजेट हामीले छुट्याएका छौं ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार