‘खै, कहाँ गए सचिव हुँदा दिनमै तीन पटक भेट्न आउनेहरु!’

कान्ति न्यौपाने । एकदिन काम विशेषले म मेरा आफन्तको घरमा पुगेको थिएँ। सधैँ जागिरको तनाव, कुदाकुद दौडधुपले गर्दा कहिल्यै पनि बस्नै नभ्याउने । घरमा कुनै कार्यक्रम हुँदा आफन्तहरु जमघट भएका बेला पनि अफिस भन्दै खाना समेत राम्रोसँग नखाई दौडिनुपर्ने । कुरा गर्ने, नजिक बस्ने त सम्भावनै नहुने ।

यसरी कोहीसँग बोल्न कुरा गर्न नभ्याएपछि त आफन्तहरुलाई पनि मैले हेला गरेको, वाचा सो नदिएको लाग्छ भन्ने लागेर अफिस नै बिदा लिएर म मेरी फुपूको घरमा गएँ।

पुस माघको जाडो महिना, बाहिर तुँवालो लागिरहेको थियो। चिसो सिरेटोले बाहिर निस्कनै मन नलाग्ने थियो। बिहान करिब ८ बजेतिर म फुपूको घर अर्थात् चाबहिलको मैजुबहाल पुगेको थिएँ।

घरमा जम्मा २ जना हुनु हुन्थ्यो- मेरो फुपू र ८४ वर्षीय फुपाजु। उहाँहरुका २ छोरा र २ छोरी नै युरोपियन देशमा हुनु हुन्थ्यो। छोराछोरी पनि कोही नभएर होला उहाँहरु दुवै जना मेरो औधी खोजि गर्नु हुन्थ्यो।

म पुगेपछि मेरी फुपूले हँसिलो मुद्रामा भन्नु भयो, ‘कान्छी आज बल्ल बिदा मिल्यो है तिम्रो? कहिले नि भेट नहुने, कुरा गर्न नपाउने कस्तो जागिर गरेको! सानी अलिक सजिलो जागिर खोज। बरु मरेर पढ, सरकारी जागिर खाऊ। यो त भएन नि कान्छी अलिक ज्यानलाई पनि सुविधा हुन्छ ।’

मैले थोरै मुस्कुराउँदै भनेँ, ‘हो दिदी, तर मैले गरिरहेको पेशाप्रति मलाई गर्व छ। म छोड्न सक्दिनँ, नशा लागेको छ यो पेशाको। फेरि अर्को कुरा, चुनौतीका बीच गरेको कामबाट प्राप्त सफलताको मजा छुट्टै छ नि दिदी ।’

तर उहाँको मन राख्दिन भनेँ, ‘छिट्टै सजिलो जागिर खोज्छु दिदी ।’

उहाँ मुसुक्क हाँस्दै किचनतिर छिर्नु भयो। म फुपाजुसँग कुरा गर्न थालेँ ।

‘अहिले स्वास्थ्य कस्तो छ हजुरको भिनाजु?’

उहाँले अलिकति दुख मिश्रित स्वरमा भन्नुभयो, ‘ठिकै छ कान्छी, बाँचिएकै छ जसोतसो। यो सुगरको बिरामी भएपछि साह्रै गाह्रो हुने। केही खान पनि नमिल्ने, अलिकति बढी भएपनि असर गर्ने। तिम्री दिदीको राम्रो हेरचाहले ठिकै छ अहिलेसम्म ।’

केही समय वातावरण शान्त भयो, बाहिरको हावाले मेरो मुटुसम्म पुग्नेगरी चिसो अनुभव गराइरहेको थियो ।

शान्त वातावरण देखेर मैले थपेँ, ‘कति चिसो है भिनाजु आज ?’

उहाँले ओडिहेको ओढ्नेलाई मिलाउँदै भन्नुभयो, ‘तिमीहरु उमेरदार त यसो भन्छौ, हाम्रो हालत त झन् के होला? साह्रै गाह्रो हुन्छ नानी चिसोमा त।’

मैले अलिकति दुखी भावमा मुन्टो हल्लाएँ। भिनाजुले फेरि सोध्नु भयो, ‘नानी काम कस्तो चल्दैछ? धेरै व्यस्त छौ है, कहिले भेट नहुने, गाह्रो छ तिमीलाई पनि।’

मैले अलिकति कहानी सुनाएँ, आफ्नो पेशाका दुखहरु सुनाएँ। भिनाजु केहीबेर मौन हुनुभयो। अनि भन्नु भयो, ‘नानी तिम्रा कथाहरु सुन्दा मलाई मेरा उमेरका केही घटनाहरु याद आए, सुनाउँछु है ।’

मैले उत्सुक भावमा ‘हस्’ भन्दै मुन्टो हल्लाएँ ।

‘म तिम्रो उमेरमा खुब राम्रो थिएँ, पढाइ र अनुहार दुवैमा पर्फेक्ट। म कलेजबाट निस्कँदा मलाई केही केटी मान्छेहरु लुकीलुकी हेर्थे अनि मुस्कुराउँदै जान्थे। तर म अलिकति फरक स्वभावको थिएँ ।

कसैको पनि खासै चासो नगर्ने, पढाइमा मात्रै ध्यान दिने, पढाइ सकेपछि खुरुक्क घर आउने, घरमा आएर कोठामा एक्लै बस्ने। के के सोच्ने यस्तै स्वभावको थिएँ। खासै गुप्रमा बस्न, घुलमित हुन नरुचाउने ।

कतिपय साथीहरु मजस्तो बन्न पाएँ भनेर डाहा गर्थे, तर म आफू जुन स्थानमा थिएँ, म न त्यसमा खुसी थिएँ न दुखी नै। पढाइ निरन्तर अगाडि बढिरहेको थियो। १२ कक्षाको पढाइ सकेपछि मलाई बुवाले भारतमा इन्जिनियरिङ पढाउने निर्णय गर्नुभयो ।

मलाई पनि पढाइमा लगाव थियो, बुवाको आज्ञा शिरोपर गर्दै भारततिरको यात्रा अगाडि बढाएँ। भारतमा गएर उच्च शिक्षासम्मको अध्ययन एकदम लगनशील भएर पूरा गरेँ। राम्रो नम्बरमा पास भएको म जागिर पाउनको समस्या त झन् हुने कुरै भएन ।

त्यसमा पनि हाम्रो समयमा जागिर खाने प्रतिस्पर्धा नै कम थियो। उताबाट पढाइ पूरा गरेर आउनेबित्तिकै म सरकारी मन्त्रालयको मातहतमा रहेको एउटा संस्थामा नाम निकालेर अहिलेको अधिकृत सरहको पदमा जागिर खान थालें ।

एकातिर आकर्षक अनुहार, अर्कोतिर इन्जिनियर पढेको केटो त्यसमा पनि सरकारी जागिर भएपछि मलाई पछ्याउनेहरुको कमी थिएन। केही केटी मान्छेहरु कामको बहानामा मलाई भेट्न आउँथे, मेरो निकै प्रशंसा गर्थे अनि जान्थेँ ।

कोही कोही त निकै राम्री लाग्थ्यो, तिनको आनीबानी पनि मनपर्थ्यो तर खोई किन हो मैले मायाप्रेमका विषयमा कसैसँग केही कुरा गरिनँ। मेरो विवाह गर्ने उमेर पनि भइसकेको हुँदा घरबाट अति नै प्रेशर आइरहेको थियो र घरपरिवारकै सहमतिमा मैले तिम्रो फुपूसँग बिहे गर्ने निर्णय गरेँ।


हाम्रो विवाह भयो। ४ जना छोराछोरी भए। जीवनको यात्रा सुखदसँगै बित्यो। तर अहिले यो उमेरमा भने म आफूलाई एकदमै एक्लो महशुस गर्छु। ती अतितका दिन सम्झन्छु म जतिबेला जगिर खान गएँ।

म सुन्दर थिएँ, योग्य थिएँ, काम गर्न सक्ने थिएँ। मेरा पछाडि थुप्रै मान्छेहरु लागेका थिएँ। चिनेका, अलिअलि चिनेका र चिन्दै नचिनेका व्यक्ति पनि मलाई अनेक नाता लगाएर काम लिन्थेँ। कोही मेरो अनुहार देखेर पछि लागेका थिए भने कोही मेरो पद देखेर पछि लागेका थिए।

अझ भनौँ, म मन्त्रालयको सचिव भइसकेपछि त यति धेरै मानिसहरु मेरा पछि लागेका थिए, यति धेरै सम्मान र प्रलोभन देखाउँथे म कति धेरै कुराहरुलाई बेवास्ता गर्थे, फोन उठाउँदैन थिएँ।

धेरै व्यस्ततामा काम गर्ने भएकाले त्यतिबेला त्यो समयको महत्व नै लाग्दैन थियो। आफ्नो काममा व्यस्त थिएँ। सबैको हाई हाई थियो मलाई, यी कुरा गन्थन मन्थन गर्ने फुर्सद पनि कहाँ पो थियो र! जीवनको उत्तरार्धमा यस्तो हुन्छ, यति एक्लोपन महशुस हुन्छ भन्ने अनुभूति नै भएन मलाई।

यी सबै कुरा एकैसासमा बताइरहँदा गाह्रो भयो कि के हो, फुपाजुले लामो सास लिनुभयो। टेबुलमा रहेको गिलासको पानी पिउँदै फेरि थप्नुभयो।

‘कान्छी, अचेल मलाई विगत सम्झिदाँ एकदमै पीडा हुन्छ।’

यसो भनिरहँदा उहाँका आँखा रसाएका थिएँ। म पनि कता-कता हराएछु। आफू कुनै टेलिफिल्मको कथा सुन्दै छु, मेरा अगाडि ती पात्र अभिनय गर्दै छन् जस्तो अनुभूति भयो।

‘कहाँ पुगेको होलान् है ती मलाई दिनमा दुई पटक फोन गरेर पछ्याउनेहरु, कहाँ छन् होला तिमी त रुप र क्षमताको धनी भन्नेहरु? कहाँ छन् मलाई सचिव हुँदा दिनमै तीन पटक मेरो कोठामा आएर नमस्कार गर्नेहरु?

आज सम्झिन्छु म, ती सबै भनेका मानिसको शरीर जस्तै अस्थायी रहेछन्। तिनले कि त मेरो सुन्दरतालाई देखेर पछ्याए कि मेरा पद वा प्रतिष्ठा हेरेर नभए अहिले ती मान्छे किन बोल्दैनन् त मसँग!

म अहिले पूर्ण रुपमा एक्लो हुँदा किन के छ तपाईलाई भनेर सोध्दैँनन्? कतिपय त कुनै काममा भेट भयो भनेपनि नचिनेजस्तै गरी मुन्टो बटारेर हिड्ँछन्? त्यसबेलादेखि मैले अनुभूति गर्न थालेको हुँ नानी यी सबै मानिसहरु भनेका पद प्रतिष्ठा र पैसाका हुन्। यी गुमेपछि सम्बन्ध पनि सकिन्छन्, उनीहरु एकदिनमै बिराना बन्ने रहेछन्।’

फेरि फुपाजुले लामो सास फेर्नुभयो। बाहिर चिसो सिरेटो चलिरहेकै थियो, केही मानिसहरु बाक्ला कपडाहरु लगाएर सडकमा आवतजावत् गरेको झ्यालबाटै प्रष्ट देखिन्थ्यो।

फुपाजुले केहीबेर झ्यालबाहिर हेर्नुभयो। म भने मूर्ति झैँ भएर उहाँका कुरा सु्निरहेको थिएँ। कता-कता मन चसक्क दुखेको थियो।

फेरि थप्नुभयो, ‘कहिलेकाही धेरै एक्लो महशुस हुँदा पुराना फोटा हेर्छु, तिनैसँग केहीबेर रमाउँछु। पुराना दैनिकी लेखेका कापीहरु पल्टाउँछु। कतिपय गाह्रो अवस्था सम्झिएर रुन्छु अनि कतिपय स्मृतिहरु पढेर एक्लै हाँस्छु। यिनै कापी-किताब, फोटो, केही स्मरण ओल्लो कोठा पल्लो कोठा बस् यत्तिमै जीवनका उत्तरार्धहरु कटाइरहेको छु।’

फुपाजुका यी कुरापछि कुनै विदेशी कविले लेखेको एउटा ‘वल्ड पेन्सनर’को कविता याद आयो। जहाँ त्यो वृद्ध भएका एउटा पेन्सन खाने सरकारी जागिरेले आफूलाई एउटा वृद्ध रुखसँग तुलना गरेका छन्।

जुन रुखमा आज पात छैनन्, हरियाली छैन, जराहरु पनि विस्तारै सुक्दै हाँगाहरु पातबिना खिग्रिंग उभिएका छन्। जहाँ हिजोसम्म शितलताका लागि बस्ने कुनै बटुवाहरु छैनन्, फल खान आउने कुनै मानिसहरु छैनन्, अचेल त्यही बाटो हिँड्दा पनि उसलाई हेर्दैनन् बरु हरिया रुखका बीचमा यो सुक्न लागेको रुख के काम, अब काटेर दाउरा बाल्नुपर्छ पो भन्न थालेछन्।

त्यसैगरी अचेल त्यो वृद्ध पेन्सनरसँग पनि केही छैन, न हिजोको जवानी न पद न प्रतिष्ठा न पछि लाग्नेहरु। ऊ एक्लै त्यही उजाड भएको रुखमुनि बसेर आफूलाई तुलना गर्छ। खुब रुन्छ हरेक दिन त्यहीँ बस्दै ती छुटेका मान्छेहरु बारे सोच्दैँ।

अन्तिम अवस्थालाई एकदमै एक्लो र शून्य महशुस गर्दै ऊ त्यहीँ रुखमुनि विलीन हुन्छ। केही दिनपछि त्यो बुढो रुखलाई पनि हिजो छहारी बसेकाहरुले आएर काट्छन् र उसको इहलीला पनि समाप्त हुन्छ।

मेरो फुपाजुको अनुभूति र मैले पढेको त्यो वृद्ध पेन्सनरको कथा पनि मलाई उस्तै लाग्छ। अहिले फुपाजुसँग पैसा छ, घर छ, भनेको खानेकुरा खानसक्ने र भौतिक सुखसुविधा सम्पूर्ण उपभोग गर्न सक्ने क्षमता छ, तर मनमा शान्ति छैन।

भएका छोराछोरी पनि सबै बाहिर छन्। हरेक दिन एक्लोपनले सताउँछ, विगतका यादहरुले चिथोर्छ। तर हिजो पछि लागेका कोहीपनि सहानुभूति प्रकट गर्न आउँदैनन्। कोही हालखबर सोध्दैँनन्।

मेरो फुपाजुको मात्रै होइन, जीवनको उत्तरार्धमा रहेका अधिकांश वृद्धवृद्धाको अनुभूतिहरु यस्तै पाइन्छ। स्वार्थका लागि पछि लागेकाहरु अशक्त हुँदै जाँदा, शरीरको सुन्दरता घट्दैँ जाँदा वा काम गर्न नसक्दा स्वतः पाखा लाग्छन्।

तसर्थ पदमा हुँदा घमण्ड गर्नु र कोही मान्छेले केही दिन आफूलाई वाहवाही गरे भन्दैमा त्यसलाई ठूलो सफलता भनेर सोच्नु साँच्चै भ्रमपूर्ण रहेछ भन्ने मेरो फुपाजुको अनुभूतिले दिएको शिक्षा हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार