शिवले प्रेम प्रस्ताव राखे चन्दुले सहजै स्वीकार गरिन्

जसले आफ्नो जीवनसाथीप्रति विश्वास राख्दछ, उसको माया पनि दिगो हुन्छ । सबै जोडीको माया दिगो हुँदैन । त्यस्तो जोडीको प्रेम सफल हुन्छ, जसले एक अर्कालाई बुझ्ने गर्दछन् । हरेक सुख, दुखमा साथ दिने गर्दछन् । एक अर्कामा विश्वासको वातावरण सृजना गर्दछन् । यो कुरा सबै जोडीहरुको लागि लागू हुन्छ । यस्तै आफ्नो पहिलो मायालाई सफल बनाएका जोडी हुन् शिव संगित र चन्दु भुसाल । यो जोडीको प्रेम कथाका सन्दर्भमा आजको अंकमा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

 

सानैदेखी चिनजान

शिव संगित र चन्दु भुसाल सुर्खेतको इत्राम स्कुलमा पढेका हुन् । उनीहरु सानै कक्षादेखि सँगै पढे । सानैदेखि उनीहरुबिचमा चिनजान थियो । उनीहरु सँगसँगै पढे र एसएलसी पास भएपछि उनीहरु प्लस २ पढ्नको लागि काठमाडौं गए । चन्दुले गैरसरकारी संस्थामा काम गर्थिन् भने शिव पढाईँसँगै कलाकारिता पेशामा थिए ।

दुबैजना एकअर्कामा परिचित नै थिए । दुबैजनाको कुराकानी भइरहन्थ्यो । सानैदेखिको साथी भएको नाताले । कुराकानी नियमित जस्तो हुन्थ्यो उनीहरुको बिचमा । शिवको आमाले चन्दुलाई मन पराएकी थिइन् । उनले शिवसँग चन्दुको बिजाह गर्न चाहान्थिन् । यो कुरा शिवसँग उनको आमाले भनिरहन्थिन् । शिव र चन्दुको लगातार कुराकानी र भेटघाट पनि बढ्न थाल्यो । एकदिन शिवले प्रेम प्रस्ताव राखे । चन्दुले सहजै स्वीकार गरिन् । अनि शूरु भयो यो जोडीको
प्रेम ।

प्रेम प्रस्ताव राखेको एक बर्षपछि बिहे

शिव कलाकारितामा लागेको लामो समय भइसकेको थियो । भने चन्दु गैरसरकारी क्षेत्रमा काम गर्थिन् । उनीहरुको पे्रम प्रस्ताव राखेको एक बर्षपछि बिवाह गर्ने निधोमा पुगे । उनीहरुले प्रेम गरे पनि भागेर भने बिवाह गरेनन् । दुबैले आफ्नो परिवारसँग बिवाह गर्न लागेको जानकारी गराए ।

अनि घरपरिवारकै सल्लाहमा २०७५ सालमा उनीहरुले बिवाह बन्धनमा बाँधिए । उमेरले उनीहरु परिपक्व भइसकेका थिए । दुबैजना २९÷२९ बर्षका थिए । चन्दुलाई बिवाह गरेर जाँदा केही नरमाईलो भने लागेको थियो । पराइ घरमा जाँदा उनलाई अलिक नराम्रो फिल भएको थियो ।

तर दुबैको परिवार पढे लेखेका थिए । शिवको घरमा पनि उनले माइतीको जस्तै व्यवहार पाइन् । उनी उमेर र जिम्मेवारीको हिसावले पनि परिपक्क थिइन् । उनलाई घरको मायाँ पनि छोरी सरहकै भएकाले उनी विस्तारै घुलमिल हुँदै गइन् ।

विवाहपछिको संघर्ष

शिव हरेक काममा मेहेनत गर्थे । उनले काम शुरु गरेपछि पुरा गर्नुपर्छ भन्ने सोच्दछन् । उनी पढाइमासमेत धेरै मेहेनत गर्छन् । उनले जीवनमा कुनै आर्थिक अभाव त भोगेका छैनन् । तर उनको संघर्ष भने धेरै छ । उनी कलाकारिता क्षेत्रमा उनको बुवाको प्रेरेरणाले लागेका हुन् ।

उनको परिवार नै कलाकारिता क्षेत्रलाई अँगालेको परिवार हो । उनका दुईभाइबहिनी मात्र भएका हुँदा पनि उनीहरुले परिवारमा धेरै दुख झेल्नु परेन । तर संघर्ष भने जिवनमा गर्नुपर्छ भनेर उनको लगाव थियो । शिव अहिले पनि कलाकारिता क्षेत्रमा छन् । उनले लोक दोहरी आधुनिक लगायतका गित पनि गाउँछन् ।


यता, चन्दु पनि पढाइमा धेरै तगडा थिइन् । उनका तीन भाइबहिनी थिए । उनलाई पनि कुनै पनि कुराको अभाव झेल्नु परेन । तर उनले आफ्नो खुट्टामा उभिएर मात्र बिवाह गर्नुपर्छ भन्ने सोच्थिन् । उनले त्यही अनुसार पढाइलाई निरन्तरता दिँदै उच्च शिक्षा हासिल गरिन् । गैरसरकारी संस्थामा जागिरी खाइन् । उनलाई बिवाहको लागि धेरै ठाउँबाट दबाब पनि दिइन्थ्यो ।

तर उनले आफ्नो करिअर नबनाएसम्म बिवाह नगर्ने अठोट लिएकी थिइन् । उनी संघर्ष गर्दै गइन् । परिपक्क भइन, बिवाह गरिन् । उनले अहिले आफ्नै व्यवसाय पनि संचालन गर्दै आएकी छन् । सामाजिक क्षेत्रमा पनि काम गर्छिन् । उनीहरु भन्छन्, संघर्ष गरे जीवनमा अवश्य सफलता प्राप्त हुँदो रहेछ । उनीहरु अहिले धेरै खुशी छन् ।

कस्तो थियो बाल्यकाल ?

बुवा मित्र भुसाल र आमा वृन्दा भुसालको कोखबाट २०४५ सालमा वीरेन्द्रनगर नौलापुरमा जन्मिएकी चन्दु भुसाल घरको कान्छि छोरी हुन् । उनका अगाडी दुई भाइ मात्र थिए । उनको बाल्यकाल धेरै सुखले वित्यो । सम्पन्न परिवारमै जन्मिएकी उनले संघर्ष भने गर्नुपर्छ भन्ने सोच राख्थिन् ।

सानोमा उनी गम्भिर स्वभावकी थिइन् । तर गलत सोच राख्नेकाविरुद्ध भने उनले प्रतिकारसम्म गर्थिन् । पढाइमा भने उनको लगाव राम्रो थियो । यस्तै बुवा कुलमान नेपाली र आमा सिता नेपालीको कोखबाट सुर्खेत वीरेन्द्रनगर इत्राममा जन्मिएका शिव घरको जेठो छोरा हुन् । उनीभन्दा पछाडी एउटा बहिनी मात्र छन् ।

उनी पढाइमा धेरै ध्यान दिन्थे । उनको परिवार पहिलेदेखि नै शिक्षित थियो । उनको बुवाले छोरालाई पढाएर ठुलो कलाकार बनाउने सोच राखेका थिए । उनको बुवा शिक्षक पनि हुन् र कलाकारिता क्षेत्रका गुरु पनि । बुवाकै प्रेरेरणाले होला उनी अहिले कलाकारिता पेशामा छन् ।

उनको बाल्यकाल साथीहरुसँगै खेल्ने, कलाकारिता क्षेत्रमा रुचि राख्दै विभिन्न सांस्कृतिक कार्यक्रममा भाग लिने गर्थे । उनी एकदमै चन्चले र लजालु स्वभावका थिए । तर उनले कहिले पनि बदमासी काम भने गरेनन् । अहिले आफ्नो आफ्नो क्षेत्रमा दुबैजनाले काम गरिरहेका छन् । सुख र शान्तिमा उनीहरु छन् ।

सल्लाह र सहकार्य

संघर्ष गरेर सफलतामा पुगेका यो जोडी अहिले खुसी छन् । सामाजिक क्षेत्रमा रहेका यो जोडी जे काम गर्दा पनि सल्लाह र सहमतिमा मात्र गर्ने गर्छन् । यस्तो गर्दा सम्बन्धमा खटपट आउँदैन । यो जोडी काममा नै धेरै व्यस्त हुने भएकाले सँगै घुम्न जाने, एउटै विषयमा बहस गर्न मन पराउछन् ।

घरमा केही समस्या आयो भने दुबैले एकअर्कालाई हौसला दिने गर्छन् । एकअर्काे बीचमा विश्वास र समझदारी भए मात्र दाम्पत्य सम्बन्धलाई दिगो बनाउन सकिने उनीहरूको भनाइ छ । जबसम्म एकअर्काे बीचमा समझदारी र विश्वास कायम हुँदैन, तबसम्म सम्बन्ध राम्रो नहुने उनीहरूको भनाइ छ । उ

नीहरूको अनुसार जीवन भनेको संघर्ष, भोगाइ र कर्म हो । जीवनमा अनेक दुःख, बाधा अवरोधहरू आइपर्छन् । ती दुःख, बाधा, अवरोधहरूलाई सहजताका साथ समाधान गर्ने सक्नु नै जीवन हो । जीवनमा दुःख नगर्ने व्यक्ति सफलतामा नपुग्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार जीवनसाथी भनेको हरेक सुख दुःखमा साथ दिने, जीवनको अन्त्यसम्म साथ दिने साथी हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार