‘हिमपातले विकासमा चुनौती थपेको छ’

कर्णाली प्रदेशका १० जिल्ला मध्येको एउटा जिल्ला हो डोल्पा । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा जम्मा ६ वडा रहेका छन् । यसको क्षेत्रफल ११८३ वर्ग किमिमा फैलिएको छ । यस गाउँपालिकाको जम्मा जनसङ्ख्या २४१६ जसमध्ये १२६५ महिला र ११५१ पुरुष रहेका छन् । गाउँपालिकाको जम्मा घरधुरि संख्या ४६४ रहेको छ । गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलहरुमा धो तिन्जे गाउँका गुम्वा, भेषाभुषा र हिमालयहरु रहेका छन् । गाउँपालिकामा जनप्रतिनिधि आएपछि यो अवधिमा के कस्ता विकास निर्माण र परिवर्तन भए त  ? जनताको अपेक्षाअनुसार काम भए त ? यीनै विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी टेकराज केसीले डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङ्गसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंश 

                                          तेम्बा गुरुङ अध्यक्ष, डोल्पोबुद्ध गाउ“पालिका, डोल्पा

हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?

अहिले म चालु आर्थिक बर्षको बजेट कार्यान्वयनमा व्यस्त छु । र जनताका अन्य कामहरु गर्न सबै जनशक्ती त्यतातर्फ लागेका छौं । जनताका आवश्यकता पुरा गर्न नै हामी केन्द्रीत छांै ।

तपाइँ निर्वाचित भएयता गाउँपालिकामा के परिवर्तन भयो त ?

म निर्वाचित हुनुभन्दा पहिला यो गाउँपालिकामा अनेकौं समस्याहरु थिए । ति समस्याहरु केही हदसम्म पुरा भएका छन् । जस्तै सबै वडामा बाटो पुगेको थिएन । हाम्रो पालिकाको बजेट र प्रदेश सरकारको बजेटबाट ६ वटै वडामा सडक सञ्जाल पुगेको छ अहिले ।

चिन र नेपालको नाकासम्म सबै वडाबाट सडक जोडिएको छ । स्वास्थ्यतर्फ पाँच वटा वडामा स्वास्थ्य इकाइ भवनहरु निर्माण गरेका छौं । अब एउटा वडामा पनि स्वास्थ्य भवन निर्माण भइरहेको छ । त्यसैगरी शिक्षामा पनि हामीले प्रत्येक विद्यालयका भवनहरुको स्तरोन्नती, नयाँ भवन निर्माण कार्य गरिरहेका छाैं ।

शिक्षक अभाव समाधान गर्ने काम गरेका छौं । खानेपानीको समस्या रहेका टोलहरुमा खानेपानी समस्या समाधान गर्ने प्रयत्न गरिरहेका छौं । कृषितर्फ पशुपालनमा हामीले धेरै काम गरिरहेका छौं ।

पछाडी पारिएको बर्ग र समुदायको क्षेत्रमा के काम गर्नुभएको छ ?

मेरो गाउँपालिकामा पछाडी पारिएको समुदायको लागि लक्षित बजेट बनाइएको छ । उनीहरुलाई विभिन्न तालिमदेखि, स्वजरोजगारमुलक कामहरु गर्न प्रोत्साहित गरिएको छ । सिलाइ बुनाईँ, सिकर्मी, डकर्मी लगायतका तालिमहरु संचालन गरि उनीहरुलाई माथी उठाउने काम गरिएको छ ।

विकासका प्रत्यक योजनामा समान सहभागीता बनाउने हाम्रो गाउँपालिकाको नीति छ । महिलाहरुको लागि हामीले विभिन्न उद्यमशिलता सम्बन्धीका तालिमहरु संचालन गरिरहेका छौ । यो आर्थिक बर्षमा पनि महिलाहरुको लागि थुप्रै तालिमहरु संचालन भइरहेका छन् ।

गाउँपालिकामा समृद्धिका सम्भावना र आधारहरु के–के हुन् ?

हाम्रो गाउँपालिकाको समृद्धिका आधार भनेको पर्यटन र पशुपालनसँगै जडिबुटी हो । यी तीन क्षेत्रहरुलाई प्रमुखताका साथ हामीले अगाडी बढाइरहेका छौं । त्यही अनुसारका योजनाहरु पनि बनाएका छौं । अहिले हाम्रा सबै वडामा स्याउ खेती, भेडाच्याङ्ग्रा पालनको लागि काम भइरहेका छन् ।

त्यससँगै अझै महत्वपूर्ण भनेको पर्यटन क्षेत्र हो । यहाँ रहेका गुफा, र पुरातात्विक सम्पदाहरुको संरक्षणसँगै प्रचारप्रशारमा हामी लागि रहेका छौं । भने प्रदेश सरकारको सहयोगमा हामीले गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा ठुलो गुम्बा बनाउन शुरु गरेका छौं ।

अन्य स्थलहरुको पनि विकास गर्न विभिन्न कामहरु गरिहरहेका छौं । यो गाउँपालिकामा खेतीको लागि उपयुक्त नभएका कारण हामीले पशुपालन र फलफुल खेतीलाई महत्वका साथ लिएका छौं । धेरै युवाहरु यतातर्फ जोडिनु पनि भएको छ । समग्रमा हाम्रो गाउँपालिकाका समृद्धिका तिन आधार भनेका छौं हामीले ।

विकासका काम गर्दा के कस्ता चुनौती आउँछन् ?

विकास गर्दा धेरै चुनौती आएका छन् । सबैभन्दा ठुलो चुनौती भनेको वातावरण हो । गाउँपालिकाभित्र बाह्रै महिना हिउँ परिरहन्छ । यसले गर्दा अधिकांश समय काम हुँदैन । काम हुने भनेको दुई महिना मात्र हो ।

अर्को भनेको भौगोलिक कठिनाई हो । गाउँपालिकाका अधिकांश ठाउँमा विकास गर्न भौगोलिक कठिनाई रहेको छ । भने अन्य पुराना सामाजिक संस्कार पनि विकासका चुनौतीका रुपमा रहेका छन् ।

गाउँपालिकामा मुख्य समस्या के छन् ?

गाउँपालिकाको प्रमुख समस्या भनेको त बजेट नै हो । केन्द्र र प्रदेश सरकारले दिने अनुदान मात्रै हाम्रो विकास बजेट हो । हाम्रो आन्तिरक स्रोत छैन । जसले गर्दा समस्या छ ।

अर्को कुरा भौगोलिक रुपमा विकट रहेको पालिकामा विकास निर्माणको काम गर्न सानोतिनो रकमले हुँदैन । मैले अगाडी पनि भने वातावरण पनि हाम्रो लागि समस्या बनिरहेको हुन्छ । भने गाउँपालिकामा विद्युत, संचार लगायतका सेवा नुहुनु पनि समस्याको रुपमा रहेको छ ।

संघ, प्रदेश र स्थानीय तहसँग कसरी समन्वय गर्नुभएको छ ?

मैले शुरुवातदेखि नै प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्दै आएको छु । अहिले पनि त्यसलाई निरन्तरता दिइरहेको छ । तर केन्द्रबाट आउने विकास बजेट त समयमै आउछ । तर प्रदेश सरकारले दिने बजेट ढिलो गरी आइदिँदा समस्या हुन्छ । समन्वय त भइरहेको छ ।

युवालाई गाउँमै रोजगारी दिन के योजना बनाउनु भएको छ ?

मैले तपाईँलाई भनिसके । धनी व्यक्तीहरुलाई रोजगारी दिनुपर्छ जस्तो लाग्दैन किनकी उनीहरु आफै आत्मनिर्भर हुन्छन् । पछाडी पारिएका वर्ग समुदायलाई अगाडी ल्याउनु नै हाम्रो प्रमुख प्राथामिकता हो ।

गरिबीका कारण पछाडी पारिएका व्यक्तीहरुलाई अगाडी ल्याउन त आर्थिक अवस्थामा सुधार ल्याउनुपर्छ । त्यसैले नै हामीले विभिन्न सीपमुलक तालिम दिएर स्वरोजगार बनाउन खोजेका छौं । त्यसैगरी पशुपालन र फलफुल खेतीमा आकर्षित गर्न विभिन्न प्रोत्साहनका कार्यक्रमहरु संचालन गरेका छौ भने पालिकामा चाहिने जनशक्तीलाई क्षमताको आधारमा काम दिने गरेका छौ ।

त्यती मात्र नभएर प्रधानमन्त्री र मुख्यमन्त्री स्वरोजगार कार्यक्रम मार्फत पनि धेरै युवाहरुलाई रोजगारीमा जोड्ने गरेका छौ । हाम्रो कार्यकालभित्र अधिकांस अवसर नपाएका युवाहरुलाई स्वरोजगार बनाउँछौं ।

तपाईको प्रतिक्रिया