कम्युनिष्ट फुटेपछि ब्यूँझियो कांग्रेस

काठमाडौं । २०७७ साल सबैभन्दा धेरै राजनीतिक तरलताको वर्ष रह्यो । सत्ताधारी दलको किचलोका कारणले राजनीतिक अस्थिरताको भइरह्यो । सत्ताधारी दलको विवादका कारण भद्रगोल बनेको राजनीतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो भूमिका देखाउन सकेन ।

कांग्रेस नेताहरुले आफ्नो भूमिका संसद र बाहिर देखाएको दाबी गर्छन् । प्रतिपक्षी दल सरकारले गरेको नराम्रो कामको पहरेदारका रुपमा विरोधमा उत्रिन सक्नुपर्ने हो । तर, कांग्रेस आफै अल्मलिएर बस्यो । कम्युनिष्ट पार्टीको एकतापछि गणितीय हिसाबले प्रतिनिधिसभामा कांग्रेसको उपस्थिति कमजोर बन्यो ।

तर, प्रमुख प्रतिपक्षीको हिसाबले आफ्नो भूमिका निर्वाह गर्ने नसकेको भन्दै चौतर्फि आलोचना भइरह्यो । कांग्रेस साविकको नेकपा झैं पार्टीभित्रको आन्तरिक किचलोबाट बाहिर निस्कन सकेन । त्यसैले कम्युनिष्ट र लोकतान्त्रिक पार्टीको रुपमा जनताले फरक छुट्याउने ठाउँ भेटेनन् । त्यो वास्तविकता हो ।

प्रतिपक्षमा रहेको बेलामा कांग्रेसले महाधिवेशनलाई तिव्रता दिएको थियो । तर, भावी सभापतिको दौडमा एक दर्जन नेताहरुको दौडधूप भएपछि महाधिवेशन बेलैमा सफल पार्न सकेन । सभापति शेरबहादुर देउवा पनि तत्कालै आफ्नो पद नछोड्न महाधिवेशन टार्ने खेलमा लागिरहे ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पनि त्यो दौडबाट अछुतो रहेनन् । यता, पहिलेकै अवस्थामा झैं कांग्रेसमा कोइराला परिवार हावी हुन खोजिरह्यो । नेता कृष्णप्रसाद सिटौला समूहले पनि आफ्नो च्याँखे थापिरह्यो । सभापति देउवादेखि युवा नेता गगन थापासम्मले सभापति बन्ने आकांक्षा देखाएपछि देउवाले कुर्सी जोगाउने दबावमा महाधिवेशनलाई सक्दो पछि धकेल्ने प्रयासलाई निरन्तर राखे ।

विवादको भूमरिमा महाधिवेशन

कांग्रेसले ०७७ फागुन ७ देखि १० गतेसम्मका लागि १४ औं महाधिवेशन तोकेको थियो । तर, पार्टीभित्रको विवाद र सदस्यता समायोजनको सकसको कारणले २०७८ भदौ दोस्रो साताका लागि तोकिएको छ । तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्नका लागि तयारी तिव्र पारिरहेको नेतृ पुष्पा भुषाल बताउँछिन् ।

उनले भनिन्, ‘हामी २०७७ सालमा महाधिवेशन र निर्वाचनको लागि संगठन बलियो बनाउन लागि पर्याैं । मुख्यगरी हाम्रो महाधिवेशनको बर्ष रह्यो । अर्को बर्ष हामीले तोकेको समयमा महाधिवेशन सम्पन्न हुन्छ ।’ महाधिवेशन गर्नका लागि तिव्रता दिइरहेको भएपनि जिल्ला तहमा विवादको कारणले सदस्यता नवीकरण र समायोजनको काम सक्न अझै मुस्किल छ ।

कमजोर खबरदारी !

सरकारको गलत कामको खबरदारी गर्नुपर्ने कांग्रेस हरेक मुद्दामा कमजोर भइरह्यो । सरकारले प्रतिनिधि सभा विघटन गर्दा, संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउँदा समेत दरिलो खुट्टा टेकेर खबरदारी गर्न सकेन । संसद पुनःस्थापनापछि ओलीको बहिर्गमनको लागि अझै कांग्रेसले खुलेर सक्रियता देखाउन सकेको छैन ।

संसद विघटन हुँदा त्यसको विरुद्ध सडकमा जान आनाकानी गरेका सभापति देउवा अदालतले संसद् पुनःस्थापना गर्दासमेत आफ्नो नेतृत्वको सरकार बनाउन रहर देखाएनन् । नेता पौडेल समूह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को दबावपछि देउवाले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउने निर्णय गरे ।

तर, देउवाको प्रस्तावमा गठबन्धनको सरकार बनाउन निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा)ले सहमति जनाएन । र, त्यो प्रयास पनि असफल भइदियो । सत्ता समीकरणको बिषयलाई लिएर सभापति देउवा र नेता पौडेलबीच सार्वजनिक कार्यक्रममा नै बाझाबाझ गरेको भिडियो भाइरल भइरहेको छ । त्यति मात्रै नभएर पार्टीको कार्यक्रममा उनीहरुले गर्ने भाषणसमेत प्रतिपक्षी दलको जस्तो आरोप–प्रत्यारोप र घोचपेचपूर्ण हुने गरेको छ ।

‘जिम्मेवारी पूरा गरेका छौं’

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत कांग्रेसले प्रतिपक्षीको भूमिकाबाट आफ्नो जिम्मेवारी पूरा गरेको दाबी गर्छन् । ‘हामीले हाम्रो धेरै कुरा जनताको सम्म पुर्याउन सकेका छौँ । सत्तासीन दलहरुले जे जस्ता कुकृत्य गरे ।

उहाँहरुको कारण र देशको परिस्थितीको बारेमा आफ्नो कुराहरु बुझाउन सफल भयौँ’ उनले भने, ‘सत्ताधारी दलको कदमको कारणले आम जनताका लागि २०७७ निराशाजनक रह्यो । हामीले पार्टीको तर्फबाट त्यसलाई जनस्तरसम्म लैजान सफल भएका छौँ ।’

आगामी साल कांग्रेस र जनताको लागि सफल हुने विश्वास उनको विश्वास छ । जनताको पक्षमा कांग्रेसले सक्दो काम गरेको उनी दाबी गर्छन् । उनले भने, ‘संसदमा संख्या कम भएकाले ठुलो स्वर हुने कुरा भएन । तर, जनताले अझै गर्न पर्थ्यो भन्ने आश राख्नु स्वभाविक हो । तर, पनि हामीले जे गरेका छौं । त्यसमा सन्तोष गर्ने ठाउँ छ ।

हामीले आगामी वर्षलाई त्योभन्दा सफल बनाउन लागिपर्ने छौँ ।’ कोरोना नियन्त्रण र राहतको बिषयमा कांग्रेसले सरकारले भन्दा धेरै सहयोग गरेको उनले दाबी गरे । ‘कोरोनाको बेलामा हाम्रो साथीहरुले आआफ्नै साधन स्रोत जुटाएर देशभर सरकारभन्दा धेरै क्रियाशिल भयौँ । सरकारी कोषमा समेत हामीले सहयोग गरेका छौँ । हाम्रो तर्फबाट हुने र सक्ने काम गरेका छौँ’ उनले भने ।

‘भूमिकामा प्रश्न उठाउने ठाउँ छैन’

कांग्रेस नेतृ पुष्पा भूसाल पनि आफ्नो पार्टीले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गरेको दाबी गर्छिन् । प्रतिपक्षी दलले जनअपेक्षीत कामका लागि सरकारलाई खबरदारी गर्न नसकेको भन्ने गुनासो छ नी भन्ने प्रश्नमा उनले भनिन्, ‘हामीले भूमिका खेल्न नसकेको होइन । अझै बढी खेले हुन्थ्यो भन्ने हो । खेल्न नसकेको भन्ने त कुनै प्रमाण र तथ्यले पुष्टि गर्ने कुरा रहेन ।’

प्रतिपक्षीको भूमिकामा रहँदा आफूहरुले पूर्णरुपमा भूमिका खेल्न नसकेको कुरामा उनी सहमत हुन्छिन् । भूमिका नै खेलेन भन्ने कुरामा चाहिँ स्वीकार गर्ने कुरा भएन । अझै बढि जनजीविका र संविधान कार्यान्वयनको बिषयमा प्रतिपक्ष दलको भूमिकाले सरकारलाई दबाव दिनुपर्छ भन्ने हो’ उनले भनिन्, ‘हरेक क्षेत्रमा भ्रष्टाचारको कुरा आइरहेको छ । कोरोना भाइरसको संक्रमणको कुरा छ ।

जनजीविकाको कुरा छ । हामीले आवाज उठाएका हौँ । त्यसमा सरकार जिम्मेवार नबनेको घटना छन् ।’ प्रतिपक्षी दलले उठाएको कुरालाई सरकारले वेवास्ता गरेका कारणले आफूहरुको भूमिका नदेखिएको उनी तर्क गर्छिन् । ‘सरकार प्रमुख संसद बैठकबाट भागि राख्नुभएको छ ।

प्रतिपक्षी दलबाट उठाएको कुरा पनि पूर्ण हुन्छन् भन्ने होइन । सरकारको कारणले नै अहिलेको परिस्थिती देखा परेको हो । सरकार गम्भिर नभएको कारणले प्रतिपक्षीको भूमिका खुम्चिएको देखिएको हो’ उनले भनिन्, ‘सरकार प्रमुखले प्रतिपक्षको एजेण्डाहरु नसुनेको कारणले यस्तो देखिएको हो । भूमिका नै निर्वाह गरेन भन्ने बिषयलाई हामीले स्वीकार गर्दैनौँ ।’

तपाईको प्रतिक्रिया