गण्डकी प्रदेश सरकार : जनमोर्चाको साथ रहेसम्म मुख्यमन्त्री गुरुङ ढुक्क

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकाे सरकार तत्काल नढल्ने भएको छ। उनलाई समर्थन दिँदै आएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता नलिने जनाएको छ ।

कुल ६० सांसद भएको गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङको एमालेको २७ सांसद छन्। एक स्वतन्त्र सांसदले पनि गुरुङलाई समर्थन गरिरहेका छन् । ३ सांसद भएको जनमोर्चाले पनि समर्थन गर्दा गुरुङको पक्षमा ३१ सांसद हुन्छन् । जुन स्पष्ट बहुमत हो ।

चैत २५ गते सरकारको समर्थन कायमै राखेर माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलायो । त्यसैले अहिले माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चालाई पनि साथमा लिएर नयाँ सरकार बनाउने गृहकार्य गरिरहेको छ ।

सरकारलाई समर्थन गरिरहेको दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन। त्यसैले अहिले नै मुख्यमन्त्रीको पद धरापमा परिसकेको छैन। यद्यपी सरकारले बहुमत गुमाएको अवस्थामा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।


नयाँ सरकार समीकरणको लागि माओवादी केन्द्रको सरकारमा सहभागी आफ्ना नेतालाई फिर्ता बोलाएसँगै यसको गृहकार्य सुरु भएको थियो।यो विषयमा कांग्रेस,माओवादी केन्द्र दुबै दलले सहकार्यको लागि प्रस्ताव गरेको थियो। तर सरकार फेर्नै पर्ने खास समीकरण नदेखेकाले तत्कालको अवस्थामा मुख्यमन्त्री गुरुङ सरकारलाईनै निरन्तरता दिने पक्षमा जनमोर्चा रहेको छ ।

सरकारविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गर्दा वैकल्पिक मुख्यमन्त्रीको नाम पनि दिनुपर्ने हुन्छ। विश्वासको मत लिन नसके मुख्यमन्त्री पदमुक्त हुन्छन् र नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन्छ ।

अहिले मुख्यमन्त्री मुख्यमन्त्री गुरुङ बहुमतमा भएपनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता दिने र जनमोर्चाले पनि साथ छोड्ने हो भने सरकार टिकिरहन आवश्यक पर्ने बहमुत पुग्दैन। त्यसैले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बैकल्पिक सरकार गठनका लागि अग्रसरता दिइरहेको छ । उसले जनमोर्चालाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह पनि गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार