नेप्सेमा उत्साहा कायमै, वर्षको अन्तिम दिन ऐतिहासिक विन्दुमा

काठमाडौं । यो वर्षको अन्तिम दिन मंगलबार सेयर बजार मापक नेप्से ऐतिहासिक विन्दु हासिल गर्दै बन्द भएको छ । मंगलबार नेप्से २३ दशमलव २३ अंकले बढेर २७ सय १४ दशमलव ७९ अंकमा बन्द भएको छ। जुन हालसम्मकै उच्च विन्दु हो। यस दिन सेन्सेटिभ इन्डेक्स पनि ६ अंकले उकालो लागेको छ ।

यसअघि सोमबार २७ नजिक पुगेर बन्द भएको नेप्से मंगलबार सुरुवाती समयमा बढे पनि बीचमा भने घटेर २६ सय ८८ अंकसम्म पुगेको थियो। तर, कारोबारोको अन्तिम समयमा भने नेप्से बढ्दै हालसम्मकै उच्च विन्दुमा बन्द भएको हो ।

मंगलबार २ सय ९ कम्पनीको कारोबार हुँदा एक करोड ४६ लाख ९१ हजार ९ सय ४३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३४ करोड ३१ लाख भन्दा बढीको कारोबार भइरहेको छ । मंगलबार ५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

एनआइसी एसिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ, सिन्धु विकास बैंक, छ्याङ्दी हाइड्रोपावरको मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो। आजको कारोबारपछि एनआइसी एसिया लघुवित्तको मूल्य १६९९ रुपैयाँ, माउन्टेनको ८३३, ज्योतिको ५१४, सिन्धुको २४६, छ्याङ्दीको २६९ रुपैयाँ कायम भएको छ ।

ग्लोबल आइएमई लघुवित्त र लक्ष्मी लघुवित्तको मूल्य ४ प्रतिशतले घटेको छ । कारोबारका आधारमा यस दिन नबिल बैंक अग्रस्थानमा रह्यो। सो बैंकको २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य १३४८ बाट बढेर १३८० रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया