एन्फा नेतृत्वकै आडमा नेपाली फुटबलमा अफ्रिकी टिमको रजगज !

नेपालका ए डिभिजन क्लबमा देखिने समानता भनेको अफ्रिकन खेलाडी हुन् । विभागीय तीन क्लबबाहेक ए डिभिजनका क्लबले लिगताका विदेशी खेलाडीहरुलाई टिममा समावेश गर्छन् । विगतका लिगलाई हेर्ने हो भने कम्तीमा पनि तीनजना विदेशी खेलाडी हरेक टिममा आवद्ध छन् ।

कुनै समय विकल्पमा रहेका विदेशी खेलाडी पछिल्लो समय ए डिभिजन क्लबका आवश्यकता झैं भएको छ । लिगबाहेकको समयमा राष्ट्रिय स्तरको प्रतियोगिता होस् या स्थानीय स्तरको प्रतियोगिता, अफ्रिकी मुलका खेलाडीहरुले टिम नै बनाएर खेल्ने गरेका छन् । यीमध्ये केही खेलाडी गैरकानुनी रुपमा नेपालमा रहेर खेल्दै आएका छन् । तर, नेपाली फुटबलको सर्वोच्च नियमनकारी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) यस विषयमा मौन छ ।

एन्फाका पदाधिकारीहरुले नै गैरकानुनी रुपमा नेपालमा रहेर फुटबल खेलिरहेकाहरुको संरक्षण गर्ने गरेको आरोप छ । नेपाली फुटबल विकासको सुरुवातबाटै भारत, भुटान, बंगलादेशलगायत छिमेकी मुलुकबाट खेपका आधार खेलाडी भित्र्याइँदै आएको इतिहास छ । ६० को दशकबाट नेपाली फुटबलमा अफ्रिकी मुलका खेलाडीहरुले समेत प्रवेश पाए ।

तान्जिनिया, नाइजेरिया र आइभरीकोष्टका खेलाडीहरु भारतको बाटो हुँदै अवैध रुपमा नेपाल आएर फुटबल खेलेका थिए । त्यसपछि अफ्रिकी खेलाडीहरुको नेपाल प्रवेशमा लर्को लाग्यो। लिग फुटबल नियमित हुन थालेपछि अफ्रिकी खेलाडीको संख्या बढ्दै गयो । कम पैसामा खेलाडी आउने भएपछि क्लबहरुले पनि त्यसतर्फ ध्यान दिन थाले ।

शारीरिक रुपमा बलिया भएकै कारण अफ्रिकी मुलका खेलाडीहरु स्ट्राइकर र डिफेन्सका रुपमा नेपाली टिमले भित्र्याएका छन् । नेपालमा लिग सुरु हुने समय भएपछि भटाभट अफ्रिकी मुलका खेलाडीहरु नेपाल भित्रिन्छन् ।

तपाईको प्रतिक्रिया