निष्कासित सांसदको प्रचण्डलाई प्रश्न, ‘आफैं टीका लगाएर अध्यक्ष हुने कमरेडले जननिर्वाचित प्रतिनिधिको पद खोस्न मिल्छ ?’

काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका कर्णाली प्रदेशसभाका सांसद धर्मराज रेग्मीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जननिर्वाचित प्रतिनिधिको पद खोस्ने अधिकार नभएको बताएका छन् ।

माओवादी केन्द्रले कारबाही स्वरुप सांसदबाट मुक्त गरेपछि आक्रोशित भएका रेग्मीले पार्टीबाट कारबाही गर्ने अधिकार भए पनि जननिर्वाचित प्रतिनिधिको पद् खोस्ने अधिकार प्रचण्डलाई नभएको बताएका छन् ।

जनताबाट निर्वाचित सांसदको पद खारेज गर्दा स्पष्टीकरणसमेत लिने अनिवार्य कानुनी व्यवस्था भएको तर त्यो नगरी सिधै प्रचण्डले आफ्नो सनकको भरमा पदबाट फालिएको सांसद रेग्मीले आरोप लगाएका छन् ।

‘सांसदको पद खारेज गर्दा स्पष्टीकरण समेत लिने अनिवार्य कानुनी व्यवस्थाको धज्जी उडाएर बाटो– बाटोबाट जननिर्वाचित सांसदको पद कमरेड प्रचण्डको सनकमा फालिने ब्यवस्था लोकतन्त्र होइन,’ उनले भनेका छन् ।

उनले पार्टीमा स्वघोषित अध्यक्ष भएजस्तै गरी जननिर्वाचित प्रतिनिधिलाई पनि आफू अनुकुल चलाउन नमिल्ने बताएका छन् । ‘कमरेड प्रचण्डले मलाई उहाँको दलको दलीय जिम्मेवारीबाट च्यूत गर्न सक्नुहुन्छ तर जननिर्वाचित निकायबाट होइन । कमरेड आफै ३३ बर्षसम्म स्वघोषित पार्टी अध्यक्ष भएको तथ्य छर्लङ्ग छैन र ? आफै टीका लगाएर अध्यक्ष हुने कमरेडले जननिर्वाचित प्रतिनिधिको पद खोस्न मिल्छ ?’, उनले प्रश्न गरेका छन् ।

रेग्मीले आफू दैलेखी जनताको साझा उम्मेदवार भएकाले माओवादी एक्लैले आफ्नो खारेज गर्न नसक्ने बताए । वाम गठबन्धन हुँदा दैलेखमा माओवादी र एमालेको साझा उम्मेदवारको रुपमा निर्वाचित भएको भन्दै रेग्मीले प्रचण्डलाई निर्वाचित प्रतिनिधिको पद खोस्ने अधिकार नभएको बताएका छन् ।

सांसद पद खारेजपछि सांसद रेग्मीले सार्वजनिक रुपमा गरेको अपील

आदरणीय दिदिबहिनी तथा दाजुभाइ ,म धर्मराज रेग्मी २०७४ सालको निर्वाचनमा दैलेख १–क. बाट बाम गठबन्धनको साझा उम्मेदवारको रूपमा एउटै घोषणापत्र लिएर प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएको थिए । म तत्कालीन नेकपा माओवादी केन्द्रको प्रस्ताव र नेकपा एमालेको समर्थनमा उम्मेद्वार भएको थिए ।

त्यसकारण म माओवादी- एमालेको साझा उम्मेदवार हुँ । दैलेखका जनताको भरोसाले म दैलेखमा निर्वाचन जित्ने माओवादी केन्द्रको पहिलो जनप्रतिनिधि हुँ । दैलेखको कुनै पनि वडामा माओवादीले वडा अध्यक्ष/सदस्य समेत जितेको छैन ।

वास्तवमा म माओवादीको शिला खोज्नुपर्ने ठाउँमा चुनाव जितेको पात्र हुँ । दैलेख त्यस्तो जिल्ला हो, जहाँबाट कमरेड प्रचण्ड र बाबुराम लखेटिएका थिए । त्यस्तो जिल्लामा मेरो नेतृत्वमा हामीले कुशलतापूर्वक निर्वाचनमा सफलता हासिल गरेका थियौं ।

चुनावको दाैरानमा द्वन्द्वका विभत्स घटनाहरुको मैले जिम्मेवारपूर्वक दैलेखी जनतासमक्ष माफी मागेको छु । मलाई दैलेखी जनताले खुशी र भरोसाले मतदान गरेका हुन् र जरुरत परे फेरि जनताबाट अनुमोदन हुने नैतिक तागत छ । जनताबाट प्रत्यक्ष निर्वाचित सांसदको पद खारेज गर्दा स्पष्टीकरणसमेत लिने अनिवार्य कानुनी व्यवस्थाको धज्जी उडाएर बाटो-बाटोबाट जननिर्वाचित सांसदको पद कमरेड प्रचण्डको सनकमा फालिने ब्यवस्था लोकतन्त्र होइन ।

लोकतन्त्रमा त्यो अधिकार अमुक नेतामा हुँदैन, त्यसो त युद्धताका पार्टीमा फरकमत राख्ने नेता कार्यकर्ता माथि कोर्टमार्सल गरिन्थ्यो । लोकतन्त्रमा त्यस्तो गर्न मिल्दैन । कमरेड प्रचण्डले मलाई उहाँको दलको दलीय जिम्मेवारीबाट च्यूत गर्न सक्नुहुन्छ तर जननिर्वाचित निकायबाट होइन । कमरेड आफै ३३ बर्षसम्म स्वघाेषित पार्टी अध्यक्ष भएको तथ्य छर्लङ्ग छैन र ?? आफै टीका लगाएर अध्यक्ष हुने कमरेडले जननिर्वाचित प्रतिनिधिको पद खोस्न मिल्छ ?

३५ हजार दैलेखी मतदाताको प्रतिनिधिलाई कसैको ठाडो आदेशले पदच्युत गर्न मिल्छ? लोकतन्त्रमा त्यस्तो अधिकार कुनै पनि कानुनले पार्टी नेताहरूलाई दिँदैन र दिनुहुँदैन पनि । त्यो जनतामा निहित सार्वभौमसत्ताको संवैधानिक मान्यताको बर्खिलाप हुन जान्छ । प्रदेशसभा सदस्यका रूपमा मेरा ३ वर्ष कर्णालीबासी जनताको सर्वोत्तम हित, लोकतन्त्र, सुशासन, भ्रष्टाचार बिरोधी अभियान सञ्चालन र विधिको शासनको पक्षमा समर्पित रहे।मैले सभामा निर्भीक रूपमा जनताको पक्षमा आवाज बुलन्द गरेँ ।

सत्ताको अँध्यारो कोठरीभित्र घनिभूत रूपमा बढेको भ्रष्टाचारको विरोध गरेँ । सरकारलाई प्रभावकारी बनाउन र समृद्ध कर्णालीको चाहाना पूरा गर्न मेरै पहलमा चाईना रेलवेसँग हिल्सा–सुर्खेत फास्ट ट्र्याक निर्माण सम्बन्धी कार्य अगाडि बढाइयो । प्रदेश निर्माण पछि पहिलोपटक मेरै पहलमा मुख्यमन्त्रीको चीन भ्रमण सम्पन्न गराइयो । सो सन्दर्भमा चीनको सिचुवानमा सम्पन्न “बेल्ट एन्ड रोड इनिसिएटिभ” कन्फ्रेन्समा प्रदेशको प्रतिनिधित्व गरियो ।

कर्णाली प्रदेशमा बाह्य लगानी भित्र्याउन अधिकतम प्रयत्न गरियो । सुर्खेत विमानस्थलको धावनमार्ग बिस्तारका लागि संघीय सरकारसँग समन्वय गर्न प्रारम्भिक वातावरण बनाउन निकै प्रयत्न गरियो।प्रदेशसभाका सुरूआती दिनहरुमा कानुन निर्माण, मस्यौदा लेखन, कतिपय प्रशासनिक काममा समेत अगुवाइ गरियो ।

एउटा सदस्यको पद र भूमिकालाई अधिकतम न्याय दिइयो।सन 2019 अप्रिलमा प्रदेशसभा सदस्यका रूपमा मुलुकको प्रतिनिधित्व गर्दै अमेरिकाको वासिङ्टनमा वर्ल्ड बैंक ग्रुपद्वारा आयोजित “ग्लोबल पार्लियामेण्ट्री कन्फ्रेन्समा” सहभागी भएर नेपाल जस्तो साना अर्थतन्त्र भएका राष्ट्रहरुको द्रुत विकासमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरियो । निर्वाचन क्षेत्रमा सन्तुलित र समानुपातिक विकासमा जोड दिइएको छ ।

प्रदेश सरकारको राजनीतिक पूर्वाग्रहका बाबजुत पनि हालसम्म निर्वाचन क्षेत्र कोष समेतको परिचालन गरी २९ वटा विद्यालय (९ निर्माणधीन २० सप्पन्न)२ वटा क्याम्पस भवन, अस्पताल, सडक, खानेपानी र कृषि क्षेत्रमा उल्लेखनीय कामहरू सम्पन्न भएका छन् ।एउटा सदस्यका रूपमा सभा, विधायन समिति, कार्यब्यवस्था समितीमा सक्रिय सहभागिता रहेको कुरा तथ्यहरुबाट स्पष्ट नै छ । मैले हमेशा पार्टीभन्दा माथि जनता र राष्ट्र हो भन्ने मान्यता राख्दछु । पार्टीहरू निर्माण र विनिर्माण हुन्छन् ।

एकता वा विभाजन हुन सक्छन् तर राष्ट्र कहिल्यै त्यो प्रक्रियाबाट गुज्रनु हुँदैन । म त्यही ठानेर जनताको पक्षमा निर्भीकतापूर्वक बोलेँ । त्यसो गर्दा पार्टीको सीमाभन्दा माथि उठ्नैपर्थ्यो । त्यसो गर्दा मेरो पद रहला कि नरहला भनेर मैले कहिल्यै कोहीसँग सम्झौता गरिन र भविष्यमा पनि त्यो गरिँदैन । म काठमाडैांमा जमेको वकालत चटक्कै छोडेर दैलेखमा पहिले नै हार्ने घोषणा गरिएको निर्वाचन लड्न हानिँदा मैले दैलेखी जनताको मुहारमा खुशी फर्काउने अभिलाशा बोकेको थिए, र म निर्वाचित भएपछिको लडाइँ त्यही जनअपेक्षाको कडी थियो।त्यसो त नेकपा विवाद कमरेड प्रचण्डको तत्कालै प्रधानमन्त्री हुने र माधव कमरेडको अध्यक्ष हुने लालसाको परिणाम उत्पन्न कृत्रिम विवाद थियो ।

यसको प्रहसन काठमाडौमा गरिए पनि रिमोट ब्रसेल्स र नयाँदिल्लीमै थियो । पार्टी नेतृत्वमाथि कम्फरटेवल कमरेडहरुले चौतर्फी हमला गरिरहेकै बखत हामीले पार्टी र सरकारको नेतृत्वको रक्षाको खातिर प्रधानमन्त्री केपि ‌ओलीलाई समर्थन गरेका हौं । घटनाक्रम तीव्रतर रूपमा विकास हुँदै गए । प्रधानमन्त्रीले अनेक बाह्य प्रतिकूलतालाई जनता, कार्यकर्ता र घरेलु शक्तिहरूको तागतमा निस्तेज पार्नुभयो ।

एकातिर माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने तर हामीले उनै ओलीलाई सहयोग गर्दा प्रचण्डको कारवाहीकाे भागिदार हुनु पर्ने ? प्रचण्डले एमालेको मत लिएर चुनाव जित्न हुने, हामीले चाहिँ एमाले तिर उभिदा पद छोड्नुपर्ने ? आफूले एमालेकै चुनाव चिन्ह सूर्य छातीमा टाँगेर निर्वाचन आयोग र माइतीघर मण्डलामा प्रहसन गर्दा अनुशासन उल्लङ्घन नहुने, हामीले सूर्यको पक्षमा उभिदा पार्टी अनुशासन उल्लङ्घन हुने ?

वाह कमरेड ! तपाईंले सर्वाेच्च अदालतमा पुनरावलोकन दर्ता गर्दा नेकपा बनाइदिन अनुनय गर्ने अनि हामीलाई चाहिँ माओवादी बनेनन् भनेर छ्डी लगाउने ? यो कुन नैतिकता हो कमरेड ! अत: म हमेशा दैलेख र कर्णालीका उत्पीडित जनता, प्रदेश र देशको पक्षमा दृढतापूर्वक उभिएको छु र उभिदै जानेछु ।

जनप्रतिनिधिका रूपमा मेरो ३ वर्ष इमान, निष्ठा, दृढता र जनाधिकारको रक्षकका रूपमा बितेका छन् । मलाई जनताले गरेको माया, विश्वास र भरोसाको पक्षमा खरो रूपमा म उभिएकै छु । म सदनमा हुने र नहुने कुराले जनताप्रतिको उतरदायित्वमा कमी आउँदैन । म जनतासँग समर्पित छु र रहिरहने छु ।

प्रदेशसभा सदस्य निर्वाचित गराउने दैलेखी जनता, मेरा आदरणीय मतदाता, सञ्चार माध्यम, प्रदेश सभाका पदाधिकारी,कर्मचारीहरू, राजनीतिक दल, समर्थक, शुभचिन्तक र प्रियजनहरूप्रति आभार तथा धन्यवाद प्रकट गर्दछु । साथै यहाँहरू सबैमा नयाँ वर्ष २०७८ काे हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

धर्मराज रेग्मी भगवतीमाई ३ मेहेल्तोली, दैलेख

तपाईको प्रतिक्रिया