‘कृषि र पशुपालनबाटै स्वरोजगार बनाउने छौं’

कर्णाली प्रदेशका १० जिल्ला मध्येको एउटा जिल्ला हो कालिकोट । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा जम्मा ९ वडा रहेका छन् । यसको पूर्वमा रास्कोट नगरपालिका रहेको छ भने पश्चिममा नरहरिनाथ गाउँपालिका रहेको छ । यस्तै उत्तरमा बाजुराको त्रिवेणी गाउँपालिका रहेको छ भने दक्षिणमा खाडाँचक्र नगरपालिका रहेको छ । २०६८ को तथ्या अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १२८४६ रहेको छ । विभिन्न जातजाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस पालिकाको विगतमा विकास हुन सकेको थिएन । गाउँपालिकामा जनप्रतिनिधि आएपछि यो अवधिमा गाउँपालिकामा के कस्ता विकास निर्माण र परिवर्तन भए त ? यसै विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी टेकराज केसीले कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीसँग कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादीत अंश

डम्बरबहादुर शाही
अध्यक्ष, सान्नीत्रिवेणी गाउ“पालिका, कालिकोट

 

हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?

यो आर्थिक बर्षका योजना कार्यान्वयन गर्न व्यस्त छु । र जनताका अन्य कामहरु गर्न सबै जनशक्ती त्यतातर्फ लागेका छाैं । जनताका आवश्यकता पुरा गर्न नै हामी केन्द्रीत छौं । हतपाइँ निर्वाचित भएयता

गाउँपालिकामा के परिवर्तन भयो त ?

पहिलो बर्ष त हामीले स्थानीय सरकारले बनाउनुपर्ने नीति, नीयम बनाउन नै केन्द्रीत भयौं । दोस्रो बर्षदेखि हामी विकासका काममा केन्द्रीत भयौं । हामी आउनुभन्दा पहिले सबै वडामा सडक थिएन ।

अहिले गाउँपालिकाका सबै वडालाई सडक सञ्जालमा जोडेका छौं । दोस्रोमा हामी आत्मनिर्भरतालाई जोड दिएका छौं । कृषि क्षेत्रलाई आधुनिकता दिन हामीले योजना बनाएका छौं । अहिले धेरै व्यक्तिहरु कृषि क्षेत्रमा केन्द्रीत हुनुहुन्छ । त्यसैगरी शिक्षा स्वास्थ्यमा पनि धेरै परिवर्तन भयो ।

पहिले शिक्षाका भवनहरु राम्रा थिएनन् । दरबन्दी अनुसारका शिक्षकहरु थिएनन् । अहिले सबै विद्यालयमा दरबन्दी अनुसारका शिक्षक छन् । त्यसैगरी विद्यालयका भवनहरु बनेका छन् । भने स्वास्थ्य क्षेत्रमा सबै वडासम्म स्वास्थ्य इकाइ छन् । तपाईँलाई भन्नुपर्दा विकासका काममा धेरै परिवर्तन भएको छ । गाउँपालिकालाई विद्युतिकरण गर्नेगरी काम भइरहेका छन् ।

सिमान्तकृत समुदायको क्षेत्रमा के काम गर्नुभएको छ ?

हाम्रो गाउँपालिकाका सबै नागरिकहरु नै पछाडी पारिएका थिए । अझै भनौ दलित, महिला, र अन्य केही समुदाय त अझै पछाडी पारिएको अवस्था थियो । ती व्यक्ती र समुदायलाई माथी उठाउन हामीले विभिन्न सीपमुलक तालिमहरु संचालन गरि धेरैलाई उद्यमी बनाएका छाैं ।

आफै गरिखाने गराएका छौं । जस्तैः तपाइँलाई एउटा उदाहरण दिऊ, गाउँपालिकामा रहेका दलित समुदायको लागि हामीले सिलाइकटाई र आरन व्यवसाय सम्बन्धी सीप प्रदान गर्यौ । अहिले उहाँहरु धेरैजसो व्यवसायिक ढङ्गले काम गरिरहनुभएको छ । भने महिलाहरुको सन्दर्भमा पनि विभिन्न बुनाईका कामसँगै क्षमता अविवृद्धि गरेर अगाडी ल्याउने प्रयास गरेका छांै ।


गाउँपालिकामा समृद्धिका आधारहरु के–के हुन् ?

पहिलो कुरा त आफै आत्मनिर्भर बन्नुपर्छ । परनिर्भर हुनुहुन्न । भनाइको मतलव हाम्रो गाउँपालिकामा कृषि र पशुपालन नै पहिलो सम्भावनाको आधार हो । दोस्रो भनेको जडीबुटी र पर्यटन हो । पर्यटन अन्तर्गत वडिमालिका मन्दिर छ ।

त्यहाँ आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गरी हामी लागिरहेका छौं । कृषिमा हामीले प्रत्येक वडामा पकेट क्षेत्र बनाएर काम गरेका छौं । कुनै ठाउँमा सुन्तला, ओखर र स्याउको पकेट क्षेत्र नै बनाएर व्यवसायिकतामा जोड दिएका छाैं । भने बाख्रापालन र भेडापालन गर्ने कृषकहरुको लागि प्रोत्साहनका कार्यक्रम पनि बनाएको छौं ।

जसले उत्पादनमा वृद्धिगरी समृद्ध गाउँपालिका निर्माण गर्ने हाम्रो लक्ष्य छ । अहिलेसम्म हामी परनिर्भर भयौं । अब हामी आत्मनिर्भर हुनुपर्छ भन्ने मान्यता राखेका छौं । र त्यही अनुसारको काम पनि गरिरहेका छौं । समग्रमा हाम्रो गाउँपालिकाका समृद्धिका तिन आधार भनेका छौं ।

विकासका काम गर्दा के कस्ता चुनौती आउँछन् ?

विकास गर्दा धेरै चुनौती आएका छन् । धेरै मानिसहरुले आत्मकेन्द्रीत भएर सोच्ने गर्छन् । दिगो सोच नहुँदा पहिलो चुनौती त त्यो हो । अर्को भनेको भौगोलिक कठिनाइ हो । आम नागरिकको चेतनाको स्तर माथी नउठ्दा विकासमा चुनौती हुँदो रहेछ । अर्को भनेको राजनितिक रुपमा खिचातानि गर्ने प्रवित्ति हाबी हुँदा विकासमा धेरै चुनौती हुँदो रहेछ ।

गाउँपालिकामा मुख्य समस्या के छन् ?

गाउँपालिकाको प्रमुख समस्या भनेको त बजेट अभाव नै हो । केन्द्र र प्रदेश सरकारले दिने अनुदान मात्रै हाम्रो विकास बजेट हो । हाम्रो आन्तिरक स्रोत छैन । जसले गर्दा समस्या छन् । अर्को कुरा भौगोलिक रुपमा विकट रहेको पालिकामा विकास निर्माणको काम गर्न सानोतिनो रकमले हुँदैन । जिम्माभरी स्थानीय सरकारलाई दिने, अनि बजेट कम हुँदा काम कसरी गर्न सकिन्छ ? यो नै सबैभन्दा ठुलो समस्या हो ।

संघ, प्रदेश र स्थानीय तहसँग कसरी समन्वय गर्नुभएको छ ?

गाउँपालिकाको तर्फबाट समन्वय त भइरहेको छ । तर केन्द्र र प्रदेश सरकारले स्थानीय सरकारलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ । हामीले मात्र एकतर्फी समन्वय गरेर त हुँदैन होला नी ? स्थानीय सरकारका एकल अधिकारभित्र पर्ने कामहरु गर्न दिनुपर्छ । अनि केही तिनै तहका साझा अधिकार छन । ति अधिकारहरुलाई टेकेर तिनै तहका सरकारहरु समन्वय गरेर जानुपर्छ ।

युवालाई गाउँमै रोजगारी दिन के योजना बनाउनु भएको छ ?

हामीले युवाहरुलाई जागिरी भनेर दिन सकेको अवस्था छैन । किनकी सबै युवाहरुलाई जागिर दिने ठाउँ पनि हुँदैन । हाम्रो मान्यता केहो भने सबै युवा स्वरोजगार बन्नुपर्छ । आफ्नो ज्ञान सीप कृषि, पशुपालन क्षेत्रमा केन्द्रीत गर्नुपर्छ भन्ने हो । त्यसको लागि हामीले कृषिलाई व्यवसायिकता बनाउँदै लैजानेगरी काम गरिरहेका छौं ।

युवाहरुलाई आकर्षित गर्न प्रोत्साहनका कार्यक्रम पनि ल्याएका छौं । उत्पादन बढ्यो भने आत्मनिर्भरता बढ्छ । बेरोजगार कोही बस्नु पर्दैन । हामीले अहिले पनि आग्रह गर्छौ । तपाई व्यवसायी ढङ्गले अगाडी बढ्नुहोस, गाउँपालिकाले तपाईँलाई सहयोग गर्छ । तपाईँ आफ्नै गाउँघरमा बसेर व्यवसायिक ढङ्गले पैसा कमाउन सक्नुहुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार