खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । शनिबार दिउँसो राजधानीको कलंकीस्थित एक पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।

बैठकमा नेपाल पक्षका स्थायी कमिटी सदस्यका साथै सांसदहरुको समेत सहभागिता रहेको छ । बैठकले संगठन अभियान घोषणासहित विभिन्न कार्यक्रम तय गर्ने सम्भावना रहेको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले माधव नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिने निलम्बनको घोषणा गरेपछि सो समूहले निरन्तर बैठक र भेला गर्दै आएको छ ।

शुक्रबार पनि एक विज्ञप्तिमार्फत खनाल–नेपाल सहितका ११ नेताले ओलीबाट देश, जनता र पार्टीको हित विपरीतका क्रियाकलाप भएको भन्दै पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढताका साथ एकताबद्ध रुपमा संगठित भइ देशव्यापी रुपमा सक्रिय हुन नेता कार्यकर्तामा आह्वान गरेका थिए  ।

विज्ञप्तिमा नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने ओलीको निर्णय पार्टीको विधान विपरीत स्वेच्छाचारी काम भएको ठहर गरिएको थियो ।

तपाईको प्रतिक्रिया