वन संरक्षण गरौं

वन मानिसका लागि अपरिहार्य छ । वनबाट उपलब्ध हुने स्रोतको प्रयोग गर्दै मानिसले आफ्ना आवश्यकता पूरा गदै आएको छ । त्यतिमात्र होइन, वन्यजन्तुको वासस्थान पनि हो वन । वनकै कारण अक्सिजन प्राप्त भइरहेको छ । पानीका मुहान जोगाउन पनि वन चाहिन्छ ।

पशुपालनबाट लाभ लिन पनि वन महत्वपूर्ण छ । यसकारण पनि वन विना मानिस आफूलाई जीवन्त राख्न मुश्किल छ । यही मान्यता र वास्तविकताका कारण आज विश्व नै वन संरक्षणमा जुटेको छ । वन संरक्षणको मुद्दा आजा साझा बनेको छ । तथापी विभिन्न कारणले वन विनास हु्नेक्रम रोकिएको छैन । मानवीय र प्राकृतिक कारणले वन नोक्सान भइरहेको छ ।

पछिल्ला समय आगलागीकै कारण वन सखाप हुन थालेको छ । मानवीय लापरबाही र त्रुटीका कारण वनमा आगलागी हुने गरेको हो । आगलागीकै कारण वर्सेनि ठूलो मात्रामा वन नोक्सान हुने गरेको छ । एकातिर वन सखाप हुन्छ भने अकोतर्फ वन्यजन्तुको वासस्थान नै नोक्सान भइरहेको छ । नेपालका लागि वन नै मुख्य धन हो । नेपालले यसको महत्व नबुझेको होइन ।

तर पनि कतिपय सरकारी नीतिको अभाव, भएको नीतिको कार्यान्वयन नहुनु र मानवीय त्रुटीका कारण वन जोगाउन भने सकिएको छैन । चोरी र तस्करीका कारण वन फडानी हुने गरेको छ । त्यसमा पनि आगलागीका कारण वनमा नयाँ पलाउँदै गएका विरुवा नस्ट हुने गरेका छन् । खडेरीको समयमा आगलागीका घटना बढी हुने गरेका छन् । यसपाली पनि देशभर वनमा आगलागीका घटना भइरहेका छन् ।

कतिपय स्थानमा आगो नियन्त्रण गर्न सकिएको छैन । धेरै स्थानमा त स्थानीयले सम्भावना हुँदाहुँदै पनि आगो नियन्त्रणमा लिने चासो नै नदेखाएको पाइएको छ । सामुदायिक वनमासमेत डढेलो लाग्दा कसैको ध्यान गएको छैन । यसको परिणाम वन विसान भइरहेको छ । सरकारले वन जोगाउनका लागि उपायहरु नअपनाएको भने होइन । तथापी वन संरक्षणमा चुनौती देखिएका छन् ।

आगलागी हरेक वर्ष देखिने समस्या हो । यसको निराकरणका लागि अब राज्य र नागरिक दुबै गम्भिर बन्नै पर्दछ । आगलागी नियन्त्रण गर्न र वन जोगाउनका लागि विशेष कार्ययोजना बनाउन आवश्यक छ । यसका लागि सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरुलाई अग्नीरेखा निमार्ण, आगलागी नियन्त्रणबारे तालिम, आवश्यक सूचना र औजारहरुको व्यवस्था गरिनु पर्दछ । कर्णालीमा पनि आगलागीबाट सयौं हेक्टर वन विनास भइरहेको छ ।

तर पनि त्यसलाई नियन्त्रण कसले गर्ने भन्ने प्रश्न उब्जिन्छ । वास्तवमा वन सोही समुदायको सम्पती हो । यसकारण पनि वन जोगाउन र आगलागीका घटना रोक्न समुदाय नै पहिला जिम्मेवार बन्नु पर्दछ । यस्तै स्थानीय र प्रदेश सरकारले पनि वृक्षारोपण कार्यक्रम संचालन गरेजस्तै आगलागी नियन्त्रणको उपायबारे अभियान संचालन गर्न सकेमा वन जोगाउन सम्भव हुन सक्छ । यसतर्फ नागरिक र सरकारी निकायको ध्यान पुगोस् ।

तपाईको प्रतिक्रिया