घर बनाउँदा कहाँ कस्तो पाइप प्रयोग गर्ने, खर्च कति लाग्छ ?

काठमाडौं ।  घरका लागि पाइपहरू शरीरका लागि नसाजस्तै हो। पाइप र यसको काममा सानो मात्र खराबी भए, पछि पानी चुहिने, भित्ता रसाउने, ढल जाम हुने जस्ता समस्या आउन सक्छन् ।
घर बनाउँदा कस्तो–कस्तो पाइप प्रयोग गर्ने, किन्दा ध्यान दिनुपर्ने कुरा के हुन्, कति खर्च लाग्छ ? यस्ता जिज्ञासा धेरैमा हुन सक्छन् ।

पाइपबारे पाइप उत्पादक कम्पनी ‘आइटिपिएफ’ का निर्देशक विनित अग्रवालसँग कुराकानी गरेका छौं । अग्रवालका अनुसार एउटा घर बनाउँदा अनिवार्य रूपमा चार प्रयोजनका लागि पाइप प्रयोग हुन्छ– खानेपानी, सरसफाइको पानी, ढल र बिजुलीको पाइप ।

पहिलेपहिले पानीका लागि फलामे पाइप पनि राखिन्थे। तर तिनमा धेरै समस्या आउँथ्यो। त्यसैले अचेल खिया नलाग्ने, लेउ नजम्ने र एकपटक जडान गरेपछि वर्षौं टिक्ने भएकाले विशेष प्रकारको प्लास्टिकबाट बनेका पाइप नै प्रयोग हुन्छ । अग्रवालका अनुसार खानेपानी र बिजुलीका निम्ति कालो पाइप प्रयोग गरिन्छ । यसको छोटकरीमा बुझ्ने प्राविधिक नाम ’एचडिपिई’ पाइप हो ।

हाम्रो चोक–टोलमा खानेपानी लाइनको केन्द्र हुन्छ। त्यहाँको मुख्य पाइपबाट घरको भान्सासम्म पु¥याउन अर्को पाइप प्रयोग गर्नुपर्छ। कहिलेकाहीँ लामो वा घुमाउरो बाटो पर्ने हुँदा धेरै पाइप राख्नुपर्ने हुनसक्छ । घरमा बिजुलीको लाइन ल्याउन पनि पाइप अत्यावश्यक हुन्छ । भित्री वायरिङका लागि पनि कालो पाइप नै प्रयोग हुन्छ। त्यस्तै घरभित्र धारो ल्याइसकेपछि अरू ठाउँमा पानी पु¥याउन हरियो पाइप (पिपिआर) प्रयोग हुन्छ ।

अन्डरग्राउन्ड ट्यांकीदेखि छतको ट्यांकीसम्म, छतदेखि बाथरुम र किचनसम्म पानी पु¥याउन यो पाइप प्रयोग हुन्छ। यही पाइप घरभित्र खानेपानी ल्याउन पनि प्रयोग गर्न सकिन्छ । निरन्तर पानी पास भइरहनु पर्ने हुँदा यो विशेष किसिमको प्लास्टिकले बनेको हुन्छ। अग्रवालका अनुसार यो पाइपमा पानी बहिरहँदा पनि लेउ, कस जम्दैन । खिया लाग्ने वा खिइँदै जाने पनि हुँदैन ।

‘यसका धेरै फाइदा छन् । हिजोआज धेरैले रूचाउने र प्रयोग गर्ने पिपिआर पाइप नै हो,’ उनले भने, ‘यसको सट्टामा सिपिभिसी पाइप पनि प्रयोग गर्न सकिन्छ। तर तुलनात्मक रूपमा पिपिआर धेरै बलियो हुन्छ ।’ त्यस्तै अर्को छ, पिभिसी पाइप । यो प्रायः खैरौ–गाढा खरानी रङको हुन्छ । ट्वाइलेट, बाथरुम वा किचनबाट निस्कने फोहोर पानी ढलसम्म पठाउन यो पाइप प्रयोग हुन्छ। एउटा घर बनाउँदा यी चार किसिमका पाइप अनिवार्य चाहिन्छ ।

आवासीय सानो घरमा आधा इन्च, पौने एक इन्च र एक इन्चका पाइप प्रयोग हुन्छन् । बजारमा यी पाइपको मूल्य आकारअनुसार एक सय रूपैयाँ प्रतिमिटरदेखि चार सय पचास रूपैयाँ प्रतिमिटर पर्छ । पाइपको आकार बढ्दै जाँदा यसको मूल्य पनि बढ्छ । हामी यहाँ चार कोठे घरको कुरा गरौं जसमा दुइटा बाथरुम, एउटा किचन राख्ने योजना छ । यस्तो घरमा सबै खाले पाइपमा करिब एक लाख पचास हजार रूपैयाँ लागत अनुमान गर्नुपर्ने अग्रवाल बताउँछन् ।

घर भित्र पानी पु¥याउने पिपिआर पाइप ५० हजार रूपैयाँ बराबरको अनुमान गर्नुपर्छ। इच्छा भए खानेपानीका लागि पनि यही पाइप प्रयोग गर्न सकिन्छ । यसको सट्टामा सिपिभिसी प्रयोग गर्दा लागत आधा कम हुन्छ । ‘सिपिभिसी सस्तो हुन्छ । पिपिआरको सट्टा सिपिभिसी हाल्ने हो भने २५ हजारले नै पुग्न सक्छ,’ उनले भने, ‘तर पिपिआर जति गुणस्तरीय भने हुँदैन ।’

त्यस्तै ढलका लागि प्रयोग हुने पिभिसी पाइपमा ५५ हजार खर्च हुने अनुमान गर्नुपर्छ । घरदेखि ढलसम्मको दुरीले यसको लागत घटबढ हुन्छ । बिजुली वायरिङका लागि एचडिपिई पाइप प्रयोग गर्दा ४५ देखि ५० हजार अनुमान गर्नुपर्छ । यसरी एकतले, चार कोठाको घर बनाउँदा पाइपमा करिब एक लाख पचास हजार रूपैयाँ लागत अनुमान गर्नुपर्छ ।

बजारमा सबैजस्तो उत्पादकले आफ्नो उत्पादन अब्बल भन्न विभिन्न किसिमले विज्ञापन गर्छन् । यस्तोमा उपभोक्तालाई विज्ञापन गरिएको सामान कति उपयोगी र गुणस्तर छ भनी थाहा पाउन मुश्किल पनि हुन सक्छ । पाइप किन्दा सबभन्दा ध्यान दिनुपर्ने कुरा त्यसको गुणस्तर चिह्न हो। अग्रवालका अनुसार ग्राहकले नै हेरेर थाहा पाउन यो सजिलो उपाय हो ।

उनले भने, ‘पाइपमा छाप लागेको गुणस्तर चिह्न सजिलै हेर्न सकिन्छ। यो कुरा भुल्नु हुँदैन ।’ त्यस्तै विक्रेताले कति वर्ष वारेन्टी दिएको छ, बिक्रीपछि के–कस्ता सेवा–सुविधा उपलब्ध छन्, लगायतजस्ता कुरा ख्याल गर्नुपर्छ । कम्पनीहरूले सार्वजनिक गरेका छुट र स्किमका पछि नलाग्न पनि उनी सुझाउँछन् । उपभोक्तालाई कत्ति पनि जानकारी नभए आफ्नो घर बनाउने इञ्जिनियर वा प्राविधिकसँग सल्लाह लिनुपर्छ ।
‘प्लम्बर र इञ्जिनियरलाई घरमा प्रयोग हुने पाइपबारे धेरै जानकारी हुन्छ। उनीहरूसँग सुझाव लिनुपर्छ । ठेकदारलाई मात्रै सबै जिम्मेवारी दिनु हुँदैन,’ अग्रवालले भने । घरमा पाइप जोडेर मात्र हुँदैन, यसको राम्रो जोडजाड पनि गरिनुपर्छ । पाइपको राम्रो फिटिङ र फिनिसिङ दिन प्लम्बरको उत्तिकै भूमिका रहन्छ ।

त्यसैलै अनुभवी र दक्ष प्लम्बर छनौट गर्नुपर्छ । ‘फिटिङमै ध्यान दिएर राखिएका पाइपमा खराबी आउने सम्भावना धेरै कम हुन्छ,’ उनले भने, ‘एकपटक ध्यान दिएर जडान गरियो भने जीवनभरलाई ढुक्क हुन सकिन्छ ।’

तपाईको प्रतिक्रिया