कृषि र पशुपालनमा सम्भावना खोज्दैछौं

कर्णाली प्रदेश जुम्लमा पर्ने गुठिचौर गाउँपालिका ४२७ वर्गकिमी क्षेत्रफलमा रहेको छ । यस गुठिचौर गाउँपालिका जनसंख्याको जनगणना अनुसार ११३४५ र कुल घरपरिवार २२५५ रहेको छ । यस गाउँपालिकाको पूर्वमा डोल्पा जिल्ला, पश्चिममा तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिका, उत्तरमा पातारासी गाउँपालिका र दक्षिणमा जाजरकोट जिल्ला रहेका छन् । गाउँपालिकामा जनप्रतिनिधि आएपछि यो अवधिमा गाउँपालिकामा के कस्ता विकास निर्माण र परिवर्तन भए त ? जनताको अपेक्षा अनुसार काम भए त ? यीनै विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी टेकराज केसीले जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंश :

 

हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?

म अहिले जनताकै काममा व्यस्त छु । अहिले हाम्रा योजनाहरु चलिरहेका छन् । त्यसको कार्यान्वयनमा हामी लागि रहेका छौं । त्यसमै व्यस्त छु भन्नुपर्छ ।

तपाइँ निर्वाचित भएयता गाउँपालिकामा के परिवर्तन भयो त ?

स्थानीय निर्वाचनपछि हामी निर्वाचित भएर आयौं । त्यसपछि हामीले पहिले त गाउँपालिकाको स्थायी केन्द्र टुंग्याउने काम गर्यौं । हामीलाई कानुन नहुँदा काम गर्न केही अलमल भयो । तर पनि हाम्रो गाउँपालिकाभित्र रहेका ५ वटै वडामा सडक सञ्जाल पुर्याएका छौं ।

पहिले सबै वडामा सडक पुगि सकेको थिएन । २३ वटा टोल रहेको गुठीचौर गाउँपालिकामा १ र २ नम्बर वडा बाहेकका सबै वडामा विद्युत पहुँच पुर्याइएको छ । यी दुईवटा वडामा पनि सोलार सिस्टममा प्रत्येक घरमा हामीले सोलार राखेका छौं । निकट भविश्यमा विद्युत पुर्याउनेगरी दुई करोडभन्दा धेरै बजेट छुट्याइएको छ । भने टेन्डरको काम पनि भइसकेको छ । त्योसँगै सबै वडाको खानेपानी समस्या हल गरिएको छ ।

त्यसैगरी शिक्षा क्षेत्रको कुरा गर्दा एउटा आएसईएजीको शिक्षालय खोलेका छौं । भने अन्य विद्यालयको दरबन्दी अभाव हटाउनेदेखि विद्यालयका भवनहरुलाई स्तरउन्नती गर्ने काम भइरहेको छ ।
स्वास्थ्य क्षेत्रको कुरा गर्नुहुन्छ भने पाँच शैयाको कोभिड १९ को हस्पिटल स्थापनासँगै सबै वडामा स्वास्थ्यचौकी स्थापना गरिएको छ । केही समयभित्रै १५ शैयाको हस्पिटल पनि निर्माण हुनेछ । जनताको धेरैजसो आवश्यकता पुरा गरिएको छ । तर यो प्रयाप्त भने होइन ।

पिछडिएको बर्ग र समुदायको क्षेत्रमा के काम गर्नुभयो त ?

तपाईले सहि प्रश्न गर्नुभयो । गरिबी र पछाडी पारिएका व्यक्तिहरुलाई हामीले पहिलो प्रथामिकता राखेर काम गरिरहेका छौं । उनीहरुको आवास निर्माणसँगै शिक्षा, स्वास्थ्य र रोजगारीको लागि छुट्टै कार्यक्रम बनाइएको छ ।

पछाडी पर्ने भनेको गरिबी नै हो भन्ने हाम्रो बुझाइ छ । त्यही अन्तरगत हामीले गरिब युवासँग अध्यक्ष कार्यक्रम संचालन गरिएको छ । यो कार्यक्रम अन्तरगत प्रत्येक बर्ष हामीले १५ जनालाई रोजगारी दिइरहेका छौं । त्यसैगरी अर्को पछाडी पारिएको भनेको महिलाहरु हुन् । उनीहरुको लागि पनि यस्तै कार्यक्रमहरु छन् । तपाईलाई भनौँ, विभिन्न सीपमुलक तालिमहरु त छन् नै ।

त्यसको अलवा गर्भवतीसँग अध्यक्ष कार्यक्रम बनाएर गाउँपालिकाको तर्फबाट प्रत्येक गर्भवती महिलालाई एउटा भाले र एक माना घ्यु उपलब्ध गराउँछौ । त्यसका अलवा अन्य लक्षित कार्यक्रमहरु पनि धेरै छन् ।

गाउँपालिकामा समृद्धिका सम्भावना र आधारहरु के–के हुन् ?

साच्चिकै भन्ने हो भने जुम्लाको गुठीचौर गाउँपालिका विविधताको गाउँपालिका हो । यस गाउँपालिकामा सबैभन्दा ठुलो सम्भावना भनेको कृषि र पशुपालन हो । त्योसँगै यहाँका पर्यटकीय स्थलहरु गुठीचौर, विभिन्न पाटन गुफाहरु पनि छन् । तिनको संरक्षण गरिएको खण्डमा दोश्रो सम्भावना पर्यटन भने हुनेछ ।

यसैलाई मध्यनजर गर्दै हामीले पशुपालन र कृषिमा पनि थुप्रै बजेट छ्ट्याएका छौं । यहाँ धान खेतीदेखि आलु, फापर लगायतका अन्य महत्वपूर्ण बालिहरु उत्पादन गर्न सकिन्छ भने पशुपालनमा भेडा बाख्राको पनि उत्तीकै सम्भावना छ । हामीले युवाहरुलाई यसैमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम बनाएर कार्यान्वयनमा पनि लिएका छौं ।

त्यसैगरी पर्यटन क्षेत्रमा पनि सम्भावना उत्तीकै छ । त्यसको लागि यहाँका पर्यटकीय गन्तब्यहरुको खोजीमा हामी लागिरहेका छौं । पर्यटन क्षेत्रमा हामीले मात्र नभएर प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्छ ।

विकासका काम गर्दा के कस्ता चुनौती आउँछन् ?

सबैभन्दा ठुलो चुनौती भनेको भुगोल हो । गुठीचौर गाउँपालिका जाजरकोटदेखि डोल्पासम्म जोडिएको छ ।

यहाँका पहाडी भुभागमा विकास गर्न धेरै चुनौती छ । अर्को चुनौती भनेको कर्मचारी अभाव, राजनिनीतक लडाईँ आदी छन् । सबै चुनौतीको सामना गरेर विकास गर्न सहज त छैन नी हैन र ?

गाउँपालिकामा मुख्य समस्या के छन् ?

जनताका आवश्यकता धेरै छन् । तर बजेट हामीसँग छैन । आवश्यकता पुरा गर्न बजेट चाहिँदो रहेछ । मैले अघि भनेजस्तै भौगोलिक रुपमा विकट रहेको पालिकामा विकास निर्माणको काम गर्न सानोतिनो रकमले पुग्दो रहेन छ । त्यसैले सबैभन्दा ठुलो समस्या भनेको बजेट अभाव नै हो ।

संघ, प्रदेश र स्थानीय तहसँग कसरी समन्वय गर्नुभएको छ ?

प्रदेशसँग त मेरो नियमित समन्वय भइरहेको छ । तर संघसँग त्यती कुराकानी भइरहेको छैन । पालिकाका समस्या र त्यसको समाधानको लागि प्रदेशलाई मैले नियमित अपडेट गराइरहेको छु । र संघ सरकारसँग पनि कुराकानी त हुन्छ । तर प्रदेशजत्ती समन्वय भएको छैन । म प्रयास गरिरहेको छु संघ सरकारसँग पनि समन्वय बढाउन ।

युवालाई गाउँमै रोजगारी दिन के योजना बनाउनु भएको छ ?

युवाहरुलाई रोजगारी दिन संघको प्रधानमन्त्री रोजगार कार्यक्रम र प्रदेशको मुख्यमन्त्री रोजगार कार्यक्रममा जोडेर रोजगारी दिइरहेका छांै । त्यससँगै पालिकाका विभिन्न कार्यक्रममा जोडेर पनि हामीले स्वरोजगारीमा काम गराइरहेका छौ । भने कृषि र पशुपालन क्षेत्रमा पनि हामीले युवाहरुलाई स्वरोजगार बनाउन खोजिरहेका छौं ।
त्यहीअनुसराका काम पनि अहिले भइरहेको छ ।

तपाईको प्रतिक्रिया