रैथाने बालीको उत्पादन

कर्णालीमा धेरै समस्या र पीडा छन् । त्यसमा पनि खाद्यान्न अभाव र संकटको कथा लामो छ । दुर्गममा वर्सेनी खाद्यान्न अभाव हुन्छ । भोकमरी भएका खबरहरु आइरहन्छन् ।

चाडपर्वमा पनि स्थानीयले चामल नपाएको सुनिन्छ । एकातिर अभावको कथा छ भने अर्कोतिर सरकारले अनुदानमा ढुवानी गर्ने चामल गोदाममै कुहिएको पनि बाहिर आउछ । यस्तो अवस्थामा सरकारले चामलको व्यवस्थापन गरेको दाबी गरिरहने र स्थानीयले चामल नपाउने गरेको देखिन्छ ।

तर यो समस्या किन आइरहन्छ ? यसको दिर्घकालीन समाधान के ? यसबारेमा राज्यका निकाय र नीति निर्माताले चासो दिएको देखिदन । यसको परिणाम सरकारी ढुकुटी सकिरहने र जनताले खान नपाउने समस्या उस्तै छ । दुर्गममा खाद्यान्न अभाव र भोकमरीको कथा देखाएर विचौलिया र ठेकेदारले मात्र लाभ लिएको अवस्था छ ।

यसको पछाडि धेरै कारणहरु छन् । तर मुख्य कारण राज्यले अब पनि माछा मारेर दिने की, कर्णालीबासीलाई माछा नै मार्न सिकाउने भन्नेमा सोच्न जरुरी छ । कुनैबेला कर्णालीमा उत्पादन भएको अन्नले पुगेको थियो । अर्थात यहाँका नागरिकले आफैले उत्पादन गरेर छाक टर्ने गर्दथे । तर पछिल्ला वर्षमा सरकारी तथा गैरसरकारी निकायका कारण स्थानीयहरु अल्छी बने । आफ्नै खेतबारीमा उत्पादन गर्न छाडे ।

सरकारले हेलिकोप्टरमा आँगनमै लगेको चामल खान पाएपछि स्थानीयले खेती गर्न छाडे । यसको परिणाम स्थानीय उत्पादनमा कमी आयो । खेतीयोग्य जग्गा पनि बाँझो बन्यो । रैथाने बाली पनि हराउँदै गयो । स्थानीय हावापानी र माटो सुहाउँदो खेती हुन छाडेपछि उतपादन पनि कम भयो ।

उत्पादन नै कम भएपछि वर्षभरी खान पुग्ने भएन । यसको जड यही हो । तर अहिले पनि कर्णालीमा भोकमरीको कथा सुनाएर आफ्नो खेती गर्न लागि परेका गैरसरकारी संस्थाले तिनै कथा भजाउने गरेका छन् । सरकारी निकायमा रहेका विचौलियाहरु पनि कमिशनको खेती गर्न भोकमरीकै नारा भजाएर अनुदानमा चामल ढुवानीमा केन्द्रित छन् ।

वास्तवमा कर्णालीमा अहिलेको मुख्य समस्याको जड यही हो । कर्णालीका दुर्गममा वास्तवमा खाद्यान्नको अभाव होइन । चामलको अभाव हो । कर्णालीमा चामल बाहेक अरु खाद्यान्न उत्पादन हुन्छ । धान उत्पादनको मात्रा कम हुने र स्थानीयले भातलाई मात्र खाद्यान्नको रुपमा लिँदा यो समस्या भएको हो ।

तर्सथ अब कर्णालीमा दिर्घकालिन रुपमा खाद्यान्नको अभावलाई टार्ने हो भने रैथाने वालीको उत्पादनमाा जोड दिइनु पर्दछ । अनुदानमा चामल ढुवानी गरेर बर्सेनी बजेट खर्चनु भन्दा पनि सरकारले स्थानीय उत्पादनमा लगानी गर्न सकेमा केही हदसम्म यहाँको खाद्यान्न अभावको समस्या हल हुनेछ ।

किसानलाई सिचाइँ, बिउ र मलको व्यवस्थापन गरेमा उत्पादन बृद्धि हुन सक्छ । यसले स्थानीयहरु खाद्यान्नमा आत्मनिर्भर हुन सक्छन् । कर्णालीमा बारम्बार आइरहने भोकमरी र खाद्यान्न अभावको समस्या हल गर्ने उपयुक्त विकल्प र उपाय भनेकै रैथानै बालीको उत्पादन नै हो ।

तपाईको प्रतिक्रिया