चिनजान भएको दुई वर्षपछि विहे

जसले आफ्नो जीवनसाथीप्रति विश्वास राख्दछ, उसको माया पनि दिगो हुन्छ । सबै जोडीको माया दिगो हुँदैन । त्यस्तो सफल हुन्छ, जसले एक अर्कालाई बुझ्ने गर्दछन् । हरेक सुख, दुखमा साथ दिने गर्दछन् । एक अर्कामा विश्वासको वातावरण सृजना गर्दछन् । यो कुरा सबै जोडीहरुको लागि लागू हुन्छ । यस्तै आफ्नो मायालाई सफल बनाएका जोडी हुन् थिरबहादुर शाही र पवित्रा शाही । यो जोडीको प्रेम कथाका सन्दर्भमा आजको अंकमा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

 

दिदीको माध्यमबाट चिनजान

थिरबहादुर शाही र पवित्रा शाही एकअर्काबिचमा अपरिचित थिए । थिरबहादुर जागिरको शिलशिलामा भारतमा बस्थे । पवित्रा चाहीँ सुर्खेतमा । थिरबहादुरको दिदी र पवित्रा शिक्षा क्याम्पसमा सँगै पढ्थे । थिरबहादु इन्डीयन लाहुरे थिए । छुट्टीमा घरमा आएको बेला दिदीकै माध्यमबाट पवित्रासँग चिनजान भएको थियो ।

चिनजानपछि उनीहरु साथीको रुपमा व्यवहार गर्न थाले । उनीहरु एकअर्कालाई मन पराउँथे । तर मन पराएको कुरा भने भन्न सकिरहेका थिएनन् । उनीहरुको चिनजान २०४८ सालमा भएको थियो । त्यसको एक बर्षपछि थिरबहादुरले बिवाह गर्ने प्रस्ताव राखे ।

पवित्रा अलि सोच बिचार गरेर निर्णय गर्थिन् । त्यतीबेला कुराकानी गर्ने अरु कुनै माध्यम थिएन । थिरबहादुरले दिनमा चार वटा प्रेम पत्रहरु लेख्थे र पठाउँथे । महिनौपछि पवित्राको हातमा आईपुग्थ्यो । धेरै प्रेम पत्रहरु आएपछि पवित्राले पनि जवाफी एउटा पत्र पठाइन् । अनि शुरु भयो यो जोडीको प्रेम ।

थिरबहादुरको घरमा नमान्दा…

थिरबहादुरले भारतीय सेनामा जागिर गर्न लागेको पाँच बर्ष भइसकेको थियो । पवित्रा व्याचलर रनिङमा थिइन् । थिरबहादुरले आफ्ना घर परिवारसँग पवित्रालाई बिवाह गर्न चाहेको प्रस्ताव राखे । पवित्रा गिरीको छोरी हुन् । घरपरिवारले आफ्नै जातको केटी बिवाह गर्ने भन्दै थिरबहादुरको प्रस्ताव अस्वीकार गरे ।

थिरबहादुरलाई जात, धर्ममा विभेद गर्ने समाजको संस्कारको विरोधी थिए । उनले घरपरिवारले नमाने पनि पवित्रासँगै बिवाह गर्ने निधो गरे । उता पवित्राले भने आफु बिवाह गर्न लागेको कुरा घरमा आमालाई मात्र भनेकी थिइन् । उनको आमाले आफुलाई जुन केटा मनपर्छ त्यहीसँग बिवाह गर्न सल्लाह दिइन् । धेरै मन पराएका उनीहरु बिवाह गर्ने निर्णयमा पुगे । र २०५० साल फागुनमा विवाहमा बाँधिए ।

उमेरले उनीहरु परिपक्व भइसकेका थिए । थिरबहादुर र पवित्रा दुबैजना २१÷२१ बर्षका थिए । बिवाह गरेर घरमा ल्याउँदै छु भनेर थिरबहादुरले घरमा जानकारी गराएका थिए । अरुबेला घरमा जाँदा साथीहरु, आफन्तहरु बाटोमै लिन आउँथे । तर बिवाह गरेर गएको दिनमा कोही पनि आएन । थिरबहादुरले पवित्रालाई बिवाह गरेको घरमा मन परेको थिएन । किनकी अन्तरजातीय बिवाहलाई त्यो समयमा मान्यता दिइदैन्थ्यो ।

घरपरिवारलाई सम्झाई बुझाइ गरेपछि घरपरिवार सहमत भए । माइती घरबाट पोइली घरमा जाँदा पवित्रालाई खासै केही फरक थिएन । पवित्रा पढेलेखेकी थिइन् । उमेरले परिपक्व उनी जस्तो असहजतालाई पनि सहजतामा लिन सक्थीन् । उनी बिवाहपछि केही समयपछि वीरेन्द्रनगरमै बसेर पढ्दै पढाउँदै गर्न थालिन् ।

विवाहपछिको संघर्ष

थिरबहादुर र पवित्राको बिवाहपछिका दिनहरु संघर्षमै विते । थिरबहादुरको घरको आर्थिक अवस्था त्यती राम्रो थिएन । घरमा ६ महिना मात्र खाना पुग्थ्यो । उनले बिवाह अगाडी नै भारतीय सेनामा जागिर त खाएका थिए ।
उनको तलब मात्र ३५० रुपैयाँ हुन्थ्यो ।

त्यो पैसाले घरभाडा तिर्ने, घरखर्च टार्न नै समस्या थियो । उनीहरु सँगै पनि बस्न पाउथेनन् । थिरबहादुर आफ्नो जागिरको शिलशिलामा भारतमै बस्थे । ६ महिना, एक बर्षमा एकपटक छुट्टीमा आउँथे । सबै कुराको अभावमा उनीहरु थिए । तर एक अर्कालाई सम्झाउँथे ।

पवित्राले एक बर्षमा एक जोड मात्र कपडा किन्थिन् । त्यो पनि थिरबहादुरले छुट्टीमा आएको बेलामा ल्याइदिन्थे । जती नै दु्ख भए पनि आफ्नो आत्मविस्वासका साथ काम गर्थे । दुबैजना दुखमा नआत्तिने गर्ने । संघर्षपछि एकदिन अवश्य सफल होइन्छ भन्ने सोच्थे । उनीहरुको जीवन संघर्षमा नै वित्यो ।

तर संघर्षमा एकअर्कालाई उनीहरु दुबै जनाले बाँडेर पुरा गर्थे । पवित्राले पनि सुर्खेतको एउटा बोर्डिङमा पढाउन थालिन् । मासिक एक हजारमा उनले पढाउथिन् । उता थिरबहादुरको तलब पनि बढेर दुई हजार रुपैयाँ मासिक पुग्यो । पवित्राले आवाज संस्थामा २०५४ मा काम गर्न थालिन् । उनको मासिक कमाई चार हजार हुने भएपछि त्यो दिन थिरबहादुरलाई अच्चमै खुशी लाग्यो । अब हाम्रो संघर्ष सफलतातिर गयो भन्ने दुबै जनालाई लाग्न थाल्यो ।

कस्तो थियो बाल्यकाल ?

बुवा टेकबहादुर शाही र आमा भुवनसरी शाहीको कोखबाट २०२९ साल कात्तिक ३ गते साविकको लेखगाउँ गाविस हालको वराहताल गाउँपालिका सुर्खेतको थारीमा जन्मिएका थिरबहादुर घरको काइलो छोरा हुन् । उनका पाँचभाई र दुई बहिनी हुन् । उनको बाल्यकाल धेरै दुखले वित्यो ।

यती सम्मकी घरबाट विद्यालय जाँदा नाम्लो र हँसिया बोकेर बाटोमा छोड्ने अनि बेलुकी घर फर्किदा घाँस काटेर ल्याएर आउनुपथ्र्यो । उनलाई विद्यालय जान ४ घण्टा हिड्नुपर्ने हुन्थ्यो । घरको आर्थिक अवस्था पनि कमजोर थियो । सानोमा अरु साथीहरुजस्तो उनलाई सहज थिएन । ठुलाे घर परिवार, धेरै भाइबहिनी सबैका आवश्यकता पुरा गर्न घरको आर्थिक अवस्था सहज थिएन । त्यसरी नै पढाइलाई उनले निरन्तरता दिए ।

९ कक्षासम्म गाउँकै विद्यालयमा पढेका उनले एसएलसी भने भारतबाट गरेका हुन् । बुवा प्रताव गिरी र आमा कौशिला गिरीको कोखबाट वि.स २०२९ चैत २७ गते दैलेखको भुर्तीमा जन्मिएकी पवित्रा घरकी कान्छी छोरी हुन् । उनका तीन जना भाईबहिनी हुन् ।

उनी पढाइमा धेरै ध्यान दिन्थिन् । तर घरपरिवारमा उनलाई पढ्न भने सहज थिएन । किनकी त्यीबेला छोरीलाई पढाउनुहुन्न भन्ने सामाजिक मान्यता थियो । उनलाई बाख्रा गोठाला पठाउने गरिन्थ्यो । पवित्रालाई पढेर ठुलो मानिस बन्ने लक्ष्य थियो । गोठाला गएको बेला उनी भागेर पढ्न जान्थिन् । उनी भागीभागी विद्यालय जान थालेपछि घरबाट पढाउनैपर्ने अवस्था आयो । अनि उनले पढ्न पाइन् । उनी २०४५ एसएलसी पास भइन् । अनि उनी पढाईको शिलशिलामा सुर्खेतमा आइन् ।

शिक्षा क्याम्पसबाट उनले उच्च शिक्षा हासिल गरेकी हुन् । पवित्रा अहिले आवाज संस्था सुर्खेतको कार्यकारी निर्देशक छन् भने थिरबहादुर वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ को वडा सदस्य छन् । उनीहरु दु्बैजना सामाजिक सेवा गर्न मन पराउछन् ।

सल्लाह र सहकार्य

संघर्ष गरेर सफलतामा पुगेका यो जोडी अहिले खुसी छन् । सामाजिक सेवामा रहेका यो जोडी जे काम गर्दा पनि सल्लाह र सहमतिमा मात्र गर्ने गर्छन् । यस्तो गर्दा सम्बन्धमा खटपट आउँदैन । यो जोडी काममा नै धेरै व्यस्त हुने भएकाले सँगै घुम्न जाने, एउटै विषयमा बहस गर्न मन पराउँछन् ।

घरमा केही समस्या आयो भने दुबैले एकअर्कालाई हौसला दिने गर्छन् । घरमा मात्र होइन, देशको राजनितीक, सामाजिक विषयमा पनि घरमा छलफल र बहस गर्ने गर्दछन् । एकअर्काे बीचमा विश्वास र समझदारी भए मात्र दाम्पत्य सम्बन्धलाई दिगो बनाउन सकिने उनीहरूको भनाइ छ । जबसम्म एकअर्काे बीचमा समझदारी र विश्वास कायम हुँदैन, तबसम्म सम्बन्ध राम्रो नहुने उनीहरूको भनाइ छ । उनीहरूको अनुसार जीवन भनेको संघर्ष, भोगाइ र कर्म हो ।

जीवनमा अनेक दुःख, बाधा अवरोधहरू आइपर्छन् । ती दुःख, बाधा, अवरोधहरूलाई सहजताका साथ समाधान गर्ने सक्नु नै जीवन हो । जीवनमा दुःख नगर्ने व्यक्ति सफलतामा नपुग्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार जीवनसाथी भनेको हरेक सुख दुःखमा साथ दिने, जीवनको अन्त्यसम्म साथ दिने साथी हो । जीवनको हरेक दुखसुखमा अनि जीवनको अन्त्यसम्म साथ दिन्छ ऊ नै जीवनसाथी हो ।

तपाईको प्रतिक्रिया