डाक्टर बन्ने योजनाबाट उनी शिक्षण पेशामा होमिए

मानिसका धेरै सपना हुन्छन् । कतिपय देखेर र कतिपय सुनेर पनि सपनाहरु बुनिन्छन् । यहीक्रममा गन्तव्य पहिल्याउन कयौं अन्यौंलता उत्पन्न हुन्छ । रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ कैलदेउमा जन्मिएका छविलाल बोहराले सानैदेखि डाक्टर बन्ने लक्ष्य लिए । पढेर ठुलो मानिस हुने सपना बुने । तर परिस्थितिले उनलाई शिक्षण पेशामा रमाउनुपर्ने भयो । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै बोहरासँग भलाकुसारी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

 

छविलाल बोहरा

उपप्राध्यापक, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत

सामान्य बाल्यकाल

बुवा दलबहादुर बोहरा र आमा पूर्णकली बोहराको कोखबाट वि.स. २०४० साल पुष १९ गते रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ र साविकको स्याँलापाखा गाविस कैलदेउमा जन्मिएका छविलालको बाल्यकाल सामान्य थियो । सानैदेखि उनी मेहेनती थिए । परिश्रममा विश्वास गर्ने उनको स्वभाव थियो । लजालु स्वभावका उनी घरको कामसँगै पढाइलाई ध्यान दिन्थे ।

कक्षामा सधै प्रथम

उनले लक्ष्मी प्रावि कैलदेउमा कक्षा ५ सम्म पढे । त्यतीबेला ५ कक्षामा श्रोतकेन्द्र स्तरीय परीक्षा हुन्थ्यो । त्यो परीक्षामा श्रोतकेन्द्र भरको उनी प्रथम भए । त्यसपछि ६ कक्षादेखि उनले त्रिभुवन जनता मावि मुसिकोटमा पढे ।
उनले त्यही विद्यालयबाट २०५६ सालमा एसएलसी पास गरे ।

उनको ब्याजका धेरै विद्यार्थीहरु मध्ये उनीसहित चार जनाले मात्र एसएलसी पास गरेका थिए । उनी सधै कक्षामा प्रथम हुने भएको हुँदा उनको बुवाले डाक्टर पढाउने गरी तयारी गरेका थिए । तर देशमा चलेको शसस्त्र द्वन्द्धका कारण उनले बुवाको इच्छाअनुसारको डाक्टर पढ्न भने पाएनन ।

उनको गाउँबाट पढ्नको लागि भक्तपुर जाने गर्थे । उनलाई पनि त्यहीँ पढ्न पठाउने छविलालका बुवाको इच्छा थियो । तर देशको अवस्थाले उनको पढ्ने वातावरण भएन । उनी कक्षामा सधै प्रथम नै हुन्थे । हपढ्दै पढाउँदै उनी कक्षामा धेरै जेहेनदार थिए । सधै प्रथम हुने उनलाई गुरुहरुले साथीहरुलाई पढाउन लगाउँथे । डाक्टर बन्ने लक्ष्य लिएका उनलाई प्लस टू गर्ने वित्तिकै आफैले पढेको विद्यालयमा निजी स्रोतमा शिक्षकको रुपमा नियुक्त गरियो ।

उनी सुर्खेत क्याम्पस शिक्षामा विएडमा भर्ना भए । पढाइमा लगनशील र मेहनती उनलाई गाउँमै योगदान गर्नुपर्छ भनेर राहत शिक्षकको रुपमा राखियो । लामो समय पढ्दै पढाउँदै गरेका उनले २०६४ सालमा विएड पास गरे । उनले मास्टर्स २०६८ सालमा पास गरे । उनको सोचमा परिवर्तन भयो । उनले निजामति सेवामा लाग्ने भन्दै गाउँमा पढाउँदै गरेको विद्यालयबाट छोडेर आए ।

त्यसपछि उनले आफैले कमाउँदै पढ्दै गर्नुपर्यो भनेर लागे । सुर्खेतको चौरासे र इत्राममा स्कुलमा शिक्षक माग गरिएको थियो । उनले दर्खास्त दिए । दुईवटै विद्यालयको शिक्षकमा नाम निकाले । उनले चौरासेको विद्यालयमा २०६८ देखि पढाउन शुरु गरे । लगत्तै उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पढाउन शुरु गरे । अहिले उनी विश्वविद्यालयमा उपप्राध्यापकको रुपमा गणित विषय पढाइरहेका छन् ।

बुवालाई औंला देखाउँदा…

बोहरा रुकुमपश्चिमको गाउँमा जन्मिएका हुन् । उनले घरको घाँस र दाउरा काट्दै पढाइलाई निरन्तरता दिए । घरको आर्थिक अवस्था मध्यम खालको थियो । उनको बुवा राजनीति गर्दथे । उक्त वडाको उनी अध्यक्ष पनि थिए ।

त्यतिबेला पढेका व्यक्तिहरु भनेको शिक्षक नै हुने हो भन्ने सोच थियो । तर उनको बुवाको सोच अलिक फरक थियो । डाक्टर बनाउने उनको बुवाको सपना थियो । तर द्वन्द्धका कारण उनी शिक्षक हुन पुगे । बाल्यकालदेखि नै उनी अरुभन्दा फरक स्वभावका थिए । उनी खेल क्षेत्रमा पनि उत्तीकै रुची राख्थे । एकदिन उनले साथीहरुसँगै खेल्दा औँला काटियो । सहानुभुती पाउँला भनेर उनको बुवालाई औँला देखाए । तर उल्टै कुटाइ खानुपर्यो । उनी अहिले त्यो सम्झिन्छन् । उनको बाल्यकाल मध्यम तरिकाले नै वित्यो ।

परिवारको साथ

छविलाल घरको जेठो छोरा हुन् । उनका चार भाइबहिनीहरु थिए । सबैले पढाइलाई मेहनत गर्नुपर्छ भन्ने गर्थे । त्यसको कारण उनको बुवा थिए । बुवाले पढाइलाई पहिलो प्राथमिकता दिनुपर्छ भनेर भन्ने गर्थे ।
उनको आमाले पनि पढाइलाई नै चासो दिने गर्थिन् ।

सबै छोराछोरीलाई राम्रो शिक्षासँगै ठुलो मानिस बनाउने बुवाआमाको इच्छा थियो । त्यती मात्र नभएर उनका भाइहरुको साथ सपोर्ट पनि धेरै पाए उनले । भने उनकी जीवन संगिनीले पनि उनलाई सफल बनाउन महत्वपूर्ण साथ दिइन् । उनले पढाइलाई जसरी भए पनि निरन्तरता दिनुपर्ने सुझाव दिन्छन् ।

जीवनमा संघर्ष

उनले जीवनमा धेरै संघर्ष गर्नुपर्यो । उनको गाउँबाट पढ्न मुसिकोट जान आउन चार घण्टा हिँड्नुपर्थ्यो । आर्थिक रुपमा त्यती समस्या भोग्न नपरे पनि संघर्ष उनले धेरै गर्नुपर्यो ।

घरमा घाँस काट्ने, दाउरा काट्ने र गाईभैसीको गोभर फाल्ने काम छविले गर्नुपथ्र्यो । धान रोप्ने समयमा उनले जोत्ने र आलि लगाउने काम गर्थे ।  उनले जीवनमा धेरै संघर्ष गर्दै पढे । अहिले उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपप्राध्यापक भए । उनले जीवनलाई संघर्षमय बनाउन सके मात्र सफल हुन सकिने बताउछन् ।

आगामी योजना

करिव २० वर्षदेखी शिक्षण पेशामा कार्यरत उनी अहिले पनि त्यही पेशामा छन् । उनको भावी योजना भनेको शिक्षालाई परिवर्तन गरी सबै ग्रामीण क्षेत्रमा प्रविधियुक्त शिक्षा पुर्याउने छ ।
गरिबीका कारण शिक्षाको पहुँचमा नरहेका व्यक्तीहरुलाई सहयोग गर्ने उनको योजना छ । समग्रमा उनले शिक्षा क्षेत्रबाट नै समाज सेवा गर्ने योजना बनाएका छन् ।

तपाईको प्रतिक्रिया