‘बाजेको प्रेरणाले निजामति सेवामा आए’

 

हाल दैलेखको डुङ्गेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ललितकुमार थापा । २०४६ सालमा निजामति क्षेत्रमा प्रवेश गरेका उनी बाजेको प्रेरणाका कारण यो क्षेत्रमा आएका हुन् । बुवा इन्डियन आर्मी थिए । आर्मीमा आकर्षक सेवा सुविधा पनि थियो । इन्डियन आर्मी हुनका लागि ऊबेला पनि युवाहरु लालायित थिए । त्यो रहर उनलाई पनि नभएको होइन । तर बाजेको कारण उनी इन्डियन आर्मी हुन पाएनन् । बाजेले उनलाई सरकारी जागिर, त्यसमा पनि वकिल बनाउन चाहान्थे । वकिल बन्नकै लागि आइएल, वीएल पनि अध्ययन गरे । समयक्रमसँगै निजामति बने । तर वलिक बन्ने सपना भने अझै पुरा भएको छैन । अवकासपछि अधिवक्ता बन्ने उनको रहर छ । प्रस्तुत छ, उनै थापाको निजामति क्षेत्रको अनुभव र जीवन भोगाईमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

सुखद् बाल्यकाल
जीवनको सुरुवाती चरण अर्थात बाल्यकाल र बाल्यावस्था । हरेक व्यक्तिका लागि एक महत्वपूर्ण क्षण हो । जुन ठाउँमा हुर्किए पनि बाल्यकाल सबैको लागि यादगार हुन्छ । ललितको बाल्यकाल पनि उस्तै छ । बजार नकिकैको गाउँ र सम्पन्न परिवारमा हुर्किए । गाउँघरमा सामान्य मेलापात गर्ने पथ्र्याे ।

तर उनलाई मेलापात गर्नेपर्ने बाध्यता थिएन । हुन त उनी घरको जेठो छोरा थिए । तर जीवनमा आर्थिक अभाव भोग्नु परेन । कारण वुवा इन्डियन आर्मीमा थिए । आर्मीको आकर्षक तलव । परिवारका सबै आवश्यकता त्यहीबाट पूर्ति हुन्थ्यो । नारायण नगरपालिका–८ तर्ताङ दैलेखमा २०२५ साल पुस १५ गते उनको जन्म भएको हो । उनी आमा लक्ष्मदेवी र बुवा बलराम थापाका पहिलो छोरा र तेस्रो सन्तान हुन् ।

पढाइमा लगनशील
ललित पढाइमा सानैदेखि लगनशील थिए । यही लगनशीलताका कारण उनले पढाइमा कहिलै असफलता भोग्नु परेन । पढाइमा लगानशील बन्नुको पछाडिको कारक थिए, उनका हजुरबुवा (बाजे बखतबहादुर थापा) । ‘हजुरवुवा राजनीति गर्नुहुन्थ्यो’ उनी भन्छन्, ‘ मलाइ पढाएर वकिल बनाउने उहाँको चाहना थियो ।’ हजुरवुवाको यही प्रेरणाका कारण पढाइमा मेहनत गरे । पढाइप्रतिको लगावका कारण उनले १५ वर्षको उमेरमै एसएलसी पास गरे । त्रिभुवन माध्यमिक विद्यालयबाट खकरा सुरु गरेका उनले सोही स्कुलबाट २०४० सालमा एसएलसी पास गरेका हुन् ।

‘पढाइमा सानेदेखि तगडा (अब्बल) थिएँ’ उनी भन्छन्, ‘जमानामै १५ वर्षमा एलएलसी पास गरेँ ।’ एसएलसीपछि महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट आइएल र वीएल अध्ययन गरे । राजनीति शास्त्रमा शिक्षा क्याम्पस सुर्खेत र जनप्रशासन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहसम्मको पढाइ पुरा गरेका छन् ।

जहाज चढेर पढ्न जान्थे
२०४० सालतिर उच्च शिक्षाका लागि दैलेख र सुर्खेतमा क्याम्पसहरु थिएनन् । नेपालगञ्ज निकै टाढा थियो । दैलेखबाट हिँडेर हप्तादिनमा नेपालगञ्ज पुगिन्थ्यो । तर त्यो बेला सुर्खेत–नेपालगञ्ज जहाज चल्थे । उच्च शिक्षा पढ्न जहाज चढेर नेपालगञ्ज पुग्थे । सुर्खेत–नेपालगञ्ज नियमित चहाज चल्थ्यो । ७५ रुपैयाँ भाडा थियो । १५ बर्षको उमेर । दैलेखबाट हिँडेर नेपालगञ्ज पुग्न उनलाई निकै कठिन पथ्र्याे । जसकाकारण कहिलेकाँही उनी जहाज चढेर नेपालगञ्ज पुग्थे । बुवा इन्डियन आर्मी भएका कारण आर्थिक अभाव थिएन ।

अनि नेपालकै जागिर प्यारो बन्यो
ललितका बुवा इन्डियन आर्मी थिए । आकर्षक सेवा सुविधा थियो । अहिले पनि लाहुरे अर्थात इन्डियन आर्मीका प्रायः युवाहरु लालायित छन् । इन्डियन आर्मीले रुचाउने थर थापा । त्यसमाथि बुवा पनि आर्मी । यि सबै कारणले ललितलाई इन्डियन आर्मी हुन कुनै समस्या थिएन ।

तर उनलाई हजुरवुवाको आर्शिवादका कारण इन्डियन आर्मीभन्दा नेपालको जागिर नै प्यारो लाग्यो । ‘मलाइ इन्डियन आर्मी हुन कुनै समस्या थिएन, तर हजुरवुवाले नेपालमा जागिर गर्ने बाटो देखाउनुभयो’ उनी भन्छन्, ‘यही कारण मेरो लागि इन्डियन आर्मीभन्दा नेपालकै जागिर प्यारो बन्यो ।’ आफ्नै देशमा सेवा गर्नुपर्छ भन्ने भावनाका कारण उनले निजामति क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिले शिक्षक, अस्थायी जागिरसमेत गरेका थिए ।

आठसय तवल, दुईसय बचत
वकिल बन्न कानुन पढेका ललित २०४६ सालमा निजामति क्षेत्रमा प्रवेश गरे । ‘हजुरवुवाको चाहना सके वकिल नसके सरकारी जागिर खानुपर्छ भन्ने थियो’ उनी भन्छन्, ‘इन्टर सकिन वित्तिकै परीक्षा दिएको फ्याट्टै पास भए ।’ लोकसेवा पास भएपछि नेपालञ्ज खोनेपानी कार्यालय उनको पहिलो जागिरे थलो बन्यो । उनले विहान क्याम्पस र दिउँसो जागिर गरेर स्नातक तह पास गरेका हुन् । खानेपानी कार्यालयमा झण्डै आठ त्यही विताए ।

तर ऊ खरिदारको तलव आठसय ४० रुपैयाँ मात्रै थियो । ‘ त्यो बेलाको आठसय तलव पनि धेरै हो’ उनी भन्छन्, ‘तलबबाट सबै आवश्यकता पूरा भएर दुईसय बचत गर्थे ।’ ५०५४ सालको नायव सुम्बा उत्तीर्ण भए । जागिरको शिलसिलामा नेपालगञ्जसँगै उनले सल्यान, दाङ, धनगढी, नेपालगञ्ज, महेन्द्रनगर र दैलेखमा विताएका छन् । निजामति क्षेत्रमा ३१ वर्ष विताइ सकेका उनी हाल दैलेखको डुङ्गेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।

हजुरवुवा हिँडाएको बाटो…
ललितका हजुरवुवा बखतबहादुर थापा राजनीति गर्थे । २०१७/१८ सालसम्म उनी तत्कालीन बागखोर गाउँपञ्चालयतका उपप्रधान थिए । हजुरवुवा राजनीतिमा लागेका कारण पढाइ र सरकारी जागिरबारे राम्रो ज्ञान थियो । उपप्रधान हुँदा गाउँमा मुद्दा मामिलाहरु आइहरन्थे । त्यसबेला प्रधान तथा उपप्रधानहरुकै राजकाज थियो । न्याय उनीहरुकै हातमा भर पथ्र्याे । त्यहीबेला उनका हजुरवुवाले न्यायनिसाव गर्ने वकिलहरु शक्तिशाली व्यक्तिहरु हुन् भन्ने बुझेका थिए ।

त्यही बेलादेखि बखतले ललितलार्इ वकिल बनाउने सपना देखेका थिए । ‘हजुरबुवाले मलाइ वकिल बनाउन चाहानुहुन्थयो, तर म निजामति क्षेत्रमा आएँ’ ललित भन्छन्, ‘जागिर सकिएपछि हजुरवुवाका सपना पुरा गर्नेछु ।’ सानैदेखि हजुरवुवाले हिँडाएको बाटोमा हिँडेको भन्दै जागिर सकिएपछि वकालत गर्ने उनको चाहना छ । ‘जीवनभर हजुरबुवाकै बाटोलाई पन्छाएँ, उहाँकै कारणले यहाँसम्म आएँ’ उनी भन्छन्, ‘जागिर सकिएपछि अधिवत्ता बनेर वकालत गर्छु ।’ हजुरवुवाको मृत्यु भइसकेको भए पनि उनको सपनालाई पुरा गरेर छोड्ने ललितको अठोट छ । ‘सरकारी जागिर सकिन त अब ४/५ वर्ष मात्रै बाँकी छ’ उनी भन्छन्, ‘ अवकाशपछि अधिवक्ता बन्ने रहर छ ।’ निमुखा बर्गका पक्षमा वकालत गर्ने र हजुर वुवाले गरेको समाज सेवालाई निरन्तरता दिने उनको योजना छ । (२०७७ फागुन १६ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया