माटोको डिजिटल नक्सा तयार गर्ने एसियामै पहिलो बन्यो नेपाल

काठमाडौं, १४ फागुन ।

नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्व वा गुण देखाउनका लागि जीपीएमका माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो । 

उक्त नक्साको बुधबार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आयोजना गरेको एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गरे । मन्त्रालयका अनुसार देशैभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो । दक्षिण एसियाका अन्य देशका जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र यो प्रविधिबाट

माटोको नक्सा तयार गर्ने गरिन्छ । त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो । माटोको डिजिटल नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले माटोको जिडिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात

गरेको बताए । ‘माटोमा कुन पोषक तत्व छ, कुन पोषक तत्व छैन वा बढी छ । रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउनसक्छ’, उनले भने ।

किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्च सक्ने पनि प्रधानमन्त्रीले बताए । जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित

गरिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । त्यस अवसरमा बोल्दै कृषिमन्त्री पद्माकुमारी अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने तर्फ माटोको डिजिटल म्यापिङ महत्वपूर्ण फड्को भएको बताइन् । माटोको विद्युतीय

नक्सांकनमार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ ? कुन बालीको उत्पादन राम्रो हुन्छ ? कति मल प्रयोग गर्ने जस्ता जानकारी सहजै लिन सक्ने उनको भनाइ थियो । नक्सा कार्यान्वयनमा ल्याउदा कृषि

क्षेत्रमा ठूलो क्रान्ति गर्न सकिने उनको भनाइ थियो । देशभरबाट कुल २३ हजार दुई सय ७३ वटा माटोको नमूना परीक्षण गरी तयार गरिएको यो नक्सांकनले कृषकलाई सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रसायनिक पक्षबारे विस्तृत

जानकारी पाउनसक्छन् । नक्सांकन कार्यले किसानमात्र नभई नीति निर्माता, अनुसन्धान कर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्ता लाईसमेत माटो सम्बन्धी पूर्ण जानकारी दिनेछ । त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले दक्षिण एशियामै पहिलो पटक यस

प्रकारको प्रविधि प्रयोग नेपालमा ल्याइएको जानकारी दिए । माटो व्यवस्थापनको लागि उक्त डिजिटल नक्सा कोसेढुंगा साबित हुने समेत सचिवा कार्कीको भनाइ थियो

। यसैबीच नेपाल कृषि अनुसन्धान परिषद्का प्रमुख डा. दीपक भण्डारीले २१औँ शताब्दी प्रविधिमा नक्साको प्रयोग उदाहरणीय भएको बताए । नक्सालाई मोबाइल एपबाट पनि प्रयोगमा ल्याउने योजनामा रहेको समेत प्रमुख भण्डारीले जानकारी दिए

। कार्यक्रममा भिडियो सन्देशमार्फत नेपालका लागि युएसएडकी मिसन प्रमुख सेपिडे केभानसाडले नेपाललाई बधाई ज्ञापन गर्दै यस प्रकारका सहयोगको लागि युस एड सदैव साथ रहने बताइन् ।

तपाईको प्रतिक्रिया