रहर लाहुरे बन्ने थियो तर उनी शिक्षक बने

मक्कबहादुर बुढा
महासचिव, नेपाल शिक्षक संघ
कर्णाली प्रदेश, नेपाल

बाल्यकालदेखि बुनेका कतिपय योजना र भविष्यका सपनाहरु पुरा हुँदैनन् । भविष्यका योजनाहरु पुरा गर्न धेरै दुख, परिश्रम र मेहेनत गर्नुपर्छ । यस्तै मध्येका आफ्नो लक्ष्य पुरा गर्न संघर्षरत एक व्यक्ति हुन् मक्कबहादुर बुढा । उनका बुवा भारतीय सेनामा र हजुरबुवा बेलायती सेनामा भएका कारण बुढाको पनि बाल्यकालदेखि लाहुरे बन्ने रहर थियो । पारिवारिक वातावरणका कारण उनको मानसिकतामा नै लाहुरे बन्नुपर्छ भन्ने थियो । तर पछि उनी लाहुरे बन्न भने पाएनन् । कारण उनका बुवाले लाहुरे बन्न धेरै संघर्ष र दुख भोगेका कारण छोरालाई अन्य पेशामा लगाउने निर्णय गरे । बुवाको उक्त निर्णय नै उनको लागि अन्तिम निर्णय भयो । र उनी शिक्षक पेशामा होमिए । प्रस्तुत छ, आजको जम्कोभेटमा हाल नेपाल शिक्षक संघ कर्णालीका महासचिवसमेत रहेका बुढासँग सहकर्मी गीता थापाले गरेको कुराकानीको सारांश :

बाल्यकाल घरको काममा सहयोग
पिता दलबहादुर बुढा र माता नानी बुढाको कोखबाट वि.स. २०२८ सालमा जुम्लाको सिंजामा जन्मिएका मक्कबहादुर बुढाको बाल्यकाल रमाइलोसँग वित्यो । उनका बुवा भारतीय सेना थिए । हजुरबुवा वेलायतका लाहुरे थिए । यसले गर्दा पनि उनको बाल्यकाल रमाइलोसँग वित्यो । तर पनि गाउँमा जन्मिएका उनले घरमा आमालाई काममा भने सघाउने गर्थे ।

सानै उमेरदेखि घरको काम सबै सिकेका थिए । आमालाई खाना पकाउनसमेत उनले सहयोग गर्थे । जुम्लामा १२ महिना काम गरेर ६ महिना खान पुग्ने भएकाले उनले पनि घरका सबै काममा सघाउने गर्थे । पछि उनको परिवार २०३९ सालमा बाँकेमा बसाइसराइ गरेर आएपछि बुढाले सुखका दिन देख्न पाए । बाल्यकालमा उनी शालिन र गम्भीर स्वभावका थिए । साथीहरुसँग मिलनसार थिए । साथी बनाउने र खेल्न मन पराउँथे ।

स्नातकोत्तरसम्म पढाइ
उनको पढाइ कक्षा ४ सम्म जुम्लाको सिंजामा नै भयो । स्थानीय कोइलीचरी माविमा उनले कक्षा १ देखि कक्षा ४ सम्म पढेका हुन् । पछि उनको परिवार २०३९ सालमा जुम्लाबाट बसाइसराइ गरेर बाँके गए । बाँके गएपछि उनको बाँकी पढाइ बाँकेमै सुरु भयो । उनले बाँकेको जी गाउँमा कक्षा ५ देखि कक्षा ७ सम्म पढे ।

जनता मावि खजुरा बी गाउँ नेपालगञ्जमा फेरी उनले कक्षा ८ देखि एसएलसीसम्म उर्तिण गरे । २०४६ सालमा महेन्द्र बहुमुखी क्याम्पसबाट उनले कक्षा ११ र १२ उर्तिण गरेका हुन् । कक्षा १२ उर्तिण गरेपछि उनलाई शिक्षक बन्न रहर पलायो । शिक्षक बन्ने उद्देश्यले उनले त्यसपछिको वीएडको पढाइ जुम्लाबाट उर्तिण गरे । एमएड उनले नवलपरासी कावासोतीबाट गरेका हुन् ।

जागिरको सुरुवात
बुढाले २०५१ सालदेखि अस्थायी रुपमा शिक्षकको जागिर सुरु गरेका हुन् । उनले २०५२ सालमा शिक्षक सेवा आयोगमा नाम निकालेका थिए । तर राजनीतिक द्धन्द्धका कारण विभिन्न मुद्दाहरु लगाउने काम भएपछि उनलाई स्थायी हुन थिएनन् । तर पनि उनले शिक्षक पेशालाई छोडेनन् । पछि उनी आन्तरिकबाट स्थायी भए ।

अहिले उनी जुम्लाको रत्नचुलेश्वर मावि चन्दननाथमा अध्यापन गराउँदै आइरहेका छन् । उनी अहिले नेपाल शिक्षक संघ कर्णाली प्रदेशको महासचिव छन् । यसअघि उनी शिक्षक संघ जुम्लाको अध्यक्षको रुपमा पनि काम गरेका हुन् । उनले जुम्लामा १२ वर्षसम्म अध्यक्ष भएर काम गरेका हुन् । उनी शिक्षकसँगै जुम्लामा व्यवसाय पनि गर्छन् । व्यवसायमा उनलाई उनको घरपरिवारले साथ र सहयोग गरेका छन् । उनले कर्णालीका अर्गानिक चिजहरुको पहिचान गराउने उद्देश्यले उनले व्यवसाय सुरु गरेका हुन् । जङफुटको विगविगी भइरहेको समयमा उनले कर्णालीमा अर्गानिक खानेकुरालाई प्रोत्साहन गर्नु पर्छ भन्ने उद्देश्यले अर्गानिक चिजहरुको पहिचान गर्ने काम गरिरहेका छन् ।

बाल्यकालको योजना
उनका बुवा भारतीय सेनामा थिए । घरको पारिवारिक वातावरण लाहुरेको भएका कारण बुढालाई पनि बाल्यकालमा बुवा र हजुर बुवा जस्तै आर्मी नै बन्ने हो भन्ने सोच थियो । बाल्यकालमा बच्चाको दिमागमा पारिवारिक वातावरणको पनि असर पर्छ । जुन असर बुढालाई परेको थियो, की उनलाई पनि लाहुरे नै बन्ने रहर थियो । तर पछि उनका बुवाले आर्मी हुँदा आफुले दुख भोगेको भन्दै उनलाई अन्य पेशामा लाग्न सुझाव दिए । त्यसपछि उनी शिक्षक पेशामा लागे ।

भविष्यको योजना
शिक्षक पेशालाई निरन्तर रुपमा अगाडी बढाइरहेका बुढाले सुर्खेतको वीरेन्द्रनगर १६ मा अर्गानिक फर्मको स्थापना गरेका छन् । त्यहाँ उनले अर्गानिक चिजहरुको उत्पादन गर्ने गर्छन् । कर्णालीका अर्गानिक खानेकुराहरुको पहिचान गर्ने उद्देश्यले उनले उक्त फर्म सञ्चालन गरेका हुन् । आगामी दिनमा उनले उक्त फर्मलाई झन व्यवस्थित बनाउदै लैजाने योजना बनाएका छन् ।

यस्तै शिक्षक पेशा पछि उनको अर्का लक्ष्य भनेको आफ्नो आस्था रहेको पार्टीमा लागेर राजनीति रुपबाट सामाजिक काममा लाग्ने रहेको छ । समाजको सेवा पनि गर्ने र अर्गानिक चिजहरुको उत्पादन गर्ने र कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने उनको आगामी योजना रहेको छ ।

तपाईको प्रतिक्रिया