खस भाषामा पठनपाठन गराउने तयारीमा छौं : अध्यक्ष रावल

देवलसिंह रावल
अध्यक्ष, सिंजा गाउँपालिका, जुम्ला

कर्णाली प्रदेशका १० जिल्ला मध्येको एउटा जिल्ला हो जुम्ला । जुम्लाको सिंजा गाउँपालिकालाई खस भाषाको उद्गमस्थल पनि मान्ने गरिन्छ । चारैतिर पहाडले घेरिएको र बिचमा सानो उपत्यका रहेको यस सिंजा गाउँपालिकामा हिम नदीको दृश्य अवलोकन गर्न सकिन्छ । विभिन्न किसिमका जडिबुटी र दुर्लभ जनावर पनि यसै गाउँपालिकामा पाइन्छन् । यो गाउँपालिकामा ६ वटा वडाहरु रहेका छन् । गाउँपालिकामा जनप्रतिनिधि आएपछि यो अवधिमा सिंजा गाउँपालिकामा के कस्ता विकास निर्माण र परिवर्तन भए त ? जनताको अपेक्षाअनुसार काम भए त ? यीनै विषयवस्तुमा केन्द्रित रहेर हाम्रा सहकर्मी टेकराज केसीले जुम्लाको सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंश :

हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?
म अहिले जनताकै काममा व्यवस्त छु । जनताका आवश्यकता के छन् ? जनता के चाहान्छन् ? म उनीहरुकै समस्या बुझ्ने र समाधानको लागि प्रयास गर्ने काममा नै व्यस्त छु ।

तपाइँ निर्वाचित भएयता गाउँपालिकामा के परिवर्तन भयो त ?
सिंजा गाउँपालिकामा ६ वटा वडाहरु छन् । म निर्वाचित हुनुभन्दा अगाडी कुनै पनी वडामा सडक सञ्जाल पुगेको थिएन । अहिले सबै वडासम्म सडक सञ्जाल पुर्याइएको छ । ३३ वटै गाउँमा अहिले मोटरबाटो पुगेको छ । १० वटा गाउँमा वायुउर्जाबाट विद्युत निकालिएको छ । कृषि उत्पादन बढाउन हामीले विभिन्न कार्यक्रमहरु संचालन गरेका छौं । जसअन्तरगत एउटा रैथाने बाली संरक्षण पनि हो । एउटा पक्की पुलको लागि टेण्डर गरिएको छ । शिक्षा, र स्वास्थ्यमा पनि धेरै परिवर्तन गर्न सकेका छौं । म निर्वाचित भइसकेपछि विकासमा धेरै परिवर्तन भएको छ ।

पछाडी पारिएको बर्ग र समुदायको क्षेत्रमा के काम गर्नुभएको छ ?
महिला, बालबालिका र दलित समुदाय पछाडी परेको अवस्था छ । उनीहरुलाई अगाडी ल्याउन लक्षित कार्यक्रमहरु संचालन गरिएको छ । विभिन्न सीपमुलक तालिमहरु संचालन गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरी उनीहरुका लागि विभिन्न सीपहरु सिकाउने कामसँगै अपाङ्गमैत्री बजेट हामीले बनाएका छौं ।

गाउँपालिकामा समृद्धिका सम्भावना र आधारहरु के–के हुन् ?
वास्तवमा भन्ने हो भने सिंजा गाउँपालिका सम्भावना बोकेको गाउँपालिका हो । नेपाली भाषाको इतिहास बोकेको ठाउँ पजि हो । यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सक्ने हो भने समृद्धि हासिल गर्न समय कुर्नुपर्दैन । त्यही अनुसार हामीले विभिन्न कामहरु पनि गरिरहेका छांै । यहाँको पर्यटन विकासका लागि खस संग्रहालय निर्माण गरिरहेका छौं । अर्को समृद्धिको आधार भनेको कृषि हो । सिंजा क्षेत्र कृषिको लागि राम्रो मानिन्छ । त्यस क्षेत्रमा पनि हामीले लगानी बढाइरहेका छांै ।


त्यसका साथै स्वास्थ्य क्षेत्रमा सबै नागरिकलाई पुर्याउने योजना छ । शिक्षाको गुणस्तर सुधार गर्दै खस भाषा जोगाउन स्थानीय पाठ्यक्रम निर्माण गरी केही दिनमा पठनपाठन गर्ने तयारी गरेका छांै । नेपाली भाषाको इतिहास बोकेको खस भाषा पछिल्लो पुस्ताले बिर्सर्दै गएपछि हामीले यो भाषा जोगाउन पाठ्यक्रममा नै समावेश गर्न खोजेका छौं । अब यही महिनादेखि खस भाषाको पठपाठन शुरु गराउँदै छौं । मलाइ के लाग्छ भने नेपाली भाषाको इतिहास बोकेको यो भाषालाई राष्ट्रिय पाठ्यक्रममा पनि राखिनुपर्छ । जसले हाम्रो नेपाली भाषाको संरक्षणमा सहयोग पुग्छ ।

विकासका काम गर्दा के कस्ता चुनौती आउँछन् ?
पहिलो बर्ष त हाम्रो सिकाईमै सकियो । त्यसपछिका बर्षहरुलाई हामीले आफुहरुको ध्यान विकासमा केन्द्रीत गयौँ । तर सबै क्षेत्रमा हुने राजनीतिक खिचातानीले विकासमा चुनौती देखेँ मैले । हाम्रो भौगोलिक अवस्थाले भने विकासमा चुनौती थपिदिएको छ । विकास गर्न भुगोल पनि मिल्नु पर्दो रहेछ ।

गाउँपालिकामा मुख्य समस्या के छन् ?
मैले अघि भने, एउटा पुल बनाउन १० करोड लाग्छ । त्यती पैसा गाउँपालिकामा हुँदैन । अर्को कुरा भौगोलिक रुपमा विकट रहेको पालिकामा विकास निर्माणको काम गर्न सानोतिनो रकमले हुँदैन । गाउँपालिकासँग विकास बजेट भनेको १२ करोड जति हुन्छ । त्यसैले सबैभन्दा ठुलो समस्या भनेको बजेट अभाव नै हो ।

संघ, प्रदेश र स्थानीय तहसँग कसरी समन्वय गर्नुभएको छ ?
गाउँपालिकाको तर्फबाट मैले त समन्वय गरिरहेको छु । तर केन्द्र, प्रदेशसँग समन्वय गर्न कहाँनिर अफ्ठेरो हुँदो रहेछ भने फरक–फरक पार्टीको सरकार भएको ठाउँमा समस्या हुँदो रहेछ । अहिले मलाइ त्यस्तै भइरहेको छ । यो तल स्थानीय सरकारदेखि केन्द्रसम्म एउटै पार्टीको सरकार भएको खण्डमा समन्वय गर्न सहज हुँदो रहेछ भन्ने मलाइ लाग्छ ।

युवालाई गाउँमै रोजगारी दिन के योजना बनाउनु भएको छ ?
हामीले युवाहरुलाई कृषि र विकास निर्माणको काममार्फत रोजगारी दिनेगरी योजना बनाएका छौं । केन्द्र सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम र प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रममा जोडेर हामीले धेरै युवाहरुलाई रोजगारी दिने योजना बनाएका छौं । त्यसको अलवा गाउँपालिकाको तर्फबाट पनि कृषि क्षेत्रमा युवाहरुलाई आकर्षित गर्नेगरी योजनाहरु बनाइएको छ । विशेषगरी फलफुल खेतीसँगै पशुपालन व्यवसाय गर्ने युवाहरुलाई हामी प्रोत्साहित गर्ने योजना छ । यसको उद्देश्य भनेको युवाहरुलाई कृषि र पशुपालन व्यवसायमा आकर्षित गर्नु हो । (२०७७ फागुन १२ गते बुधबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार