राजेश दाइलाई ‘सरप्राइज’ दिनु छ

सागर लम्साल (बले) कलाकार

राजेश हमालले भनेको ‘ठूलो मान्छे बन्नू’ शब्दावलीले सागरको दिमागमा गहिरो असर पा¥यो । उनले त्यो बेला ठूलो मान्छे बन्न ‘हिरो’ बन्नुपर्ने भन्ने सोचे । उनले आफ्नो लक्ष्य नै हिरो बन्ने राखे । कक्षा ५ मा पढ्दै गर्दा शिक्षकले सबैलाई प्रश्न सोधे, ‘तिमीहरूको जीवनको लक्ष्य के हो ?’ धेरैले डाक्टर, इन्जिनियर, पाइलट बन्ने लक्ष्य सुनाए । त्यही भिडबाट सागरले आफ्नो हिरो बन्ने लक्ष्य भएको बताए । बालाजुको खुला चौर, जहाँ एउटा चलचित्रको गीतको छायाङ्कन चलिरहेको थियो । चारैतिर दर्शकको भिड थामी नसक्नु नै थियो । त्यो भिड देखेपछि पारिवारिक पिकनिकका लागि त्यहाँ पुगेका १० वर्षीय बालक दौडिँदै त्यो हुलमा पुगे ।

सानो भएकाले लुसुक्क भिडको अगाडिसम्म पुग्न सफल भए ती बालक । भिडको अग्रपंक्तिमा पुग्नासाथ उनले अभिनेत्री नाचिरहेको देख्छन् । त्यहीँ छेवैको कुर्सीमा विन्दास बसिरेहका थिए, अभिनेता राजेश हमाल । राजेशलाई देखेपछि ती बालक जोडले चिच्याए, ‘राजेश हमाल !’ हातमा सिंगो चुरोट घुमाउँदै एकोहोरिएका राजेशको ध्यान ती बालकतिर मोडियो । राजेशलाई छुन मरिहत्ते गरिरहेको त्यो भिडबाट राजेशले ती बालकलाई आफ्नो छेवैमा बोलाए । बालक दौडिँदै राजेश हमालको छेउमा पुगे । राजेशले अंग्रेजीमा नाम र पढाइ सोधे । बालकले पनि उच्च मनोबलका साथ अंग्रेजीमा नै उत्तर फर्काए ।

बालकले प्रश्न गरे, ‘दाइ, तपाईंले यो चुरोट किन नसल्काई घुमाइरहनुभएको ?’ राजेशले उत्तर फर्काए, ‘बाबू, यो चुरोट घुमाउनु शान हो तर यसलाई सल्काउनु मूर्खता हो ।’ राजेशको ‘टेक’ दिने समय भयो । ती बालकलाई सम्झाउँदै राजेशले भने, ‘बाबू, ठूलो मान्छे बन्नू है !’ राजेश हमालबाट ठूलो मान्छे बन्ने आशीर्वाद पाएका ती १० वर्षीय बालक थिए, सागर लम्साल ‘बले’, जो अहिले पनि राजेश हमालले भनेको जस्तै ठूलो मान्छे बन्न कलाकारिता क्षेत्रमा नै सङ्घर्ष गरिरहेका छन् । राजेश हमालले भनेको ‘ठूलो मान्छे बन्नू’ शब्दावलीले सागरको दिमागमा गहिरो असर पा¥यो । उनले त्यो बेला ठूलो मान्छे बन्न ‘हिरो’ बन्नुपर्ने भन्ने सोचे । उनले आफ्नो लक्ष्य नै हिरो बन्ने राखे । कक्षा ५ मा पढ्दै गर्दा शिक्षकले सबैलाई प्रश्न सोधे, ‘तिमीहरूको जीवनको लक्ष्य के हो ?’ धेरैले डाक्टर, इन्जिनियर, पाइलट बन्ने लक्ष्य सुनाए । त्यही भिडबाट सागरले आफ्नो हिरो बन्ने लक्ष्य भएको बताए ।

सागरको हिरो बन्ने लक्ष्यलाई शिक्षकले स्वीकारेनन् । त्यो समय शिक्षकले भनेका थिए, ‘सागर, हिरो बन्नु रहर हो । यसलाई तिमीले आफ्नो कर्म बनाउन सक्दैनौ ।’ तर, उनले शिक्षकको कुरालाई मतलब गरेनन् । उनले ‘राजेश दाइ’लाई नै सम्झिए । सागरले एसएलसी पूरा गरे, प्लस टू पनि सके । त्यो बेला प्लस टू पछि धेरै जना विदेश जान्थे । सागरले पनि विदेश जाने सोच बनाए ।

दाजु अमेरिका थिए, बुबा युरोपमा । उनले दाजुसँग नगएर बुबासँगै जाने सोचेर स्पेनका लागि भिसा प्रयास गरे । स्पेनका लागि नेपालमा दूतावास नभएकाले उनी भारत पुगे । भारतमा सागरले आफ्ना साथीहरू चार्टर्ड एकाउन्टेन्ट (सीए) पढ्दै गरेको भेटे । उनलाई कताकता ‘सीए’ पढ्ने रहर जागिसकेको थियो । त्यसमाथि स्पेनले भिसा नदिएको सूचना पाए । घरमा सल्लाह गरेर सागर ‘सीए’ पढ्न भारत हानिए । त्यहाँ पुगेर उनले सीएको फाउण्डेसन कोर्स सुरु गरे ।

त्यहाँ पुगेको केही समयमा नै उनलाई सोच आयो, ‘अब आफ्नालागि आफैँ केही गर्नुपर्छ । बुबाआमाको पैसा धेरै मास्नुहुँदैन ।’ त्यसबेलासम्म सागरले राजेश दाइको भनाइ बिर्सिसकेका थिए । हिरो बन्ने सपना पनि मारिसकेका थिए । एक दिन छुट्टीमा भारतमा नै रहेका आफ्ना काकालाई भेट्न पुगे । काकाले भने, ‘सागर, जिन्दगीमा पैसा सबथोक होइन । तिमी ठूलो मान्छे बन्नुपर्छ ।’ काकाको यो भनाइले सागरलाई राजेश हमालको याद दिलायो । उनमा पुनः हिरो बन्ने भुत जाग्यो । अब उनी थिएटरको खोजीमा लागे । केही समय थिएटर पनि भेटेनन् । धेरै पछि एउटा थिएटर पत्तो लाग्यो । तर, त्यो थिएटर सागर बस्ने ठाउँबाट धेरै टाढा थियो । त्यसैले उनी त्यहाँ पुगेनन् ।अब सागरमा एउटा सोच पलायो, ‘म नेपालमै गएर थिएटर गर्छु । अहिलेलाई काम गर्दै पढ्छु ।’

सागरले त्यहाँको ‘बिग बजार’ अर्थात् सुपर मार्टमा क्यासियरको जागिर पनि पाए । फाउण्डेसन कोर्स सकेपछि उनले बीकम गर्ने सोच बनाए । त्यहाँको म्यानेजर हुनलाई बीकम पास हुनुपर्ने थियो । त्यसैले बीकम गर्ने सोच बनाएर दिल्ली युनिभर्सिटी पुगे उनी । तर, त्यहाँ भर्ना हुने कसरी उनलाई पत्तो भएन । त्यो समय उनले आफ्ना काकाले भनेको सम्झिए, ‘पैसा सबथोक होइन । ठूलो मान्छे बन्नुपर्छ ।’ उनको दिमागमा पुनः राजेश दाइको अनुहार घुम्न थाल्यो । हिरो बन्ने भुत पुनः चढ्यो । उनले नेपाल फर्किने सोच बनाए । तर, सीए पढ्न गएको छोरालाई सजिलै घर फर्किन सक्ने अवस्था भने भएन । त्यसैले सागरले आफूलाई ‘जन्डिस’ लागेको वहाना बनाए र नेपाल फर्किए । नेपाल आएपछि सागरलाई साँच्चिकै जन्डिस देखियो ।

उनी सम्झिन्छन्, ‘आँखा केही पहेँलो भएको थियो र वहाना बनाएर नेपाल फर्किएको तर साँच्चिकै जन्डिस भएको पनि रहेछ ।’ वहाना जे भए पनि सागरको नेपाल फर्किनुको मुख्य उद्देश्य भने हिरो बन्नु नै थियो । नेपाल आएपछि सागरले बीबीएस पढ्न सुरु गरे । तर, उनी कलेज जाँदैनथे । दिनभर फुर्सद हुने भएकाले उनले जागिर खोज्न थाले । त्यो समय लाजिम्पाटमा नयाँ सुपरमार्ट सुरु हुन लागेको थियो । त्यहाँ सागरले जागिरको प्रस्ताव राखे । अन्तर्वार्ताबाट उनी छनोट पनि भए ।

सागर भन्छन्, ‘मेरो भारतमा काम गरेको अनुभवले पनि मैले त्यहाँ काम पाएँ । उहाँहरूले मलाई क्यासियर वा सेल्सम्यानको अफर दिनुभएको थियो । मैले काम सिक्ने भनेर सेल्समा काम गरेँ ।’ उनी चामल डिपार्टमा थिए । काम सुरु गरेको २ महिना बित्दै थियो । त्यहाँ एउटी बुढी आमा आइपुगिन् । सागरले नै चामल छनोट गरिदिए । आमाले पैसा तिरेपछि चामल पु¥याइिदिन आग्रह गरिन् । त्यहाँ त्यो सुविधा थिएन । तर, बुढी आमैको माया र एकछिन ‘फ्रेस’ हुने स्वार्थले उनी चामल बोकेर सुपरमार्टबाट नजिकै रहेको आमैको घरको गेटमा पुगे ।

चामलको बोरा बिसाएपछि ती बुढी आमैले ५ रुपैयाँका ३ वटा नोट सगरलाई थमाइन् । सागरले इन्कार गर्दा पनि ती आमैले जबर्जस्ती सागरलाई १५ रुपैयाँ दिइन् । त्यो पैसा हातमा समातेर सागर रुँदै मार्केट फर्किए । त्यो बेला सागरले सम्झिएका थिए, ‘आखिर मेरो सपना त यो होइन नि ! मलाई त ठूलो मान्छे बन्नु छ । मेरो परिवारले पनि ममाथि देख्नुभएको सपना यो होइन । म कहाँ अड्किएको छु ?’ त्यो घटना भएको भोलिपल्ट नै सागरले त्यहाँको जागिर छाडे । सागर भन्छन्, ‘ती आमाले दिनुभएको ३ वटा ५ का नोटले पुनः मलाई ठूलो मान्छे बन्ने सपना सम्झायो । उहाँको कारण म पुनः ठूलो मान्छे बन्न सङ्घर्ष सुरु गरे । मेरो जीवन सम्झाउने ती आमाले दिनुभएको नोट अझै मसँग सुरक्षित नै छ ।’ सागरले त्यो समय पनि चलचित्रमा काम गर्ने सोच नबनाएका भने होइनन् ।

तर, उनलाई कसले चिन्ने ? कसले चलचित्र खेलाउने ? अन्योल भएपछि उनी पुनः अर्को पेसा रोज्न बाध्य हुन्थे । सागरले पुनः विदेश जाने सोच बनाए । ‘ आईएलटीएस’ गर्ने सोचसहित केही पैसा बेकेर उनी पुतलीसडकमा रहेको एउटा ‘ इस्न्टिच्युट’ पुग्दै थिए । पुतलीसडकमा नै ‘होल मोडलिङ इन्स्टिचयुट’ देखे । उनले ठूलो स्वास फेरे, ‘हो, मेरो सपनाको बाटो त यहाँ पो रहेछ !’ सागर त्यहाँ छिरे र ‘आईएलटीएस’ गर्नलाई बोकेको पैसा सबै त्यहीँ तिरे । भोलिदेखि नै उनको ¥याम्पमा हिँड्ने काम सुरु भइहाल्यो । केही दिनको अभ्यासपछि उनले त्यहाँ भविष्य नभएको बुझे । सागर भन्छन्, ‘त्यहाँ त राम्रो र स्थापित मोडलले मात्र पैसा पाउने रहेछन् ।

हाम्रो त्यहाँ काम रहनेछ ।’ त्यहीँ मोडलिङ सिक्ने केही साथीहरूले वीरेन्द्र हमालसँग थिएटर सिकिरहेको सागरले सुइँको पाए । उनले भारत हुँदा नै देखेको सपना अब पूरा गर्ने सोच जाग्यो । तर, पैसा २५ हजार रुपैयाँ लाग्ने सुनेपछि उनी हच्किए । घरमा आमालाई फकाएर उनले ५ हजार रुपैयाँ फुत्काए । त्यही ५ हजार रुपैयाँमा अभिनय सिक्नलाई वीरेन्द्र सरलाई फकाउने विश्वासले उनी बत्तीसपुतलीमा रहेको वीरेन्द्र हमालको थिएटरमा पुगे । आखिर, अरू सबैले २५ हजार रुपैयाँ तिरेर गरिरहेको ३ महिनाको कोर्स सागरले ५ हजार रुपैयाँमा नै गर्न पाए । सागरले वीरेन्द्रलाई भेट्नेवित्तिकै भनेका थिए, ‘मैले जहाँ गएर अभिनय गरे पनि वीरेन्द्र हमालको चेला हो भन्छन् । लौ न सर, मलाई तपाईंको चेला बनाउनुप¥यो ।’ सागरले आफ्नो दुःखको बनावटी कहानी सुनाएर पनि वीरेन्द्रलाई फकाएका थिए । सागरको दिनचर्या थिएटरमा बित्न थाल्यो । वीरेन्द्रले पनि सागरलाई रुचाउन थाले । सागर भन्छन्, ‘५ हजारमा ३ महिना होइन, मैले २ वर्ष अभिनय सिक्न पाएँ ।’ (शिलापत्र)

तपाईको प्रतिक्रिया