हुम्ला८ फागुन ।
हुम्लाको खार्पुनाथस्थित एक विद्यालयको खाली जग्गामा आयआर्जन गर्नका लागि विद्यार्थी र शिक्षक मिलेर स्याउ तथा ओखरका बोट लगाएका छन् । स्याउ र ओखर दुवैबाट राम्रो आम्दानी हुने देखिएपछि विद्यालयले फलफुलका बिरुवा लगाउने नीति नै बनाएर आम्दानीको श्रोत बढाउन बिरुवा लगाइएको हो ।
खार्पुनाथ गाउँपालिकाको मान्धारा माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा बिपना शाहीले विद्यालयको आम्दानीको श्रोत जुटाउनका लागि स्याउ तथा ओखरका बोट लगाउने कार्य भएको बताइन् । उनले तत्काल फाइदा नभए पनि चारदेखि पाँच वर्षभित्र बोट फल्न थालेपछि विद्यालयलाई आम्दानी हुने जनाइन् ।
एक बोट स्याउ तथ ओखरको रेखदेख तथा हुर्काउने र पानी हाल्ने जिम्मा उनको रहेको छ । यसअघि गाउँपालिकाको बजेटबाट घेरबार भएको विद्यालयका खाली बाँझो जग्गामा एक सय बोट स्याउ तथा ओखर लगाइएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले जानकारी दिए ।
ओखर र स्याउको विद्यालयमा फर्म नै बनाएर आम्दानीको श्रोत बढाउने लक्षका साथ बिरुवा लगाउने कार्य सुरु गरिएको हो। विद्यार्थीहरुलाई बिरुवाको रेखदेख र पानी हाल्ने जिम्मा लगाइएको छ ।
युग संवाददाता । । ८ फाल्गुन २०७७, शनिबार ०८:०९