जुम्लामा स्थानीय र प्रहरीबीच झडप

जुम्ला, ८ फागुन ।

प्रहरीको कुटाइबाट स्थानीय बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय जुम्लामा लोडफोड गरेका छन् । आन्दोलनकारीको ढुङगामुडा प्रहारबाट प्रहरीको गाडी र महिला सेलको झ्यालका सिसा तोडफोड भएका छन् । आन्दोलनकारी र प्रहरीबीच झड हुँदा खलंगा तनावग्रस्त बनेको छ। 

प्रहरीले भीड तितरवितर गर्न लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । झडपमा केही आन्दोलनकारी घाइते भएको प्रहरीले जनाएको छ। गुठिचौर गाउँपालिका–३ का १४ वर्षीय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । बुढासहित उनका सात जना साथीहरु माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।

उनीहरुलाई मोबाइल चोरीको आरोपमा प्रहरीले सामान्य सोधपुछ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । ‘छलफल र सोधपुछ पछि उनलाई छोडिएको हो’ काफ्लेले भने,‘मृतकका आफन्तले भने प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै प्रहरी कार्यालयमा नाराजुलुस सहित ढुङगामुडा गरे।’ फागुन ४ गते बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएकोमा ५ गते मृत्यु भएको थियो ।

आफन्तले खुटामा चोट लागेर सुन्निएको अवस्थामा उपचारका लागि अस्पताल ल्याएको बताएका छन् । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक अनुपमंगल समालले ओपिडिमा उपचार गर्न ल्याइएका बुढाको अवस्था नाजुक भएपछि आईसियूमा राखेर उपचार थालिएको बताए ।

तपाईको प्रतिक्रिया