अपराध मुगुमा, जेल जुम्ला र बर्दियामा

मुगु, ६ फागुन ।

हिमाली जिल्ला मुगुमा कारागार भवन हुँदा पनि यहाँका थुनुवा कैदीलाई छिमेकी जुम्ला स्थानान्तरण गर्ने गरिएको छ । भवन निर्माण सम्पन्न भइसक्दा पनि सहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार कार्यालय मुगुलाई हस्तान्तरण नगर्दा यहाँका कैदी जुम्ला स्थानान्तरण गरिँदै आएको हो । कारागार कार्यालय मुगुका अनुसार कार्यालय सञ्चालन भवन, महिला बन्दीगृह, ब्यारेक भवन १ मंसिर २०७० मा भवन निर्माणको सम्झौता गरेर ३० मंसिर २०७२ भित्र सम्पन्न हुनुपर्ने थियो । सम्झौताअनुसार भवन निर्माण भएर सहरी डिभिजनलाई बुझाइए पनि कार्यालयले जिल्ला कारागार मुगुलाई हस्तान्तरण नगर्दा कैदीबन्दीलाई अन्यत्र लैजानुपर्ने अवस्था छ । 

कैदीबन्दी राख्ने कार्यालय प्रयोगमा नहुँदा मुगुमा विभिन्न प्रकृतिका घटनामा संलग्नलाई पुर्पक्ष तथा जेल चलानका लागि जुम्ला, बर्दिया, दैलेख र अन्य जिल्लाका कारागारमा चलान गरिँदै आएको छ । आशीष कन्स्ट्रक्सन गाँडेखोला डडेल्धुराको कम्पनीले कारागार भवन निर्माणका लागि ३ करोड ५० लाख ३६ हजार ६ सय २८ रुपैयाँमा ठेक्का लिएको थियो । सम्झौताअनुसार काम गरेर सहरी भवन डिभिजन कार्यालय जुम्लालाई हस्तान्तरण गरिसकिएको कम्पनीका मुगु प्रतिनिधि कर्णबहादुर रावलले बताए । भवन निर्माण सम्पन्न भइसके पनि हालसम्म हस्तान्तरण नहुँदा एक ठाउँबाट अर्को ठाउँ कार्यालय सार्न नसकिएको मुगु कारागारका प्रमुख दत्त लामाले जानकारी दिए ।

‘भवन निर्माण भइसकेको छ । यहाँका कैदी बन्दीलाई राख्न भवन डिभिजन कार्यालय जुम्लालाई बारम्वार ताकेता गर्दा पनि सुनुवाइ भएको छैन’, कार्यालय प्रमुख लामाले भने । कैदी स्थानान्तर गर्दा लाखौँ स्वाहा कारागार कार्यालय मुगुका अनुसार यहाँबाट जुम्लासम्म कैदीलाई पु¥याउँदा एक जना व्यक्तिलाई ८५ हजारदेखि १ लाख रुपैयाँसम्म रकम खर्चिनुपर्छ । मुगुबाट कैदी लाई जुम्लासम्म लैजाँदा खाना, नास्ता, बास, सुरक्षाकर्मीलगायत आवश्यक पर्ने हुँदा यो रकम खर्च लाग्ने गरेको कार्यालय प्रमुख लामाले बताए । उनले भने, ‘निर्माण सम्पन्न भएको भवन कारागार कार्यालय मुगुलाई हस्तान्तरण गरिदिएको भए राज्यको ठूलो रकम खर्च हँुदैन थियो । 

’ ८ वर्षमा ९९ कैदी, महिला ७ जना जिल्ला कारागार मुगुको तथ्यांकअनुसार २०७० देखि हालसम्म विभिन्न प्रकृतिका कैदीबन्दीलाई मुगुमा कैदीबन्दी गृह नहुँदा ७ महिला र ९२ पुरुष गरी ९९ जनालाई जुम्लालगायत अन्य जिल्लाका कारागारमा चलानी गरिएको छ । सहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार शाखा कार्यालय मुगुका लागि महिला बन्दीगृह, सुरक्षा भवन र कार्यालय प्रयोजनका लागि भवन निर्माण भइसकेको छ । कार्यालय घेराबार र सुरक्षा चेकपोस्टका लागि बजेट अभाव नहुने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले बताए । हाल निर्माण भएका भवन कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि प्रयोजनमा ल्याइएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया