गाउँपालिका अध्यक्षले लगाए विद्यालयमा ताला

कालिकोट, ५ फागुन ।

पलाँता गाउँपालिका–१ खाडाजय खोलास्थित गणेश आधारभूत विद्यालयमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले ताला लगाएका छन् । गाउँपालिका अध्यक्षले आफूले बनाएको भवनमा विद्यार्थी पढाएको भन्दै ताला लगाएका हुन् । चालू आवमा गाउँपालिका अध्यक्षले १५ लाखमा विद्यालयमा दुईकोठे भवन निर्माण गरेको वडा अध्यक्ष मानबहादुर भण्डारीले बताए । उनका अनुसार त्यो भवन गाउँपालिका अध्यक्षले आफ्नो निजी रकमबाट बनाएको थिए ।   

‘म काठमाडौंमा दिदीको उपचार छु । विद्यालयमा ताला लगाएको भर्खर खबर पाएँ,’ उनले भने, ‘यो विषयमा अध्यक्षसँग सम्पर्क गर्दा मेरो सम्पर्क हुन सकेन ।’ विद्यालयका दुइटा कक्षा कोठामा गाउँपालिका अध्यक्षले ताला लगाएको प्रधानाध्यापक सर्पानन्द न्यौपानेले बताए । ‘मेलै बनाएको विद्यालयमा भवनमा पढाउन पाइँदैन भनेर ताला लगाएर जानुभयो,’ उनले भने, ‘शिक्षाजस्तो क्षेत्रमा उहाँले ताला किन लगाउनुभयो हामीले बुझ्न सकेका छैनौँ ।’

विद्यालयमा १ देखि ८ कक्षासम्म अध्ययन हुने गरेको र ४९१ जना विद्यार्थी पढिरहेको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा कार्यवाहक अध्यक्ष मनप्रसाद न्यौपानेले बताए । ‘विद्यालयमा आज (३ फागुन) देखि परीक्षा संचालन गर्ने तयारी थियो,’ उनले भने, ‘गाउँपालिका अध्यक्षले नै ताला लगाएपछि परीक्षा संचालनमा समस्या भएको छ ।

’ गाउँपालिका अध्यक्षले विद्यालयमा ताला लगाएको विषयमा जिल्ला शिक्षा समन्वय इकाई, गाउँ शिक्षा समिति र गाउँपालिका उपाध्यक्षसमेतलाई जानकारी गरिएको प्रधानाध्यापक न्यौपानेले बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीले कक्षा कोठाभित्र बसिरहेका बेला कक्षाबाट बाहिर बोलाएर ताला लगाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया