कर्णालीमा थप बीस हजारलाई कोरोनाविरुद्धको खोप लगाइँदै

सुर्खेत,३ फागुन ।

कर्णाली प्रदेशमा आजदेखि (आइतबार) दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ । झण्डै २० हजार व्यक्तिलाई खोप लगाइने उद्देश्यले दोस्रो चरणमा अभियान सुरु हुन लागेको हो । आजदेखि कर्णाली प्रदेशभर तोकिएका खोप केन्द्रबाट खोप अभियान सुरु हुनेछ । खोप केन्द्रहरु सम्बन्धित जिल्लाले आवश्यकताका आधारमा निर्धारण गर्नेछ । जसमध्ये सुर्खेतमा आज नै लेकबेशी नगरपालिका र प्रदेश अस्पतालबाट दोस्रो चरणको खोप अभियान सुरु गरिने छ । लेकबेशी नगरपालिकामा तोकिएका व्यक्तिहरुले आज नै खोप लगाइ सक्नुपर्ने छ भने प्रदेश अस्पतालमा ८ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । प्रदेश अस्पतालमा वीरेन्द्रनगर र बराहताल गाउँपालिकाका तोकीएका व्यक्तिले मात्रै खोप पाउनेछन् । ‘दोस्रो चरणमा खोप अभियान आइतबारदेखि सुरु हुन्छ’ कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डाक्टर रविन खड्काले भने, ‘प्रदेशभर २० हजारभन्दा बढीलाई खोप लगाउने लक्ष्य छ ।’ तर खोप लगाउने नागरिकको भने एकीन तथ्याङ्क संकलन भइसकेको छैन ।   

‘दोस्रो चरणमा कम्तिमा पनि २० हजार जनालाई खोप लगाउँछौँ’ डाक्टर खड्काले भने, ‘लक्षित बर्गको संख्या एकिन भएको छैन, तर तथ्याङ्क संकलन भइरहेको छ ।’ एकिन तथ्याङ्क संकलन नभए पनि (आज) आइतबारबाट खोप अभियान सुरु हुनेछ । ‘एकिन तथ्याङ्क संकलन हुन अझै एक÷दुई दिन लाग्छ’ निर्देशक खड्काले भने, ‘अहिले पर्याप्त तथ्याङ्ककै आधारमा लक्षित बर्गलाई खोप लगाउँछाँै ।’ जे–जति तथ्याङ्कहरु प्राप्त भएको छ तिनै बर्गलाई खोप दिने तयारी भएको निर्देशनालयले जनाएको छ । तर दोस्रो चरणमा कम्तिमा २० हजार लक्षित बर्गले खोप पाउने छन् । एकिन तथ्याङ्क संकलन भएपछि सोही आधारमा खोप लगाउनेको संख्या बृद्धि हुनेछ । एकिन तथ्याङ्क संकलन भएपछि मात्रै खोप माग गरिने छ । आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानमा भने पहिलो चरणमा बचेको खोप नै लगाइने छ । पहिलो चरणको लागि प्रदेशमा ११ हजार सातसय ८० जनालाई दुई चरणमा पुग्नेगरी २६ हजारभन्दा डोज खोप कर्णालीमा आएको थियो । जसमध्ये प्रदेशभर कुल नौ हजार चारसय २० जनाले मात्रै पहिलो चरणको डोज लगाएका छन् । अहिले प्रदेशका विभिन्न अस्पतालका स्टोरमा १६ हजारभन्दा बढी डोज खोप भण्डारण छ ।

दोस्रो चरणमा लगाउने खोप नआउँदा सम्मको लागि भण्डार भएको खोप नै दोस्रो चरणका लागि प्रयोग गरिने छ । दोस्रो चरणको खोप आएपछि पहिलो पहिलो चरणमा पहिलो डोज लगाएका फन्टलाइर्नलाई दोस्रो जोड दिइने निर्देशनालयको तयारी छ । सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम फन्टलाइनरले खोप लगाएका थिए । जसमध्ये सुर्खेतमा दुई हजार तीनसय ४० जना, दैलेखमा एक हजार चारसय ८३ जना, जुम्लाका एक हजार ४० जना, सल्यानका एक हजार दुईजना, रुकुमपश्चिमका आठसय ५० जना, कालिकोटका आठसय, जाजरकोटका ६ सय ७३ जना, हुम्लाका चारसय ८५ जना, मुगुका चारसय १७ र डोल्पाका तीनसय ३० जनाले कोरोना खोप लगाएका थिए ।
कसले पाउँछन् दोस्रो चरणमा खोप ?
पहिलो चरणमा जस्तै दोस्रो चरणमा खोप दिने व्यक्तिहरुको पनि निश्चित मापदण्ड निर्धारण गरेको छ । जसमध्ये पहिलो चरणमा खोपबाट बन्चित भएका स्वास्थ्यकर्मी लगायतका फन्टलाइनर्स, स्थानीय तहका जनप्रतिति तथा कर्मचारी र निजामति सेवाका कर्मचारीहरु जनपथ प्रहरीलाई दोस्रो चरणको खोप लगाइने छ । त्यस्तै सीमा नाकामा खटिने शसस्त्र प्रहरीहरु, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु, प्राधिकरण र संस्थानका कर्मचारीहरु, अदालतका तथा सरकारीतका कर्मचारीहरु, सरकारी सेवामा कार्यरत वकिलहरु र पत्रकाहरुलाई पनि दोस्रो चरणमा खोप दिइने छ । खोप लगाउन जाँदा सम्बन्धित व्यक्तिको परिचय पत्र वा कार्यालयको आधिकारित पत्र अनिवार्य देखाउनुपर्ने छ
सुर्खेतमा ६ वटा खोपकेन्द्र तोकिए
दोस्रो चरणको खोप अभियानलाई सफल बनाउन ६ वटा खोप केन्द्रहरु तोकीएका छन् । सहज रुपमा खोप उपलब्ध गराउन जिल्लाका विभिन्न ६ स्थानमा खोप केन्द्र तोकिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । उनका अनुसार प्रदेश अस्पताल सुर्खेत, मेहलकुना अस्पताल, दरशपुर अवलचिङ सालकोट प्राथमिक स्वास्थ्य केन्द्र र गुटु स्वास्थ्य चौकीलाई खोपकेन्द्र निर्धारण गरिएको छ । जसअनुसार प्रदेश अस्पतालमा वीरेन्द्रनगर र बराहतालका लक्षित बर्गले आजदेखि ८ गतेसम्म खोप दिइनेछ ।

प्रदेश अस्पतालमा पहिलो चरणमा छुटेका लक्षित समूहलाई २ गते, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई फागुन २ र ३ गते, वीरेन्द्रनगर नगरपालिकाका निजामति सेवाका कर्मचारी २ देखि ८ गतेसम्म, बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई ५ र ६ गते, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारीलाई ४ देखि ८ गतेसम्म, वकिलसहित न्याय समूहका कर्मचारीहरु र पत्रकारलाई ४ र ५ गते खोप लगाइने वाग्लेले बताए ।

त्यस्तै मेहलकुना अस्पालतमा गुर्भाकोट, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकाका तोकिएका व्यक्तिले भोली (सोमबार) देखि ६ गतेसम्म खोप लगाउन पाउने छ । त्यस्तै लेकबेशी नगरपालिका लक्षित बर्गकाल आज (आइतबार) चिङ्गाडलाई ५ गते, पञ्चपुरीकालाई ६ गते र चौकुने गाउँपालिकाका तोकीएका व्यक्तिलाई ७ गते खोप दिइने छ । खोप केन्द्रहरु विहान ११ बजेदेखि साँझ ४ बजेसम्म मात्रै खुल्ला रहने छन् ।
प्रचार–प्रसारमा तीव्रता
दोस्रो चरणको खोप अभियानलाई सफल बनाउन प्रचार–प्रसारलाई तीब्र बनाउने निर्देशनालयको तयारी छ । ‘प्रचार– प्रसार प्रभावकारी नभएकै कारण पहिलो चरणमा सोचे जतिले खोप लगाएनन्’ डाक्टर खड्काले भने, ‘दोस्रो चरणको अभियान सफल बनाउन प्रचार–प्रसारलाई जोड दिएका छौँ ।’ प्रचार–प्रसारलाई प्रभावकारी बनाउन स्थानीय पालिका, सञ्चारमाध्यम स्वयमसेविकाहरुलाई खटाइएको उनको भनाइ छ ।

पहिलो चरण्मा खोप लिएका कुनै पनि व्यक्तिलाई अबान्छिनीय घटना नभएको भन्दै लक्षित बर्गको ढुक्क भएर खोप लिन उनको सुझाव छ । ‘खोप लगाएपछि सामान्य असर देखिन्छ, तर कुनै पनि नकारात्मक प्रभाव छैन’ डाक्टर खड्काले भने, ‘खोप लगाउँदा डराउनुपर्ने कारण छैन, ढुक्क भएर खोप लगाउँदा हुन्छ ।’ पहिलो चरणमा खोप लिएका नौ नौं हजार चारसय २० मध्ये ३३ जना मात्रै सामान्य समस्या देखिएको थियो ।

जसमध्ये एक जना व्यक्तिलाई मात्रै केही घण्टा गम्भीर समस्या देखिएको थियो । यद्यपी कुनै व्यक्तिलाई पनि केही घण्टा ज्वरो आउने, शरीर चिसो हुने र टाउको दुख्ने जस्ता लक्षिणहरु देखिन्छन् । यो सामान्य प्रक्रिया भएका कारण डराउन नहुने स्वास्थ्य निर्देशनालको भनाइ छ । तर खोप लगाउँदा नियमित औषधि प्रयोग गर्ने व्यक्ति, गर्भवति र बच्चाले दुःख पिउने अवस्थाका व्यक्तिले भने खोप दिने गरिएको छैन ।

तपाईको प्रतिक्रिया