३ फागुन, विभागीय टिम त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार भएको खेलमा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै विमला चौधरीले दुई गोल गरिन् । चन्द्रपुरकी रजनी थोकरले सान्त्वना गोल फर्काईन् । खेलको १० औं मिनेटमा स्ट्राइकर रश्मीले गोल गर्दै आर्मीलाई अग्रता दिलाईन् । चन्द्रपुरको गोलरक्षक र डिफेन्डरको तालमेल नमिलेको फाइदा उठाउदै रश्मीले गोल गरिन् । चन्द्रपुर रश्मीको पूर्व टिम समेत हो । रश्मीले खेलको २२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी २–० ले अघि रह्यो । उनले विमला चौधरीको पासमा हेडमार्फत गोल गरिन् । खेलको २३ औं मिनेटमा विमलाले गोल गरेपछि आर्मीले ३–० को अग्रता बनायो । पहिलो हाफको इन्जुरी समयमा चन्द्रपुरकी रजनीले गोल गर्दा पहिलो हाफमा आर्मी ३–१ ले अघि रह्यो । खेलको ५० औं मिनेटमा रश्मीले पेनाल्टीबाट ह्याट्रिक पुरा गर्दा आर्मीले ४–१ को अग्रता बनायो ।
चन्द्रपुरको डिफेन्डरले हेमा चौधरीलाई डिबक्स भित्र फउल गरेपछि रेफ्री अस्मिता मानन्धरले आर्मीलाई पेनाल्टीको अवसर दिएकी थिइन् । जसम रश्मी चुकिनन् । खेलको ५६ औं मिनेटमा विमलालेव्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ५–१ को अग्रता बनायो । चन्द्रपुरकी गोलरक्षक युनिशा राईले फुत्काएको बललाई उनले सहजै गोल गरिन् । त्यसपछि खेलको ६१ औं मिनेटमा रश्मीले व्यक्तिगत चौंथो गोल गर्दै आर्मीलाई ६–१ को जित दिलाईन् । जितसँगै आर्मीले १० खेलमा २५ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । आर्मी एपीएफ भन्दा २ अंकले पछि रहेको छ । एपीएफ ९ खेलमा २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चन्द्रपुर १० खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा एपीएफ र नेपाल पुलिस भिड्ने छन् । यस्तै दोस्रो खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच खेल हुनेछ । आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले तीन अंकमा खुसी रहेको बताए । ‘चाहिएको तीन अंक हो । तीन अंकमा सन्तुष्ट छु,’ उनले भने, ‘खेलाडीमा आत्मविश्वास धेरै भयो । त्यसैले स्कोर निस्कियो तर बढेन ।’
युग संवाददाता । । ३ फाल्गुन २०७७, सोमबार ०९:३३