आर्मीको सातौं जित

३० माघ, राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सातौं जित निकालेको छ । बिहीबार विराटनगर महानगरपालिकामाथि ७–० गोलको जित निकाल्दै आर्मीले लिगमा सातौं जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला बिकले २,२ गोल गरिन् । यस्तै सपना लामा, विमला चौधरी र रश्मी घिसिङको नाममा एक एक गोल रह्यो । विराटनगरविरुद्ध सहज जित निकाल्ने क्रममा आर्मीले १८ औं मिनेटमा शर्मिलाको गोलबाट अग्रता बनाएको थियो । शर्मिलाले विमला चौधरीको पासमा सहजै गोल गरिन् । खेलको २२ औं मिनेटमा सपनाले गोल गर्दै आर्मीलाई २–० को अग्रता दिलाईन् । 

उनले डिबक्सबाहिरबाट हानेको प्रहार गोलमा परिणत भएको थियो । ३१ औं मिनेटमा आर्मीले ३–० को अग्रता बनायो । आर्मीको लागि तेस्रो गोल डिफेन्डर विमला बिकले गरिन् । खेलको ३४ औं मिनेटमा विमला चौधरीले गोल गर्दै आर्मीलाई ४–० को अग्रता दिलाईन । खेलको ३९ औं मिनेटमा रश्मीले गोल गरेपछि आर्मीले पहिलो हाफमा ५–० को अग्रता बनायो । उनले विमला चौधरीले मिलाएको पासमा हेड गोल गरिन् । आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ५० औं मिनेटमा विमला बिकले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मी ६–० ले अघि रह्यो । 

उनले करिब २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गरिन् । त्यसपछि खेलको ५४ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ७–० को जित दिलाईन् । उनले हेमा चौधरीको पास सदुपयोग गरिन् । जितसँगै आर्मीले शीर्ष स्थानको एपीएफमाथि दबाब कायम राखेको छ । दोस्रो स्थानको आर्मीले ९ खेलमा २२ अंक जोडेको छ । एपीएफको २४ अंक रहेको छ । विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ । आर्मीका मुख्य प्रशिक्षक राजु तामाङले विपक्षी बलियो नहुँदा सहज जित पाएको बताए । ‘सहज जित भयो । विपक्षी राम्रो देखिएन । हामीसँग उनीहरुले खेल्न सकेन,’ उनले भने, ‘पाएको अवसर सबै सदुपयोग भयो ।’ विराटनगरका प्रशिक्षक पारस चौधरीले पहिलो हाफको तुलनामा दोस्रो हाफमा टिमले राम्रो खेलेको बताए । ‘पहिलो हाफमा लक्ष्य अनुसार खेल भएन ।

तपाईको प्रतिक्रिया