खरका छानामुक्त नगर बनाउने अभियानमा छौं

रत्नबहादुर खड्का
मेयर, नारायण नगरपालिका, दैलेख

दैलेख कर्णालीको ऐतिहासिक जिल्ला हो । जहाँको सदरमुकाम रहेको नगरपालिका हो नारायण नगरपालिका । यस नगरमा ११ वटा वडा रहेका छन् । पूर्वमा भगवतीमाई गाउँपालिका, पश्चिममा दुल्लु नगरपालिका, दक्षिणमा डुंगेश्वर गाउँपालिका र उत्तरमा महावु र नौमुले गाउँपालिकाले घेरेको यस नगरमा बहुसंख्यक मानिसहरु कृषि क्षेत्रमा नै निर्भर छन् । यस नगरपालिकाले जनप्रतिनिधि पाएको साढेतीन वर्ष पुरा भइसकेको छ । यो अवधिमा उक्त नगरमा के कति विकास निमार्णका कामहरु भए ? स्वास्थ्य, शिक्षा, पूर्वाधारका विकास र महिलाका क्षेत्रमा के कति काम भए ? यस्तै विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी गीता थापाले नारायण नगरपालिका मेयर रत्नबहादुर खड्कासँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंशः-

 हिजोआज के गर्दै हुनुहुन्छ ?
हिजोआज नगरको काममा नै व्यस्त छु । नगरबासीको गुनासो सुन्ने र उहाँहरुको समस्या समाधानमा लागि रहेका छांै । नगरमा संचालनमा रहेका विकास निर्माण र सामाजिक कामको अनुगमन र निगरानीमा नै व्यस्त छौं ।

 तपाइँ निर्वाचित भएयता नगरमा के परिवर्तन भयो त ?
हामी निवार्चित हुँदा सदरमुकामको बाटो हिलाम्मे थियो । हामीले पहिलो काम सदरमुकामको बाटो र दायाबायाँ सदरमुकामसम्म जोडिएका बाटाहरु सबै कालोपत्रे ग¥यौं । अर्काे काम भनेको हाम्रो नगरका सबै वडाहरुमा बर्खामा पनि यातायातको सुविधा हुनेगरी सडकको स्तरोन्नती गरेका छौं । नागरिकको स्वास्थ्य नै ठुलो कुरा हो भन्ने उद्देश्यले हामीले स्वास्थ्यलाई प्राथमिकता दिएका छौं ।

हामीले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय समायोजन गर्ने काम ग¥यौं । भुगोल र विद्यार्थी संख्यालाई आधार मानेर विद्यालय समायोजन गर्ने काम गरेका छौं । मावि र प्राविमा विषयगत शिक्षक नहुँदा समस्या थियो । हामीले नगर शिक्षा समितिमार्फत दरवन्दी सिर्जना गरेर ३४ जना शिक्षकहरु नियुक्त ग¥यौं । २९ किलोमिटर बाटो रिङरोड निर्माणको काम भएको छ । दैलेखदेखि जुम्लासम्म सडक सञ्जाल जोड्नुपर्छ भनेर हामीले गतवर्ष स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट काम गरायौं ।

अहिले आठ करोडको टेन्डर आह्वान भइरहेको छ । पर्यटन विकासका क्षेत्रमा पनि कामहरु भइरहेका छन् । आन्तरिक र बाह्य पर्यटकहरु ल्याएर दैलेख जिल्लाको समग्र आर्थिक समृद्धि गर्नुपर्छ उद्देश्यले हामीले काम थालेका छांै । कोटिलामा ताल निमार्ण गर्दै छांै । तालको बीचमा मन्दिर निमार्ण गर्ने कार्य गर्दै छौं । फेवाताल जस्तै बनाउनका लागि ४५ लाख बराबरको डिपीआरको काम अन्तिम चरणमा छ । हाम्रो नगरमा जलविद्युतको सम्भावना पनि छ । रिसोर्टहरुको सम्भावना छ ।

वडा नम्बर ३ मा पनि भ्युटावर निमार्ण गरिरहेका छौं । जुन भ्युटावरबाट दैलेख जिल्लाको सम्पूर्ण भुभाग देखिन्छ । अहिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत युवाहरुलाई रोजगारी दिने काम पनि भएको छ । भारत लगायत तेस्रोमुलुक जाने युवाहरुलाई आफ्नै ठाउँमा कृषिमा लगाउने उद्देश्यले हामीले लद्युउद्यमी निमार्ण गरेका छौं । कृषि क्षेत्रमा किसानहरुलाई हामीले भैसी वितरण पनि गरेका छौं । हाम्रो नगरमा धेरै नागरिकहरु विपन्न वर्गभित्र पर्छन् ।

हाम्रो नगरमा खरको छानामुनि बस्न बाध्य भएका आठ सय ८९ घरधुरी थिए । हामीले खरको छानामुक्त नगरपालिका बनाउने अभियान थालनी ग¥यौं । उहाँहरुको चुहिने खरको छाना बदलेर टिनको छाना दिएका छौं । हामीले संघीय, प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा खरका छानामुक्त नगर घोषण पनि ग¥यौं । हामीले लगभग चारसय भन्दा धेरै घरमा टिनको छाना लगाइ सकेका छौं । बाँकी रहेको घरका छाना पनि फेर्ने क्रममा छौं । हाम्रो कार्यकाल भित्रमा नगरपालिकामा कुनै पनि घरमा खरको छाना हुने छैनन् । सबै घरमा टिनका छाना हुनेछन् । यो अभियानमा छौं ।

 महिलाको क्षेत्रमा के काम गर्नुभयो नी ?
महिलाका क्षेत्रमा पनि काम भइरहेका छन् । अबको हाम्रो लगानी भनेको नवजात शिशुहरुप्रति हो । बालविवाहको अन्त्य र दुई सन्तान, इश्र्वरको वरदान बन्ने मान्यतालाई जोड दिँदै आइरहेका छौं । हामीले असल आमा प्रोत्साहन कार्यक्रम पनि सञ्चालन गरेका छौं । ४८ जना महिलालाई पुरस्कार गरेका छौं । गर्भवती महिला भएको घरको पहिचान गरी उसको घरमा निलो झण्डा राख्ने र गर्भवती महिलाले गर्भ जाँच गराएको हुनुपर्ने, २० वर्षपछि विवाह भएको र दुई सन्तान हुनुपर्ने प्रक्रिया पुरा गरेको आमा असल आमा हुन् भनेर पुरस्कार वितरण गर्दै आइरहेका छौं । यो गर्नुको उद्देश्य बालबाविवाह रोक्ने, मातृ शिशुमृत्युदर रोक्ने लक्ष्य थियो । त्यसका लागि हामीले सचेतनामुलक कार्यक्रमहरु, सडक नाटक लगायतका कार्यक्रमहरु पनि गर्दै आइरहेका छौं ।

 नगरमा समृद्धिका सम्भावना र आधारहरु के–के छन् ?
समृद्धिको आधार भनेको त कृषि नै हो । कृषिको माध्यमबाट आम नागरिकलाई आर्थिक रुपमा समृद्ध गराउने उद्देश्यले हाम्रो नगरले कृषिको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । नश्ल सुधारका लागि हामीले किसानलाई बोका र रागाँ वितरण गरेका छौं । साना लघुउद्यमी निमार्ण गरेका छौं । यसमा किसानले पनि साथ दिनुपर्छ । अर्काे कुरा पर्यटनको क्षेत्रबाट समृद्धिका सम्भावनाहरु छन् ।

 विकासमा के कस्ता चुनौती आउँछन् ?
धेरै चुनौती छन् । हामीसँग पर्याप्त मात्रामा बजेट छैन । संघीय र प्रदेशको निर्देशिका, कार्यविधि यो स्थानीय तहमा मिल्दैन । हामीलाई कोभिड १९ का समयमा काठमाडौंबाट बनाएर बठाएको निर्देशिका अनुसार यहाँ काम गर्न सकेनौ । त्यो निर्देशिका यहाँ मिलेन ।
सरकारका निती नियम र कार्यविधिमा रहेर हामीलाई काम गर्न चुनौती छ । एउटा कार्यसमिति बनाउँदा आम नागरिकहरुमा हानथाप हुन्छ । यसले पनि काम गर्नमा चुनौती थपिएको छ । नागरिकहरुमा अझै चेतना आइसकेको छैन ।

 नगरमा मुख्य समस्या के छन् ?
पहिलो समस्या भनेको हाम्रो आवश्यकताहरु धेरै छन् । आवश्यकता धेरै भए, तर राज्यबाट आउने बजेट कम भयो । त्यसले गर्दा आमनागरिकको आकांक्षा पुरा गर्न सकिएको छैन । आर्थिक समस्या पहिलो पाटो हो । अर्काे समस्या उपकरण र स्रोतसाधन हुन् । अहिलेको राज्यको मोडल भनेको विकासमा नागरिकहरुको पनि लगानी हुनुपर्छ भन्ने छ । तर नागरिकबाट सहयोग हुन सकेको छैन । यसले गर्दा काम गर्नलाई समस्या छ ।

 भावी योजना के छन् ?
आम नागरिको आवश्यकता भनेको शहरमा बस्नु भन्ने रहेछ । पहाडका मानिस शहर केन्दित हुँदै गइरहेको अवस्था छ । गाउँबस्तीमा नागरिकको बसोबास शुन्य हुने अवस्था नआउला भन्न सकिन्न । त्यसले गर्दा हामीले नगरपालिकाभित्र रिङरोड निमार्ण गर्ने कार्य थालनी गरेका छांै ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि जुम्ला जोड्ने सडक निमार्ण गर्ने रहेको छ । जुम्ला मोटर बाटो निमार्णका लागि आठ करोडको टेन्डर भइरहेको छ । यो काम अबको कार्यकालभित्र पुरा गर्नै योजना छ । वडा सदरमुकाम जोड्ने बाटोहरु निमार्ण भइरहेका छन् । कृषिको माध्यमबाट आर्थिक समृद्धि ल्याउनु छ । सुन्दर नगर र सुन्दर नगरबासी निमार्ण गर्नतर्फ लागि रहेका छौं । (२०७७ माघ २८ गते बुधबार प्रकाशित)

तपाईको प्रतिक्रिया