सुर्खेत मालपाेत जग्गा बिक्री प्रकरणमा ४२ जनाविरुद्ध छुट्टाछुट्टै मुद्दा

सुर्खेत, २९ माघ ।
सुर्खेतमा जग्गा धनीलाई थाहै नदिइ जग्गा बिक्री भएको भनिएको घटना पेचिलो बन्दै गएको छ । केही साता अघि मालपोत कार्यालय सुर्खेतबाट अर्कैको जग्गा बिक्री भएको घटना सार्वजनिक भएको थियो । वीरेन्द्रनगर–६ का सौगात रावतले आफूलाई थाहै नदिई आफ्नो जग्गा बिक्री गरिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा प्रहरीले झण्डै दुई हप्तामा १३ जना आरोपीलाई पक्राउ गरेको छ । यस्तै झण्डै एक महिना लामो अनुसन्धानपछि प्रहरीले मुख्य आरोपीसहित १९ जनाविरुद्व अदालतमा मुद्दा दायर गरेको हो । जग्गा धनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा नामसारी गरेको अभियोगमा १९ जनाविरुद्व प्रहरीले सुर्खेत जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको हो । यस्तै यही घटनामा अर्को पक्षले पनि मुद्दा दायर गरेपछि अदालतमा ४२ जनाविरुद्ध फरकफरक मुद्दा दर्ता भएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ मा टेकेर रावतको जाहेरीमा नेपाल सरकारले अभियोग पत्र दायर गरेको हो । अदालतमा अभियोग पत्र दायर गरेसँगै अब यो सरकारबादी मुद्दा बनेको छ । जग्गा नामसारी गराउने कार्यमा संलग्न भएको आरोपमा तत्कालीन मालपोत कार्यालयका प्रमुख हाल मालपोत कार्यालय कलंकीमा कार्यरत लक्ष्मी खत्री, मालपोत कार्यालय हुम्लामा कार्यरत कमला सापकोटा, सुर्खेतको चिंगाड गाउँपालिकामा कार्यरत कृष्ण थापा, मालपोत कार्यालय सुर्खेतमा कार्यरत तिर्थबहादुर महतारा, नापी कार्यालय सुर्खेतमा कार्यरत कार्यालय प्रमुख राजेन्द्र थापा, भिमलाल आचार्य र दिपेन्द्र पुलामीविरुद्व मुद्दा दायर भएको हो ।

यसैगरी वीरेन्द्रनगर–१३ गुप्तिपुरका ३० बर्षे सुनिल राना, वीरेन्द्रनगर–१२ नेवारेका ३३ बर्षे उत्तम अधिकारी, चनौटेका ५० बर्षे रामकुमार दर्लामी, वीरेन्द्रनगर–११ धुलियाबिटका ३४ बर्षे दिपेन्द्र श्रेष्ठविरुद्व पनि मुद्दा दायर गरिएको छ । त्यस्तैगरी वीरेन्द्रनगर–२ बांगेसिमलका ६८ बर्षे सहवीर कार्की, वीरेन्द्रनगर–४ का ५७ बर्षे नारायणबहादुर बुढाक्षेत्री, चिंगाड गाउँपालिका–५ घरभई हाल वीरेन्द्रनगर–१ गैरी बस्ने २५ बर्षे चाँदनी वली, वीरेन्द्रनगर–११ पिपिरा बस्ने ३१ बर्षे विश्वरुप सावत, वीरेन्द्रनगर–६ गणेशचोक बस्ने अम्मरसिंह कटुवाल, वीरेन्द्रनगर–२ बस्ने गोरखबहादुर बुढा भनिने गणेश बुढा, वीरेन्द्रनगर–५ बस्ने निर्मल पुरी, वीरेन्द्रनगर–२ बस्ने सन्तोष ठाकुरविरुद्ध पनि अदालतमा मुद्दा दायर भएको छ ।

त्यस्तै सोही जग्गासँग सम्बन्धित रहेर वीरेन्द्रगर–१२ का शैलेस गौतम, सामना गौतम, सालिना गौतम र लक्ष्मी बाग्ले (गौतम) ले अदालतमा २२ जनाविरुद्ध जालसाज र एकजनाविरुद्ध अंशबण्डा मुद्दा दायर गरेका छन् । पैतृक सम्पत्तिमा आफ्नो हक लाग्ने भए पनि जग्गा बिक्री तथा कारोबार गर्दा आफूलाई जालसाजी गरेर जग्गा बिक्री गरेको भन्दै २३ जनाविरुद्ध सुर्खेत जिल्ला अदालतमा उनीहरुले मुद्दा दायर गरेका हुन् । शैलेस, सामना र सालिनाले आफ्नै बुवा तथा लक्ष्मी बाग्लेले श्रीमान शिवराज गौतम, वीरेन्द्रनगर–२ का दिपकसंह रजवार, वीरेन्द्रनगर–६ का सौगात रावत, वीरेन्द्रनगर–१ का सहविर कार्की, वीरेन्द्रनगर–६ का मुना अधिकारी, वीरेन्द्रनगर–१० का हरिबहादुर सिंह, वीरेन्द्रनगर–१ का ज्वारा कार्की, वीरेन्द्रनगर–७ का छत्रबहादुर थापा र वीरेन्द्रनगर–२ का रन्जना बुढाविरुद्ध मुद्दा दायर गरेका छन् ।

यस्तै उनीहरुले वीरेन्द्रनगर–१ का रमेशकुमार कार्की, वीरेन्द्रनगर–२ का युवराज थापा, बराहताल गाउँपालिका–९ का रेखा आचार्य र दुल्लु नगरपालिका–२ दैलेखका रनकुमारी थापाविरुद्ध अदालतमा मुद्दा दिएका हुन् । २०७२ साल भदौ ३ गते शिवराजले साविक जर्बुटा गाविस वडा नं. ३ को कित्ता नं. ३१११ को क्षेत्रफल २१६७.२० जग्गा आफूहरुलाई थाहा नै नदिई दिपकसिंह रजवारलाई दिएको भन्दै उनीहरुले मुद्दा दायर गरेका हुन् । त्यस्तै उनीहरुले नै साविक जर्बुटा गाविस वडा नं. ३ को कित्ता नं. ८०९ को जग्गा विवरण ०–८–८ मध्ये उत्तरतर्फको क्षेत्रफल ६७७.२६ बर्गमिटर जग्गा २०७५ असोज १ गते झुपकली काफ्लेलाई बिक्री लिखित राजीनामा दिएको भन्दै अन्य नौ जनाविरुद्ध जालसाजीको मुद्दा दिएका हुन् ।

शैलेस, सामना र सालिनाले आफ्नै बुवा तथा लक्ष्मी बाग्लेले श्रीमान् शिवराज गौतमसहित सोही ठाउँकी झुपकली काफ्ले, दैलेखको नारायण नगरपालिका वडा नं. ५ का कृष्णकुमारी खड्का, सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. ११ का मानकुमारी ढुङ्गाना (पौडेल), दैलेखको दुल्लु नगरपालिका वडा नं. १० का रमेशकुमार थापा, वीरेन्द्रनगर–११ का ओमप्रकाश काफ्ले, जुम्लाको सिंजा गाउँपालिका वडा नं. ६ का देविचन्द्र बुढा, वीरेन्द्रनगर–१२ का राजेन्द्र खड्का र दैलेखको भगवतिमाई गाउँपालिका वडा नं. १ का सुनिता खड्काविरुद्ध अदालतमा जालसाजीको मुद्दा दिएका हुन् ।  त्यस्तै शैलेस, सामना र सालिनाले आफ्नै बुवा तथा लक्ष्मी बाग्लेले श्रीमान शिवराज गौतमविरुद्ध अर्काे अंश मुद्दा दिएका हुन् । उनीहरुले केही दिनअघि अदालतमा २०७७÷०७८ को ००६६६, ००६६७ र ००६६८ मा मुद्दा दर्ता गराएका हुन् ।

दुई जना कारागार चलान
यसैबीच जिल्ला अदालत सुर्खेतले पक्राउ परेका १३ जना मध्ये ६ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ । मंगलबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश विलप्रसाद सापकोटाको एकल इजलासले मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप साउँदसहित ६ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ ।

अदालतमा उपस्थित गराइएका आठ जनामध्ये ६ जनालाई धरौटीमा छोड्न र दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेष्तेदार यामप्रसाद बास्कोटाले जनाए । उनका अनुसार मालपोत कार्यालयका सुब्बा साउँद र खरिदार दीपेन्द्र श्रेष्ठलाई जनही पाँच÷पाँच लाख, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का कार्यवहाक अध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई जनही दुई÷दुई लाख र साक्षी बसेका चाँदनी वली र नारायण बुढाक्षेत्रीलाई दुई÷दुई लाख धरौटीमा छोड्न आदेश दिइएको हो ।

त्यस्तै मालपोत कार्यालय सुर्खेतका कम्प्युटर अपरेटर सुनिल राना र जग्गा आफ्नो नाममा ल्याएका सहवीर कार्कीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । वीरेन्द्रनगर–१२ मा रहेको सौगात रावतको नामको ३१११ कित्ता नम्वरको छ कट्ठा जमिन असार ८ गते सहवीर कार्कीको आफ्नो नाममा पास गरेका थिए । उनले सोही दिनेको भोलिपल्टै उक्त जमिन विभिन्न व्यक्तिहरुलाई बिक्री गरेका थिए ।
(२०७७ माघ २८ गते युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया