सम्पादकीय : सडकको स्तरोन्नती

सडक विकासको पहिलो शर्त हो । सडक विना भौतिक विकासको परिकल्पना गर्न सकिन्न । यसकारण पनि भौतिक विकास र समृद्धिको पहिलो आधार भनेकै सडक हो । सडकले एउटा भुगोललाई अर्को भुगोलसँग जोड्ने काम गर्दछ । सडकको अभावमै नेपालमा विकासको गति सुस्त बन्यो । आज पनि कर्णालीका अधिकांश बस्तीसम्म सडकको पहुँच छैन । जसको परिणाम सर्वसाधारणहरु पैदल हिँड्नुपर्ने बाध्यता छ । सडक नहुँदा विकास निर्माणका सामान ढुवानीमा समस्या छ । बिरामीलाई पनि अस्पतालसम्म लैजान समस्या छ । सडक नहुँदा यातायातको सुविधा उपभोग गर्नबाट नागरिकहरु बञ्चित भइरहेका छन् । कर्णालीको हुम्ला अहिले पनि सडक संजालमा जोडिएको छैन । जहाँका नागरिकको एकमात्र यातायातको विकल्प भनेको जहाज हो । तर सबैले जहाज चढ्न सक्दैनन् । उनीहरु जिल्ला बाहिर जानुपर्ने अवस्थामा हप्तौं पैदल हिँड्न बाध्य छन् । अर्कोतर्फ भएका सडकको स्तरोन्नती नहुँदा पनि यात्रुले सास्ती भोग्नुपर्ने अवस्था छ । खनिएका सडकहरु पनि स्तरोन्नती नहुँदा दुर्घटना बढेका छन् भने हिलो तथा धुलोको सामना गर्नुपर्ने अवस्था छ ।

दुर्गम र विकटका सडकको हालत खराव हुने नै भयो । तर लामो समयसम्म तत्कालिन मध्यपश्चिम विकास क्षेत्रको सदरमुकाम रहेको र हाल कर्णाली प्रदेशको राजधानी बनेको वीरेन्द्रनगरका सडकको अवस्था पनि गतिलो छैन । वर्षौंसम्म सडकहरु कालोपत्रे भएनन् । निर्माण भएका सडकहरु विस्तार भएनन् । साँघुरा सडकका कारण दुर्घटनाहरु पनि भए । त्यतिमात्र होइन, सडकका खाल्डा र हिलोको अवस्थाले नागरिक हैरान बने । प्रदेश राजधानी भए पनि वर्षात्मा हिलाम्य र खडेरीमा धुलाम्य सडकले प्रदेश राजधानीको भौतिक विकासलाई नै गिज्याउने अवस्था बन्यो । तर नागरिकको धेरै आलोचना र गुनासोपछि पछिल्लो समय वीरेन्द्रनगरका सडकमा केही सुधारका संकेत देखिएका छन् । सडकहरु चौडा बनाउने काम थालिएको छ । सडकहरु धमाधम कालोपत्रे हुन थालेका छन् । केही सडकहरु अहिले चिल्ला र खुला देखिन थालेका छन् । यसले पनि वीरेन्द्रनगरका सडकहरुको अब सुधार हुन थालेको छ ।

सडकको स्तरोन्नतीले नै नगरमा विकासको एउटा नमूना देखिन थालेको छ । वास्तवमा सडकहरुको स्तरोन्नती र विस्तारले राजधानीको पहिचान बदलिने छ । बाहिरबाट आउने आगन्तुकले पनि यहाँका सडक देखेर विकासको अनुभूति गर्न सक्नेछन् । त्यतिमात्र होइन, प्रदेश राजधानीमा भएको सडकको विकास र विस्तारले अन्य जिल्लालाई पनि पाठ सिकाउने छ । विकासको लागि उत्प्रेरणा दिने अपेक्षा गर्न सकिन्छ । तर्सथ विगतमा काम नगरेर बजेट नै खर्च गर्न नसक्ने अवस्थाको अन्त्यका लागि पनि प्रदेश र स्थानीय सरकारले पछिल्लो समय केही काम गर्ने संकेत देखाएको छन् । जुन सकारात्मक कार्य हो । बरु अब नगरभित्र रहेका सबै सडकहरु विस्तार गर्ने, खनिएका सडकलाई कालोपत्रे गर्ने, सडकको अतिक्रमण हटाउने र नालाहरुको व्यवस्थापनमा गम्भिर बन्नै पर्दछ । यसो भएको खण्डमा वीरेन्द्रनगरले राजधानीको स्वरुप ग्रहण गर्न सक्नेछ ।

तपाईको प्रतिक्रिया