सम्पादकीय : श्रमको मूल्य देऊ

भेरी–बबई डाइभर्सन आयोजना कर्णालीमा हाल निर्माणाधिन ठूलो आयोजना हो । प्रदेशकै ठूलो यो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको छ । देशका अन्य आयोजनाको तुलनामा यो आयोजना नमूना छ । यसकारण की यो आयोजनाबाट दुई वटा उदेश्य पूरा गर्ने लक्ष्य लिइएको छ । पहिलो भनेको भेरीको पानी बबई नदीमा खसालेर विद्युत उत्पादन गर्ने । यस्तै दोस्रो भनेको बबईमा खसालिएको पानीबाट बाँके र बर्दियाको खेतीयोग्य जमिनमा सिचाइँ गर्ने । यसकारण पनि यो आयोजनाको महत्व अरु बढी छ । सरकारले आफ्नै लगानीमा निर्माण गर्न लागेको यो आयोजनाको काम अर्थात प्रगति सन्तोषजनक नै छ । सुरुवाटै यो आयोजनाले प्रशंसा बटुलेको छ । चुरे पहाडमा निकै कठिन र चुनौतीपूर्ण मानिएको सुरुङ निर्माण भइसकेको छ । तोकिएको समयभन्दा एक वर्ष अगावै खनिएकाले पनि यो आयोजनाले केही उत्साह पैदा गरेको छ । सर्वत्र अपेक्षा गरिएको र चर्चा भएको यो आयोजनामा बेलाबेला केही विवादहरु आउने गरेका छन् ।

गौरवको आयोजना भएर पनि कहिले मुआब्जाको विवाद । कहिले कामदारले सुरक्षा नपाएको गुनासो । यस्तै पछिल्लो समयम भने त्यहाँ कार्यरत कर्मचारीले आफूहरुले काम गरे वापतको तलव नपाएको भन्दै हड्ताल नै गरेका छन् । वास्तवमा श्रम गरेको पैसा कसैले पनि ठगिनु हुँदैन । त्यसमा पनि यो गौरवको आयोजना भएकाले यहाँ कार्यरत कर्मचारी र मजदुरले बगाएको पसिनाको मुल्य पाउनै पर्दछ । तर पछिल्लो समय दुई वटा ठेकेदार कम्पनीको विवादले कर्मचारीको पसिना खोसिएको छ । यो राम्रो कुनै पनि हालतमा होइन । अझ भनौं दुख गरेको मुल्य कर्मचारीले पाउनुपर्छ । यसमा ठेकेदार कम्पनीहरुले आपसमा सहमति गरेर कामदार र कर्मचारीको श्रमको मूल्य तत्काल उपलब्ध गराउनु पर्दछ । नत्र यसले आयोजनाकै प्रतिष्ठामा दाग लाग्न सक्छ । त्यतिमात्र होइन, भोलीका दिनमा आयोजनामा देखिने यस्ता विवादले ठूलो रुप लिन सक्छ । त्यतिमात्र होइन आयोजनाको काममा नै असर पर्न सक्छ । यसकारण पनि कर्मचारीहरु जो आन्दोलनमा छन्, उनीहरुको पीडा सम्बोधन गर्नेतर्फ आयोजना कार्यालय, ठेकेदार कम्पनी र सरोकारवाला निकाय बेलैमा जुट्नु पर्दछ ।


विवादले अवरोध सिर्जना गर्दछ । अवरोधले आयोजनाको लागत बढाउँछ । त्यतिमात्र होइन, आयोजनाको भविस्य नै अन्यौलमा पार्दछ । त्यसैले कुनै पनि आयोजनामा देखिने कुनै पनि प्रकारका विवादलाई समयमै समाधान गर्नेतर्फ त्यसको नेतृत्वले ध्यान दिनुपर्ने हुन्छ । भेरी बबई आयोजनामा देखिएका चाहे त्यो मुआब्जाबारेको विवाद होस्, या त कर्मचारीले काम गरेको पारिश्रमिक नपाएको विषय होस् । यसलाई तत्काल सुनुवाइ गरिनु पर्दछ । यसले मात्र समस्याको समाधान गर्नेछ भने आयोजनाको कामलाई पनि गति दिलाउने छ । अर्थात तोकिएको अवधिभित्रै यो आयोजनाको काम सक्नका लागि पनि यहाँ उत्पन्न हुने र पैदा हुने हरेक खालका विवादहरु समाधान गर्नेतर्फ आयोजनाले बेलैमा गम्भिर भएर सोच्न आवश्यक छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार