सुर्खेतका उपाध्यायसहित ६ विधामा १२ महिला उद्यमी सम्मानित

काठमाडौं, २७ माघ ।
न्यू बिजनेश एज प्रालिद्वारा विभिन्न ६ ओटा विधामा १२ महिला उद्यमी सम्मानित भएका छन् । लामो समयदेखि नेपालको व्यवसाय तथा उद्यम क्षेत्रमा योगदान पु¥याउने १२ जना महिला उद्यमीलाई संस्थाले सम्मान गरेको हो । काठमाडौंको ¥याडिसन होटलमा आयोजित ‘न्यूबिज वुमन समिट एण्ड अवाडर््स’ कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्ड, बिजनेश वुमन अफ दी इयर, क्यारिज्म्याटिक बिजनेश वुमन अफदी इयर, वुमन आन्ट्रपेनर अफ दी इयर, इन्फ्लुन्सल बिजनेश वुमन अफ दी इयर र हरेक प्रदेशबाट १र१ जना इमर्जिङ इन्टरप्राइजिङ वुमेन अफ दी इयर गरी १२ महिला उद्यमीलाई सम्मान गरिएको हो ।

सम्मानित भएका महिला उद्यमीहरूसँगको शनिवार भएको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिला उद्यमीलाई परेका समस्या लिखित रूपमा आफूलाई जानकारी गराएमा त्यसको समाधान गर्न सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महिलालाई उद्यमशील बन्न चुनौती रहेको आफूले पनि बुझेको बताउँदै उहाँले महिला उद्यमीलाई हिम्मत नहार्न र काममा अघि बढ्न हौसला समेत प्रदान गर्नुभयो ।

कार्यक्रममा ‘लाइफटाइम एचिभमेन्ट अर्वाड २०२१’ बाट अनुभवी होटेलियर तथा मल्ल होटेलकी अध्यक्ष महाराजकुमारी रमा राणा मल्ल सम्मानित भएकी छिन् । राणाले विगत ४ दशकदेखि आफ्नै स्वामित्वमा पाँचतारे होटेल, रिसोर्ट र टुर एजेन्सी सञ्चालन गरी नेपालको व्यापार क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दै आएकी छिन् । ७५ वर्षको उमेरमा पनि उनी आफ्नो व्यवसायमा निकै सक्रिय छिन् ।

कार्यक्रममा ‘बिजनेश वुमन अफ दी इयर २०२१’ अवार्डबाट होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सृजना राणालाई सम्मान गरिएको छ । उनले विगत ५६ वर्षदेखि होटल अन्नपूर्ण सञ्चालनमा ल्याएकी हुन् । त्यसैगरी ‘क्यारिज्म्याटिक बिजनेश वुमन अफ दी इयर २०२१’ बाट किरण शूज म्यानुफ्याक्चर्सकी ब्रान्डिङ तथा बिजनेश डेभलपमेण्ट निर्देशक विदुषी राणालाई सम्मान गरिएको छ ।

उनी ६ वर्षसम्म कुमारी बैंकको ब्राण्ड म्यानेजरका साथै उक्त बैंकको कुमारीपाटी शाखाको म्यानेजर समेत भइसकेकी छन् । उनले सञ्चालन गर्दै आएको उद्योगमा ३ हजार ३०० भन्दा बढीले राजगारी पाएका छन्, जसमध्ये ६५ प्रतिशत कामदार महिला नै छन् । यस्तै कञ्चनजंघा टी इस्टेटकी प्रबन्ध निर्देशक शान्ता बास्कोटा कोइराला ‘वुमन आन्ट्रपेनर अफ दी इयर २०२१’ अवार्डबाट सम्मानित भएकी छिन् । पाँचथरको रानीटारमा सन् १९८४ देखि उनका बुवा दीपकप्रकाश बास्कोटाले स्थापना गरेको कम्पनीको जिम्मेवारी उनले सन् २००२ देखि सम्हालेकी थिइन् । उक्त कम्पनीमा १७५ कर्मचारी तथा कामदार कार्यरत छन् ।

‘इन्फ्लुन्सल बिजनेश वुमन अफ दी इयर २०२१’ अवार्डबाट साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई सम्मान गरिएको छ । उनी साल्ट ट्रेडिङ कर्पोरेशनमा २०५४ सालमा विभागीय प्रबन्धकबाट सेवा प्रवेश गरेर २०५९ सालमा उपमहाप्रबन्धक र त्यसपछि २०६४ मा महाप्रबन्धक हुँदै २०७१ सालदेखि साल्ट ट्रेडिङ कर्पोरेशनमा प्रमुख कार्यकारी अधिकृत पदमा छिन् ।

संस्थाले प्रत्येक प्रदेशबाट एक÷एकजना उत्कृट महिला उद्यमीलाई ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दी इयर’बाट सम्मानित गरेको छ । यस अन्तर्गत प्रदेश १ बाट चम्पा शू सेन्टरकी प्रोप्राइटर चम्पा नेपाल सम्मानित भएकी छन् । उनले विगत ९ वर्षदेखि मोरङको विराटनगरमा उद्योग स्थापना गरी नेपाली उद्यम क्षेत्रमा योगदान गरेबापत सम्मान गरिएको हो ।

यही विधाअन्तर्गत प्रदेश २ बाट तृष्णा सिंह भण्डारी सम्मानित भएकी छन् । उनले विगत २ वर्षदेखि जनकपुरमा मिथिला हाउस प्रालि स्थापना गरी मिथिला क्लोथिङ र माटोका भाँडाहरूमा पेन्ट गर्ने कार्यको थालनी गरी १५ जना कामदारलाई रोजगारी दिएकी छन् । बागमती प्रदेशबाट चन्द्रकला बाँस्कोटालाई पनि ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दी इयर’बाट सम्मानित गरिएको छ ।

उनले भक्तपुरको ठिमीस्थित रिजाल प्लास्टिक उद्योगको स्थापना गरी प्लास्टिकका सामानहरू उत्पादन गर्ने कार्यमा काम थालेकी हुन् । हाल उनको उद्योगमा १० जना कामदार छन् । त्यसैगरी गण्डकी प्रदेशबाट सम्मानित हुनेमा वुमन स्किल्स डेभलपमेन्ट सेन्टरकी प्रबन्ध निर्देशक रामकली खड्का रहेकी छन् । उनले करीब ३१ वर्षदेखि यो संस्था सञ्चालनमा ल्याई करीब १ हजार ४०० महिलालाई विभिन्न शीपमूलक तालीम दिइसकेकी छन् ।

लुम्बिनी प्रदेशबाट यही विधाअन्तर्गत कोठी हिमाल अल्लो कपडा उद्योग प्यूठानकी प्रोप्राइटर चित्रकली बुढामगर सम्मानित भएकी छन् । २०६३ सालदेखि सञ्चालन भएको उनको उद्योगमा टोपी, झोला, इस्टकोटलगायत सामान उत्पादन हुने गरेको छ । उत्पादन भएका सबै सामान नेपालका विभिन्न शहरमा लाग्ने मेला तथा महोत्सवमा विक्रीका लागि पठाइने गरिएको छ । हाल उनको उद्योगमा ३ हजार घरपरिवार आबद्ध भएका छन् ।

कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरमा ७ वर्ष अघिदेखि भवानी छापाखानाको स्थापना गरी १९ जना कामदारलाई रोजगार दिँदै आएकी छापाखानाकी संस्थापक हिमाकुमारी उपाध्ययसमेत यस अवार्डबाट सम्मानित भएकी छन् । यस संस्थाले कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा समेत शाखा विस्तार गरी काम गर्ने योजना बनाएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशवाट बी पोलिटेक्निक इन्स्टिच्युट धनगढीकी प्रबन्ध निर्देशक हीरा भण्डारीलाई इमर्जिङ इन्टरप्राइजिङ वुमेन अफ दी इयरबाट सम्मान गरिएको छ । उनले २०६६ सालदेखि धनगढीको तारानगरमा सञ्चालनमा ल्याएको उक्त संस्थामार्फत ४० जनाभन्दा बढी कामदारलाई रोजगार दिएकी छन् । उनले आफ्नो संस्थामार्फत घर निर्माण, सिलाइकटाइ, हेयर कटिङलगायतका तालीम दिई आत्मनिर्भर हुन सघाउ पु¥याउँदै आएकी छन् ।

अवार्ड विजेता छनोटका मापदण्ड
मूल्यांकन समितिले तय गरेको नियमहरूको पालना, संगठनात्मक व्यवस्थापनको गुणस्तर, व्यापार सञ्चालनको गुणस्तर, उद्योगको वित्तीय सूचक, सामाजिक प्रभाव, व्यापार व्यवस्थापन र उत्पादनमा नवीनता, रोजगारीको गुणस्तर र संख्या, निर्यात वा आयात प्रतिस्थापनमा योगदान, उद्यमीको पृष्ठभूमि (शिक्षा, स्रोत र साझेदारी), उद्यम सञ्चालन भएको क्षेत्रको वातावरण, उद्यमीले सञ्चालन गरेको उद्यमको संख्या, उद्यमीको सामाजिक छवि, चेम्बरबाट सिफारिश गरिएको आधारहरू, उद्यमीले व्यवसायमा आफूलाई स्थापित गर्न गरेको संघर्ष र निर्णायकको फैसलाका आधारमा विभिन्न १५ ओटा मापदण्ड पूरा गरी उद्यम गरेका महिलालाई सम्मान गरिएको हो ।

न्यू बिजनेश एजले सम्पन्न गरेको यो सम्मान कार्यक्रम गतवर्ष र यस वर्ष गरी दुई चरणमा सम्पन्न भएको हो । गतवर्षलाई नै तय गरिएको कार्यक्रम कोरोना महामारीका कारण रोकिएको थियो । विराटनगर, बिर्तामोड, हेटौंडा, नारायणगढ, वीरगञ्ज, जनकपुर, बुटवल, सुर्खेत, धनगढी र पोखरा गरी देशका विभिन्न १० ओटा शहरहरूमा उद्यम क्षेत्रमा लागेका महिलाका लागि अन्तरक्रियात्मक उद्यमशीलता तालिम गरिएको थियो ।

तपाईको प्रतिक्रिया