जागिरसँगै समाज सेवामा रमाउँदै बालकृष्ण

बालकृष्ण श्रेष्ठ
सवारी चालक, भौतिक विकास निर्देशनाल, सुर्खेत

जेष्ठ नागरिक अर्थात बृद्धबृद्धाहरु प्रायः सबैले सन्तानको माया पाउन सक्दैनन् । कतिले चाहेर त, कतिले नचाहेर आफ्ना सन्तानहरुबाट नै टाढा हुनुपर्छ । तर यही समाजमा एउटा त्यस्तो व्यक्ति छन्, जसले आफ्नो सन्तानबाट एक्लो भएका र सन्तानविहीनलाई बुढेशकालमा सहारा दिएका छन् । सम्पूर्ण पालनपोषण, माया र भरोसा दिएका छन् । जेष्ठ नागरिकलाई संरक्षण दिने कार्यको नेतृत्व गरिरहेका व्यक्ति हुन् बालकृष्ण श्रेष्ठ । वीरेन्द्रनगर–९ मा रहेको बृद्धआश्रमका अध्यक्षसमेत रहेका श्रेष्ठ पेशाले भने निजामति क्षेत्रमा छन् । तर पनि उनको परिचय कर्मचारीको रुपमाभन्दा पनि समाजसेवीको रुपमा स्थापित छ ।

हैजा फैलिएपछि दैलेख छाडे
बालकृष्ण श्रेष्ठको जन्मथलो दैलेख हो । विस २०२० पुस ६ गते नारायण नगरपालिका–१ बजारमा आमा मायादेवी र वुवा कुमरसिंह श्रेष्ठबाट उनको जन्म भएको हो । तर उनको बाल्यकाल भने सुर्खेतमा वित्यो । दैलेख बजारमा हैजा फैलिएपछि परिवारसहित उनीहरु सुर्खेत झरेका हुन् । ऊबेला त्यहाँका प्राय सबैले बस्ती छोडेको श्रेष्ठ बताउँछन् । ‘दैलेख हुँदा हाम्रो ठूलो परिवार थियो, हैजा फैलिएपछि को–कहाँ गए थाहै भएन’ उनी सुनाउँछन्, ‘हैजा फैलियो, हाम्रो सबै परिवार पनि तितरवितर भयो ।’ उनले सुर्खेत झरेपछि साविक लाटीकोइलीमै वालापन विताए ।

सानैमा अभिभावकविहीन
बृद्ध बाआमालाई माया गर्ने उनै बालकृष्णले आफ्ना आमा बुवाको माया पाउन सकेनन् । नावालक अवस्थामै आमाको साथ छुट्यो । १६ वर्षको युवा अवस्थामै पुनः बुवालाई गुमाउनु प¥यो । ‘आमा वितेको थाहा नै छैन, १६ वर्षमा बुवा वित्नुभयो’ उनी भन्छन्, ‘सानैमै आमाबुवा गुमाउनु नै जीवनको सबैभन्दा दुःखद क्षण हो ।’ तर उनले हिम्मत हारेनन् । बरु जीवनका संघर्षहरु गर्न सिके । दिदीको सहयोगमा घरको जिम्मेवारी पुरा गर्दै गए । २०३३ सालामा उर्मिला श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएपछि जीवनमा खुशीहरु थपिए । दिदीको साथ, श्रीमतीको सहयोग र संघर्षकै कारण यो अवस्थासम्म आइपुगेको उनको भनाइ छ ।

बिचमै पढाइ छुट्यो
आमाबुवा अभिभावक मात्रै होइन, जीवनमा बाँच्न सिकाउने गुरु पनि हुन् । तर श्रेष्ठले भने सानैमा आमाबुवाको अभिभावकत्व पाउन सकेनन् । सानैमा बुवाकै मृत्युका कारण पढाइ छोड्नु प¥यो । तत्कालीन लाइटीकोइली प्राथमिक विद्यालयबाट कखरा सुरु गरेका उनले कक्षा ८ सम्म मात्र अध्ययन गरेका छन् । पढ्नुपर्छ भन्ने ज्ञान भए पनि बुवाको मृत्युपछि पढाइलाई निरन्तरता दिन सकेनन् । ‘बुवा विरामी भएपछि चार महिना अघि नै पढाइ छोडिसकेको थिएँ’ उनी भन्छन्, ‘पढ्नुपर्छ भन्ने ज्ञान त थिया,े तर बुवा वितेपछि पढ्न सम्भव नै भएन ।’

लाहुरे हुने त्यो सपना…
२०३६ सालतिर हो । बालकृष्ण १८ बर्षे जवान थिए । अभिभाव गुमाए पनि घरको सम्पूर्ण रेखदेख उनकै काँधमा थियो । घर व्यवहार चलाउन गतिलो जागिरको खोजीमा थिए । त्यही समय सुर्खेतमा इन्डियन आर्मीमा भर्तीका लागि छनौट खुलेको थियो । ख्यालख्यालमै फर्म भरे । छनोटमा सहभागी भएपछि उनी प्रथम नै भए । तर लाहुरे हुन पाएनन् । नेपालगञ्जमा सोल्जरबोर्ड अर्थात इन्डियन आर्मी लैजाने कार्यालय थियो । छनौटमा प्रथम भएका उनले सोल्जरबोर्डमै जान पाएनन् । किनकी छनौट गर्ने मुख्य व्यक्तिले उनको ठाउँमा अर्काे व्यक्तिलाई लिइसकेको थियो । लाहुरे (इन्डियन आर्मी हुने कार्ड भने अहिले पनि सुरक्षित राखेका छन् ।

अनि चालक भए
भारतीय आर्मी हुन नपाएपछि बालकृष्णको मनमा बदलाको भावना जाग्यो । उनी छनौट गर्ने व्यक्तिलाई कुटपीट गर्ने मनसायले नेपालगञ्जसम्म पुगे । तर सम्बन्धित व्यक्तिलाई भेटाएनन् । पुनः सुर्खेत फर्किए । २०३९ सालतिर ३÷४ वटा गाडीहरु आएका थिए । त्यसपछि गाडीमा काम गर्न थाले । र पछि गाडी हाँक्न सक्ने भए । त्यही समय पञ्चायतको निर्वाचन भयो । जिल्ला पञ्चायत समितिमा उनले पनि सदस्यका लागि आवेदन दिए । ऊबेला प्रतिद्वन्दी नभएका कारण उनी स्वतः पञ्चायतको वडा सदस्य भए । ३÷४ महिनापछि तत्कालीन प्रधानपञ्च मुकुन्दश्याम गिरी काठमाडौँ जानुपर्ने भयो ।

तर एयरपोर्टसम्म पु¥याउने ड्राइभर थिएन । त्यही मौकामा बालकृष्णले गिरीलाई एयरपोर्टसम्म गाडीमा छोडे । तर आफू नफिर्कदासम्म गिरीले गाडी कसैलाई नदिनु भने । करिव १५÷१६ दिनपछि सुर्खेत फर्किएपछि तत्कालीन जिल्ला पञ्चायत कार्यालयले उनलाई ड्राइभरकै अर्थात गाडी चालकको जागिर दियो । ‘वडा सदस्य भएपछि राती उहाँ (मुकुन्दश्याम गिरी) को गाडी चलाएर घर गएको थिएँ ।

त्यतिबेला नै म गाडी चलाउनसक्छु भन्ने थाहा थियो’ उनी भन्छन्, ‘उहाँलाई गाडीमा एयरपोर्ट छोडे, त्यस दिनदेखि ड्राइभर नै मेरो पेशा भयो ।’ ड्राइभर जागिर पाएपछि वडा सदस्य पद छोडे । करिव ७ वर्ष जिल्ला पञ्चायत कार्यालयमै ड्राइभरको रुपमा कार्यरत रहे । २०४८ सालमा तत्कालीन जिल्ला सिंचाइ कार्यालयमा स्थायी ड्राइभरको जागिर सुरु गरेका उनी हाल भौतिक विकास निर्देशनालयमा ड्राइभरको रुपमा कार्यरत छन् । अवकाशपछि समाज सेवामा रमाउने उनको योजना छ ।

प्रशान्तितर्फको यात्रा
२०५५ सालतिर बालकृष्णले अत्याधिक मदिरा पिउँथे । समय भयो कि राती ८ बजेदेखि विहान ८ बजेसम्म मदिरा पिउँदा पनि नसा नलाग्ने अवस्था भयो । एकदिन यो कुलतबाट छुट्कार लिने निर्णय गरे । र साईबाबा केन्द्रका विभिन्न गतिविधिमा सहभागी भए । त्यहीँबाट समाजसेवा गर्नुपर्छ भन्ने प्रेरणा जाग्यो । पछि गोविन्दनाथ योगीहरुले स्थापना गरेको प्रशान्ति बृद्धाआश्रम २०५८ सालमा उनको काँधमा आयो । अध्यक्ष भएपछि सहयोगको लागि सरकारसँग सहयोग मागे ।

बृद्धाआश्रम सञ्चालनका लागि ४४ हजार मात्रै दिने सहमति भएको सरकारले मन्त्रालयमा आफन्त भएकै कारण पाँच लाख ४४ हजार रुपैयाँ प्राप्त गरे । काठमाडौँबाट फर्किएपछि ३÷४ वर्षसम्म नविकरण नै नभएको संस्थालाई व्यवस्थित गरे । स्वर्गीय हिरालाल पन्तले एक कठ्ठा जग्गा उपलब्ध गराए । आश्रम व्यवस्थित भएपछि तत्कालीन जिल्ला विकास समितिले सहयोग उपलब्ध गरायो । हालसम्म आइपुग्दा विभिन्न कालखण्डमा आश्रमलाई विभिन्न व्यक्तिहरुले सहयोगबाटै आश्रम करोडौको सम्पत्ति जोडिएको छ । आश्रमको चार कठ्ठा जग्गा, आफ्नै भवन र खात्तामा झण्डै ५७ लाख रुपैयाँ जम्मा गर्न सफल भएको बालकृष्ण बताउँछन् । बाँचुन्जेलसम्म बृद्ध आमाबुवालाई सेवा गर्ने उनको अठोट छ ।
(२०७७ माघ २५ गते आइतबार साताको राष्ट्रयसेवक स्तम्भमा युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया