अनि उनले प्रेमपत्र कोरे…

भाग्यमानी व्यक्ति त्यो हुन्छ, जसले देखेको सपना पुरा हुन्छ । सबैले देखेका सपना पुरा हुँदैनन् । यो कुरा अझ माया प्रेम गर्नेहरुका लागि धेरै नै लागु हुन्छ । माया प्रेम गर्नेहरुको पहिलो माया विरलै मात्रामा सफल हुन्छ । सबैको प्रेम सफल हुँदैन । यस्तै आफ्नो पहिलो माया नै सफल बनाउने जोडी हुन् टेकेन्द्र विश्वकर्मा र शान्ति सुनार । उनीहरुले एकअर्कालाई माया गरे । घरपरिवारलाई मनाए । र आफ्नो प्रेमलाई सफल पनि बनाए ।

 त्यो पहिलो प्रेमपत्र
टेकेन्द्र विश्वकर्मा र शान्ति सुनार एकअर्कालाई औधी मन पराउँथे । दुबैले एकअर्कालाई मन पराएको कुरा भने प्रत्यक्ष रुपमा व्यक्त गर्न सकिरहेका थिएनन् । टेकेन्द्रले हिम्मत गरे । अनि एकदिन शान्तिलाई प्रेमपत्र पठाए । शान्तिले पनि टेकेन्द्रलाई औधी मन पराउँथिन् । तर, कसरी बोल्ने लाज लाग्थ्यो उनलाई । टेकेन्द्रको पहिलो पत्र पाएपछि उनले पत्रको जवाफ लेखिन् । यही पत्रले उनीहरूलाई एकअर्काबीच जोड्न सफल भयो । दुवैलाई जोड्ने काम चिठ्ठीले ग¥यो ।

टेकेन्द्रले पहिला पठाएको चिठ्ठी शान्तिले आफ्नो भाउजुलाई सोधेर मात्र लिएकी थिइन् । टेकेन्द्रले चिठ्ठी पठाएपछि शान्तिले यो कुरा आफूमा मात्र सीमित नराखेर घरमा पनि भनिन् । टेकेन्द्र पढाइको शिलशिलामा सुर्खेतमा थिए । उनी कोठाभाडामा बस्ने घर नजिकै शान्तिको घर थियो । टेकेन्द्र सुर्खेत आएको दुई वर्षपछि उनले शान्तिलाई देखे । उनले शान्तिलाई देख्ने बित्तिकै मनपराइ सकेका थिए । उनी त्यतिकै बस्न सकेनन् । अनि प्रेमपत्र कोरे ।

 दुई महिनामै विहे
पहिलो चिठ्ठी पठाएको दुई महिनामा नै उनीहरूले विवाह गरे । २०५७ सालमा शान्तिको माइती घरबाट सबैको सहमतिमा विवाह गरे । गाउँले अगाडि भागी विवाह जस्तो देखिए पनि उनीहरू घरपरिवारको सहमतिमा नै विवाह गरेका थिए । विवाह गरेर टेकेन्द्रले शान्तिलाई दैलेखको डाँडापराजुल घरमा लिएर गए । शान्ति त्योभन्दा अघि दैलेख कहिल्यै गएकी थिइनन् । उनलाई दैलेख पहिलोपटक जाँदा डाँडाकाँडा, पहाड, खोला सबै देख्दा अचम्म लागेको थियो । विवाह गरेर माइतीघर छोडेर गएकी शान्तिलाई ती डाँडाकाँडा, पहाड र खोला निकै सुनसान अनि नरमाइलो लागिरहेको थियो । माइती घरको सम्झना पनि निकै आएको थियो । उनले भनिन्, ‘जन्मघर छोडेर जाँदै थिएँ, कहिल्यै नदेखेको ठाउँ, पहाड, खोला माइतीको खुबै याद आएको थियो ।’

 बुहारी हँुदाको अनुभव
विवाहपछि सबै छोरीहरूको लागि माइती घर बिरानो हुन्छ । अनि पराइ घर आफ्नो हुन्छ । शान्तिलाई सुरु–सुरुमा त सबै पराइ जस्तै लाग्ने गथ्र्यो । नचिनेको ठाउँ, नयाँ परिवार, नाता नयाँ सबै नौलो कुरा थियो उनका लागि । टेकेन्द्रले शान्तिलाई घरमा छोडेर पढ्न सुर्खेत आए । त्यसपछि शान्तिलाई झन् नरमाइलो लाग्यो । तर, विस्तारै सबैको माया ममता शान्तिले पाइन् । उनलाई काम गर्न सक्दिन भनेर गाह्रो काम कसैले गर्न लगाएनन् । सबैको माया ममताले गर्दा माइतीमा छोरी घरमा बुहारी हुनुको फरक अनुभव उनले गरिनन् ।

 विवाहपछिको संघर्ष
टेकेन्द्र र शान्तिको विवाहपछिको दिन संघर्षमा बित्यो । शान्ति पनि सुर्खेत आएपछि दुबैजना मिलेर बाटोमा सानो घुम्ती थापेर व्यापार सुरु गरे । त्यतिबेला व्यापार सुरु गर्दा उनीहरूसँग शान्तिको आमाले दिएको पाँचहजार मात्र थियो । त्यही पाँचहजार र शान्तिको मामाले दिएको घुम्तीबाट उनीहरूले तरकारीको व्यापार सुरु गरे ।

२०६० सालमा संकटकालको समयमा उनीहरूको घुम्ती हटाइ दिएपछि उनीहरूले त्यही व्यापारबाट जम्मा गरेको ४० हजारले आधा कठ्ठा जग्गा किनेर एक कोठाको घर बनाएर र आफ्नै घरमा व्यापार सुरु गरे । शान्तिले घरको व्यवहार र व्यापार सम्मालिन् भने टेकेन्द्र अर्काको सुनचाँदी पसलमा म्यानेजरको रूपमा काम गर्थे । चार वर्षसम्म अर्काेको पसलमा काम गरेका टेकेन्द्रले चिया बेचे पनि साहुजी आफै बन्नुपर्छ भन्ने सोचले २०६५ सालमा आफ्नै टेकेन्द्र सुनचाँदी पसल खोले । अहिले उनले सुनचाँदी बेचिसकेका छन् ।

 बाल्यकाल
पिता सहवीर विश्वकर्मा र माता जलधरी विश्वकर्माको कोखबाट २०३८ सालमा डाँडापराजुल दैलेखमा जन्मिएका टेकेन्द्रको बाल्यकाल सुखसँगै बित्यो । साथीभाई सँगै खेल्ने, पढ्ने गर्दैमा उनको बाल्यकाल बित्यो । टेकेन्द्र बाल्यकालमा अलि बढी नै चकचके स्वभावका थिए । यतिसम्म चकचक गर्थे की, हटारु गएका मान्छेहरूलाई माथिबाट ढुङ्गा हानेर भाग्ने गर्थे । कक्षा ५ सम्म डाँडापराजुलमा नै पढेका टेकन्द्रले एसएलसी पास भने अवलपराजुलबाट गरे ।

एसएलसी पास गरेपछि उनी पढाइकै शिलशिलामा सुर्खेत आए । सुर्खेत शिक्षा क्यापसमा उनले ब्यार्चुलर सकेर अहिले डिग्री पढ्दैछन् । उनले पत्रकारिता भने हिमाल एफएममा दलित आवाज कार्यक्रमबाट सुरु गरेका थिए । २०६४ सालसम्म हिमाल एफएममा काम गरेका टेकेन्द्र हिमाल एफएम बन्द भएपछि बुलबले एफएममा दुईवर्ष काम गरे । अहिले उनी जनचासो खबर दैनिकका सम्पादक छन् । उनी प्रदेश एफएममा पनि आवद्ध छन् । यस्तै प्रेस संगठनको प्रदेश कमिटि सदस्य, राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रिय सदस्य पनि छन् ।
पिता मानबहादुर सुनार र माता विष्णु सुनारको कोखबाट २०३७ सालमा नेपालगन्जमा जन्मिएकी शान्तिको बाल्यकाल सुखद्सँगै बित्यो । लजाउने, धेरै नबोल्ने स्वभावकी शान्ति आठ भाइबहिनी मध्ये जेठी छोरी हुन् । शान्तिले कक्षा ५ सम्म बालमन्दिर स्कुलमा पढिन् । कक्षा नौसम्म अमरज्योति माविमा पढिन् ।

 सल्लाह र समझदारी
संघर्ष गरेर सफलतामा पुगेका यो जोडी अहिले खुसी छन् । शान्तिले सिम्ताली चोकमा दैलेखी कस्मेटिक पसल सञ्चालन गर्दै आइरहेकी छन् । यो जोडी जे काम गर्दा पनि सल्लाह र समझदारीमा मात्र गर्ने गर्छन् । यस्तो गर्दा सम्बन्धमा खटपट आउँदैन । यो जोडी काममा नै धेरै व्यस्त हुने भएकाले सँगै घुम्न भने गएका छैनन् । तर, एकअर्काेको जन्मदिन आउँदा भने गिफ्ट आदानप्रदान हुने गर्छ ।

 एकअर्काको प्रसंशा
यो जोडी एकअर्काेको प्रशंशा भने खुलेरै गर्छन् । टेकेन्द्रलाई शान्तिको आफूलाई हरेक कुरामा विश्वास गर्ने बानी मनपर्छ । त्यस्तै शान्तिलाई टेकेन्द्रको आफूले गरेका हरेक काम कुरा जानकारी दिने बानी मनपर्ने गर्छ । शान्तिलाई टेकेन्द्रको कहिलेकाहीं घरमा ढिला आउने बानी मन पर्दैन । एकअर्काे बीचमा विश्वास र समझदारी भए मात्र दाम्पत्य सम्बन्धलाई दिगो बनाउन सकिने उनीहरूको भनाइ छ । जबसम्म एकअर्काे बीचमा समझदारी र विश्वास कायम हुँदैन तबसम्म सम्बन्ध राम्रो नहुने उनीहरूको भनाइ छ । उनीहरूको अनुसार जीवन भनेको संघर्ष, भोगाइ र कर्म हो । जीवनमा अनेक दुःख, बाधा अवरोधहरू आइपर्छन् ।

ती दुःख, बाधा, अवरोधहरूलाई सहजताका साथ समाधान गर्ने सक्नु नै जीवन हो । जीवनमा दुःख नगर्ने व्यक्ति सफलतामा नपुग्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार जीवनसाथी भनेको हरेक सुख दुःखमा साथ दिने, जीवनको अन्त्यसम्म साथ दिने साथी हो । जीवनको हरेक दुखसुखमा अनि जीवनको अन्त्यसम्म साथ दिन्छ उ नै जीवनसाथी हो । जीवनसाथी त जीवनको अन्त्यसम्म पनि साथ दिन्छन् । छोरा–छोरी सबै भए पनि सबै आ–आफ्नै जीवनसाथीकै साथमा रमाउँछन् । अन्त्यसम्म साथ दिने त जीवन साथी नै हो । (२०७७ माघ २४ गते शनिबार युगआव्हान राष्ट्रिय दैनिकको हाम्रो माया–प्रेम स्तम्भमा प्रकाशित)

तपाईको प्रतिक्रिया