भेरी–बबई डाइभर्सन आयोजना : ठेकेदार कम्पनीको विवादले कर्मचारीले तलव पाएनन्

सुर्खेत, २६ माघ ।
भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको ठेकेदार कम्पनीमा (परामर्शदाता) कार्यरत कर्मचारीले एक वर्षदेखि तलव पाउन सकेका छैनन् । दुई वटा ठेकेदार कम्पनीबीचको विवादका कारण कर्मचारीले तलव पाउन नसकेका हुन् । इरानी कम्पनी महाभोट अर्थात महव घोड्स कन्सल्टिङ इञ्जिनियरिङ (एमजिसिइ) र नेपालको इकोकोड अर्थात इञ्जिनियरिङ कन्सल्टेन्सी फर कन्स्ट्रक्टिभ डेभलपमेन्ट इफोर्ट इन) बीचको विवादका कारण कर्मचारीहरुले तलव पाउन नसकेका हुन् ।

आयोजनाको डिजाइन, क्वालिटी कन्ट्रोल र सुपरभिजनको जिम्मेवारी लिएका यि दुई कम्पनीबीच आर्थिक कारोबारको विषयमा विवाद भएको हो । महाभोट मुख्य ठेकेदार कम्पनी हो भने इकोकोडी महाभोटबाट काम लिने कम्पनी हो । आर्थिक कारोबारलाई सहज बनाउन महाभोट र इकोकोडले संयुक्त रुपमा बैंक खात्ता सञ्चालन गरेका थिए ।

जसमा महाभोटका नेपाल प्रतिनिधि र इकोकोडले संयुक्त हस्ताक्षर चल्थ्यो । तर यसअघि महाभोटका नेपाल प्रतिनिधि र इकोकोडीले मुख्य महाभोटलाई कुनै पनि जानकारी नदिएर एक करोड ३० लाख रुपैयाँ खर्च गरेपछि विवाद सुरु भएको हो । इकोकोडले जानकारी विना रकम खर्च गर्न थालेपछि महाभोटले एकलौटी रुपमा बैंक खात्ता सञ्चालमा ल्याएको छ । जसकाकारण इकोकोडसँग काम गरिरहेका कर्मचारीले रकम पाउन नसकेका हुन् ।

आयोजनाले मुख्य ठेकेदार कम्पनी महाभोटलाई ५६ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ । इकोकोडले रकम झिक्न नपाउने भएपछि कामदारलाई तलव दिन सकेको छैन । महाभोटले भने एक करोड ३० लाख रुपैयाँको खर्च विवरण पेश नगर्दासम्म इकोकोडलाई रकम नदिने अडान लिंदै आएको छ ।

पैसा नपाएपछि इकोकोडले थप काम गरेवापतको रकम भुक्तानीका लागि विलसमेत पेश नगरेको आयोजनाका इन्जिनियर सम्भुराज पण्डितले जानकारी दिए । दुई कम्पनीको यही विवादका कारण परामर्शदाता कम्पनीसँग कार्यरत कर्मचारीले एक वर्षदेखि तलव पाउन नसकेको उनको भनाइ छ ।

ठेकेदार कम्पनीले पारिश्रमिक नदिएपछि पाँच दिनदेखि कर्मचारीले आयोजनास्थलमा हड्तालमा गरेका छन् । पारिश्रमिक नपाउने कर्मचारीमा कम्पनीका डेपुटी टिम लिडरदेखि सहयोगी कर्मचारी र चालकसमेत गरी १९ जना छन् । आयाेजनाले २०७६ असोज ६ गते इरानी कम्पनी महाभोट तथा नेपालको एकोकोडसँग सम्झौता गरेको थियो । हाल यी दुबै कम्पनीले साझेदारीमा काम गरिरहेका छन् । पारिश्रमिक नपाएर आन्दोलित हुने सबै नेपाली कर्मचारी हुन् ।


कम्पनीका कन्स्ट्रक्सन सुपरभिजन इञ्जिनियर हर्कबहादुर ऐरले तलबबारे पटकरपटक अवगत गराउँदासमेत कम्पनीले बेवास्ता गरेको बताए । ‘हामीले माघ १९ गतेदेखि हड्ताल जारी राखेका छौं, यसअघि ६ पटकसम्म ध्यानाकर्षण गराइसकेका हौं’, उनले भने, ‘तलब नपाएको एकवर्ष पुग्यो, अब त दैनिकी चलाउन मुश्किल परयो ।’

तलव नपाएको भन्दै आन्दोलनरत कर्मचारीले कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सुर्खेत, श्रम विभाग काठमाडौं, भेरी बबई डाइभर्सन आयोजना, राष्ट्रिय मानवअधिकार आयोगलगायतका निकायमा उजुरी दिएका छन् । आयोजनाले पनि तत्काल दुई कम्पनी बीचको विवाद समाधान गर्न र कर्मचारीलाई तलव दिन आग्रह गर्दै अएको छ । ‘हामीले मुख्यम कम्पनीलाई विवाद समाधान गर्न पटकपटक पत्राचार गरेका छौं, तर रेस्पोन्स गरेको छैन’ आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले भने, ‘परामर्शदाता कम्पनीले समस्या हल नगरे दुबै कम्पनीलाई कालोसूचिमा राख्छौं ।’

दुई कम्पनीबीचको विवाद मिलाउन आयोजनाले समन्वय गर्न तयार भए पनि परामर्शदाता कम्पनीले समन्वयमा आउन नचाहेको उनको भनाइ छ । कर्मचारीको आन्दोलनका कारण आयोजना प्रभावित हुने भन्दै आयोजनाले तत्काल दुई कम्पनी मिल्न तयार नभएको खण्डमा सम्झौता रद्द गर्न सक्ने जनाएको छ ।

अबको तीन वर्षभित्रै विद्युत उत्पादन हुने
बुहउद्देश्यीय भेरी–बबई आयोजनाबाट अबको तीन वर्षभित्रै विद्युत उत्पादन गर्ने आयोजनाको तयारी छ । ‘कोरोनाले आयोजनाको ठूलठूला कामहरु प्रभावित भएका छन्’ आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले भने, ‘तर आगामी तीन वर्षभित्र विद्युत उत्पादन गर्ने तयारीमा छौं ।’ तोकिएकै समयमा विद्युत उत्पादन गर्ने उद्देश्यले समयावधि थप नगरिएको उनको भनाइ छ । आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

विद्युत उत्पादनको लागि बाँध र पावर हाउस (विद्युत गृह) निर्माणको जिम्मा चीनको ग्वाङ्डोन–युनाटियन र नेपालको रमण कन्स्ट्रक्सन जेभीले लिएका छन् । कुल आठ अर्ब लागत अनुमान गरिएको ठेक्का ग्वाङ्डोन र रमणले ६ अर्ब १६ करोड ५२ लाख १५ हजार सात ७५ रुपैयाँको ठेक्का लिएका हुन् । सम्झौता अनुसार आर्थिक वर्ष २०७९÷८० उनीहरुले विद्युत उत्पादन गरिसक्नुपर्ने छ । तर विद्युत उत्पादनका लागि दुई वटा कार्यको लागि भने अझै ठेक्का प्रक्रिया सुरु भएको छैन ।

उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारणसम्म जोड्ने र साइड टाइर्भसनर तथा हाइटोमेकानिल लगायतको कार्यको लागि छिट्टै ठेक्का हुने आयोजनाले जनाएको हो । हाल सम्पूर्ण आयोजनाको ४० प्रतिशत र दोस्रो चरण अन्तरगत झण्डै ११ प्रतिशत काम सम्पन्न भएको छ । कोरोना महामारीका कारण दोस्रो चरणमा काम प्रभावित भएको भन्दै तोकिएकै समयमा आयोजना सम्पन्न हुन्छ या समयावधि थप गर्नुपर्छ भन्ने विषयमा आयोजना अन्यौलमै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार