ताजा खबर

महिलाको अधिकारका लागि राजनीतिमा आएँ

रामकुमारी थापा, वडासदस्य, वीरेन्द्रनगर–३

तीन बर्षको उमेरमा नै आफ्ना जन्मदिने बुवालाई गुमाएकी रामकुमारी थापाको संघर्ष सानैदेखि सुरु भयो । सानै उमेरमा बुवा गुमाएकी थापाले बुवाको माया पनि आमासँग खोज्नु प¥यो । उमेर नपुग्दै उनले विवाह गरिन् । विवाह भएको नौ वर्षमा नै उनले श्रीमान् गुमाइन् । उनका श्रीमान् नेपाल प्रहरीमा थिए । सानै उमेरमा बुवा र श्रीमान् गुमाएकी थापालाई परिवार र समाजले हेर्ने दृष्टिकोण धेरै फरक भयो । तर पनि उनले हिम्मत हारिनन् । जीवनमा दुख र संघर्षलाई साथी बनाउँदै उनी अघि बढिन् । र आज उनी समग्र महिलाहरुका लागि उदारणीय बन्न सफल भएकी छन् । उनै संघर्षशील थापासँग आजको जम्काभेटमा हाम्रा सहकर्मी गीता थापाले कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंश :

बाल्यकाल दुखद्
वि.स. २०३३ सालमा सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर ३ मा जन्मिएकी रामकुमारी थापाको बाल्यकाल दुखद् बन्यो । उनी तीन वर्षको हुँदा उनको बुवाको निधन भयो । बुवाको निधनपछि उनलाई आमाले बुवाआमाको माया दिएर हुर्काइन् । सानै उमेरमा बुवाको माया गुमाएकी थापा बाल्यकालमा सरल स्वभावकी थिइन् ।

स्नातकसम्मको अध्ययन
नेरा प्राविमा उनले कक्षा १ देखि कक्षा ५ सम्म पढिन् । कक्षा ६ देखि भने उनले जन माविमा पढिन् । उनले जन माविबाट एसएलसी उर्तिण गरिन् । कक्षा ११ र १२ वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतबाट उर्तिण गरेकी हुन् । स्नातक तहको अध्ययन पनि उनले बहुमुखी क्याम्पसबाट नै गरिन् ।

श्रीमान् गुमाउँदाको पीडा
२०४९ सालमा विवाह गरेकी उनले श्रीमान्को माया धेरै समय पाइनन् । उनका श्रीमान् नेपाल प्रहरीमा थिए । २०५८ साल फागुन ४ गते राती अछामको मंगलसेनमा प्रहरी र तत्कालिन माओवादीबीच भएको भिडन्तमा परी उनका श्रीमान्को निधन भयो । विवाह गरेको नौ वर्षमै श्रीमान् गुमाउँदा उनले धेरै संर्घष र दुख भोग्नुप¥यो ।

तीन वर्षको उमेरमा जन्मदिने बुवालाई गुमाएकी थापाले सानै उमेरमा श्रीमान् पनि गुमाइन् । साथमा भएको एउटा छोराका लागि उनले घरपरिवार र समाजको अपहेलना पनि सहिन् । छोरालाई बुवाआमा दुवैको माया दिइन् । जसले जे भने पनि उनी आफु जस्तै एकल महिलाहरुका लागि लड्न अग्रसर भइन् । श्रीमान् हुँदासम्म घरभित्र सिमित भएकी थापाले श्रीमान्को मृत्युले समाजसँग लड्न सिकायो । एकल महिलालाई परिवार र समाजले हेर्ने दृष्टिकोण बदल्न उनी एकल महिलाहरुको समुह बनाएर अग्रसर भएर लागिन् ।


त्यस समयमा उनलाई माइतीको सहयोग थियो । माइतीको सहयोगले नै उनी समाजसेवामा लागिन् । सिस नेपाल संस्था थियो । त्यसले द्वन्द्धपीडितहरुलाई संगठित गर्ने काम गथ्र्याे । त्यसमा उनी पनि समावेश भइन् । मानव अधिकारका लागि एकल महिला संस्थाका संस्थापक अध्यक्ष सुर्खेत आएको समयमा उनले समुह बनाउन प्रयास गरेपछि उनीहरुले कोठा भाडामा लिएर एकल महिलाहरुको संस्था स्थापना गरे । महिलालाई आवद्ध गराउँदै लगे । एकल महिलाहरुको हक अधिकारका लागि उनी लड्दै आइरहेकी छिन् ।

राजनीतिक यात्रा
थापाको राजनीतिक यात्रा श्रीमान्को मृत्यु भए पश्चात भएको हो । श्रीमान् हुँदासम्म घरभित्र सिमित थापा श्रीमान्को मृत्यु भएपछि राजनीतिमा होमिन् । एकल महिला समुहमा आवद्ध भएपछि उनलाई बाहिरी कुरा धेरै थाहा भयो । अब म पनि राजनीतिमा लाग्नुपर्छ भनेर उनी राजनीतिको यात्रा सुरु गरिन् । समाज परिवर्तनका लागि ठाउँमा महिला पनि पुग्नपर्छ भन्ने उद्देश्यले उनी राजनीतिमा लागिन् ।

समाजको मुल नीति भनेकै राजनीति भएका कारण समाज परिवर्तन र महिलाका मुद्दा महिलाले नै उठाउनुपर्छ भनेर पनि उनी राजनीतिको बाटो रोजिन् । मेहेनती, परिश्रम, इमान्दार भएकै कारण उनलाई पार्टीले पनि विश्वास मान्यो र वडा सदस्यमा उठायो । अहिले उनी वीरेन्द्रनगर वडा नम्बर ३ को वडासदस्य हुन् । उनी पहिला अन्तर पार्टी महिला सञ्जालको अध्यक्ष भएर पनि काम गरिसकेकी छन् ।

छोरीलाई दाइजो होइन, शिक्षा दिऔं
उनलाई सानै उमेरमा विवाह गर्दा पछुतो लाग्ने गथ्र्याे । सानै उमेरमा विवाह नगरेको भए समाजका लागि केही गर्न सक्ने हुने थिए भन्ने उनलाई मनमा खट्की रहन्थ्यो । सानै उमेरमा विवाह गरेर त्यसमाथि श्रीमान् गुमाउँदाको पीडा छुट्टै थियो । सानै उमेरमा एकल भएकी थापालाई परिवार र समाजको साथ सहयोग थिएन । त्यही कुराले गर्दा पनि उनी सानै उमेरमा विवाह नगरेको भए भविष्यमा केही न केही त गर्न सक्ने हुन्थे होला भन्ने लागि रहन्छ ।

उनको श्रीमान्को मृत्यु हुँदा उनले भर्खर एसएलसी पास गरेकी थिइन् । श्रीमान्को निधनपछि परिवार र समाजको व्यवहार र हेर्ने दृष्टीकोणले गर्दा उनले फेरी पढाइ सुरु गरिन् र स्नातकसम्मको अध्ययन पुरा गरिन् । उनी त्यही पढाइका आधारमा अहिले आफ्नो र एकल महिलाहरुको हकअधिकारका लागि बोल्न र लड्न सक्ने भएकी छिन् । उनी भन्छिन्, ‘अहिले मैले नपढेको भए अझै पनि परिवार र समाजको अपहेलना सहेर बस्नु पर्ने थियो, समयमै पढेँ र अहिले जुनसुकै स्थानमा गएर पनि हकअधिकारका लागि बोल्न सक्ने भएको छु, त्यसैले छोरीलाई दाइजो होइन, शिक्षा दिन आवश्यक छ ।’ (२०७७ माघ २३ गते शुक्रबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार