साढे २ करोड नेपालीको हातमा इन्टरनेट

२४ माघ, कोभिड–१९ महामारीसँगै सुरु गरिएको लकडाउन र भर्चुअल अनलाइन कक्षाका कारण नेपालमा इन्टरनेट प्र्रयोगकर्ताको संख्या अत्यधिक बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मानेर बिदेसिएका नेपालीलाई कटाएर विश्लेषण गर्दा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या कुल जनसंख्याको हाराहारीमै पुुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्ममा साढे २ करोडको हातमा इन्टरनेट पुुगेको छ ।     

एक व्यक्तिसँग २ देखि ३ वटा सिम हुने भएकाले सबै नेपालीको पहुँचमा इन्टरनेट पहुँच पुगेको छैन । प्राधिकरणको गत कात्तिकसम्मको तथ्यांकलाई मात्र केलाउने हो भने पनि २ करोड २९ लाख २१ हजार १ सय ८० जनाको पहुँचमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुुगेको छ । जसमा इन्टरनेट सर्भिस प्रोभाइडर ९आईएसपीहरूको मात्र ५० लाख ३० हजार ९ सय ४९ वटा लाइन वितरण गरिएको छ । यसबाट वाईफाई जेनेरेट गरी धेरैजनालाई बाँडफाँट गरिने हुँदा पहुँचको संख्या अझ बढी हुने बताइएको छ । व्यक्तिगत रूपमा नेपाल टेलिकमको मोबाइलबाट फोरजी लिनेकै संख्या २० लाख ४९ हजार ९ सय १६ छ । नेपाल टेलिकमको डाटा ९इमेल, इन्टरनेट आदि० सेवाका प्रयोगकर्ता २०७७ मंसिरको अन्त्यसम्ममा कुल १ करोड ६४ लाख ९ हजार ५ सयभन्दा बढी पुगेको छ ।

सोमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता १ करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ८१ हजार ५ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाईम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । जीएसएम फोरजीतर्फ हालसम्म करिब २५ लाख ग्राहक पुगिसकेका छन् ।

एलटीई एडभान्स्ड फोरजी मोबाइल सेवा ७७ वटै जिल्लाका ६२० स्थानीय तहसम्म पुगिसकेको पनि अधिकारीले जानकारी दिए । टेलिकमले फाइबर टु द होम एफटीटीएच सेवा ४२ जिल्लामा पुगेको छ । एउटै फाइबरबाट भ्वाइस, इन्टरनेट तथा टिभी उपलब्ध हुने भएकाले हालसम्म १ लाख १५ हजार ग्राहक पुगिसकेको बताइएको छ । कोभिड–१९ पछि मात्र मोबाइल इन्टरनेट, ब्रोडब्यान्डलगायतका ग्राहक २५ लाखले बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया