प्रदेश र स्थानीय तहबीच समन्वय नै हुन सकेन

लालबहादुर महतारा (मेयर) छेडागाड नगरपालिका, जाजरकोट

कर्णाली प्रदेशका १० जिल्ला मध्येको एक हो जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका जुन साविकका दशेरा, साल्मा, कार्कीगाउँ, झाप्रा, पजारु र सुवानाउली गाविसलाई समायोजन गरी छेडागाड नगरपालिका बनाइएको हो । यस नगरपालिकामा पर्यटकीय स्थलका रुपमा सुयाडा मालिका, छत्र्याल देवल आदी पर्दछन् । यस नगरपालिकामा जनप्रतिनिधि आएको साढे तीन वर्ष भइसकेको छ । उक्त अवधिमा छेडागाड नगरपालिकामा के कस्ता सामाजिक परिवर्तन भए, भौतिक विकास निमार्णका कामहरु कति भए ? र जनताको अपेक्षाकृत कामहरु भए वा भएनन् ? यीनै विषयवस्तुमा केन्द्रित रहेर हाम्रा सहकर्मी गीता थापाले छेडागाड नगरपालिका मेयर लालबहादुर महतारासँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंशः

हिजोआज के गर्दै हुनुहुन्छ ?
हिजोआज पार्टीको काममा नै व्यस्त छौं । नगरपालिकाबाट दिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने काममा पनि लागि परिरहेका छांै ।

तपाइँ निर्वाचित भएयता नगरमा कस्तो परिवर्तन भयो ?
स्थानीय सरकार आएपछि घरघरमा सरकार पुगेको अवस्था छ । सबै वडाहरुमा सडक सञ्जाल पुगेको छ । वडा मात्र होइन, टोलहरु पनि सडक सञ्जालमा जोडिएका छन् । हामीले सडक सञ्जाल हरेक टोल टोलहरुमा पु¥याउने अभियान नै थालेका छांै । शिक्षातर्फ पनि विकास भएको छ । शैक्षिक क्षेत्रको गुणस्तरमा बृद्धि गर्ने काम भएका छन् । शैक्षिक क्षेत्र आधार भुत अवस्थाबाट अगाडी बढीहरेको थियो । अहिले शिक्षकहरु नियमित विद्यालय जाने अवस्था छ ।

पहिला शिक्षकहरु विद्यालयमा भेटिदैन्थे । अहिले त्यो अवस्थाको अन्त्य गरेका छांै । विद्यालयहरुको भौतिक संरचना निमार्ण गर्ने कार्य पनि भइरहेको छ । बालविकास केन्द्रहरु निमार्ण गरेका छौं । बालविकास केन्द्रहरुको निमार्ण गरेको छांै । बालमैत्री वातावरण निमार्ण गर्ने, बालकेन्द्रित सिकाइको व्यवस्था गर्ने, एक विद्यालय, एक खेल मैदानको अवधारण बनाउने काम गरेका छौं । सबै विद्यालयमा खेल मैदान अनिवार्य बनाइ विद्यार्थीहरुको सर्वाणिक विकासका लागि परेका छौं ।

यस्तै एक घर, एक खानेपानीको अवधारणा पनि ल्याएका छौं । विभिन्न एनजीओ र आइएनजीओसँग सहकार्य गरेर धारा निमार्ण कार्य पनि गर्दै छौं । अहिले झण्डै पाँच सयदेखि आठ सयसम्म धाराहरु निमार्ण सम्पन्न भइसकेका छन् भने बाँकी ६÷७ सय घरधुरीका लागि धारा निमार्ण गर्ने कार्य हुँदैछ । कृषिका क्षेत्रमा पनि हामीले काम गरेका छौं ।

किसानहरुका लागि समुह निमार्ण गर्ने, औद्योगिक क्षेत्र, जल क्षेत्रहरु निर्धारण गर्ने कार्य पनि भइरहेको छ । किसानलाई आधुनिकीकरणमा कृषि गर्न प्रोत्साहन गर्ने गरेका छांै । न्यायिक क्षेत्रमा पनि कतिपय मुद्दाहरु पुलिस र अदालत जानु पर्ने बाध्यता हुन्थ्यो त्यसका लागि पनि हामीले न्यायिक समिति मार्फत अगाडी बढ्ने कुरा पनि भएको छ । गाउँ गाउँमा न्यायिक समितिका मेलमिलाप केन्द्रहरु स्थापना गर्ने कार्य पनि भएको छ ।

स्वास्थ्यका क्षेत्रमा पनि हामीले काम गरेका छौं । पहिला सात वटा मात्र स्वास्थ्य चौकीहरु थिए । अहिले १३ वटा वडामा १५ वटा स्वास्थ्यको भवन निमार्ण गरेका छौ । यसले गर्दा जनताको पहुँचमा स्वास्थ्य पुग्नुका साथै बाल मृत्युदर घटाउने काम गरेको छ । मंसिरको महिनामा हामीले नगर अस्पताल उद्घाटन पनि भएको छ । उक्त अस्पतालबाट अहिले दैनिक ७० जनाले सेवा लिइरहनु भएको छ । पूर्वाधारहरु भने हामीले ल्याउन सकिरहेका छैनौ । ल्याप छैन तर पनि हामी लागि परिरहेका छौ । माघ मसान्तसम्म अस्पतालमा सबै सामाग्रीहरु ल्याउने योजनामा छौ । बृद्धभत्ता बैकिङ कारोबार हुँदा अलि समस्या भएको छ । भनेको समयमा बृद्धबृद्धाले भत्ता पाउन सक्नु भएको छैन । बैकमा जानुपर्ने बाध्यता छ ।

महिलाको क्षेत्रमा के के काम गर्नुभयो ?
महिलाका क्षेत्रमा पनि कामहरु भएका छन् । शिशु र माृतमृत्युदर घटाउने कार्यक्रमहरु ल्याएका छौं । महिलालाई पेशा व्यवसायमा संलग्न गराउनका लागि विभिन्न तालिमहरु सञ्चालन गर्दै आइरहेका छौं । महिला केन्द्रित कार्यक्रमहरु भइरहेका छन् ।

नगरमा आर्थिक विकासको सम्भावना के छ ?
नगरमा आर्थिक विकासको मुख्य आधार भनेको त कृषि क्षेत्र नै हो । सडक विस्तार गर्ने र सडक वरीपरी विभिन्न खेतीपाती गर्ने काम भइरहेका छन् । भैसीपालन, बाख्रापालनमा विशेष जोड दिएका छौं । किसानलाई प्रोत्साहन गर्ने कार्य पनि भइरहेको छ ।

विकासमा के कस्ता चुनौती आउने गरेका छन् ?
पहिला त व्यक्तिहरुको सोच परिवर्तन गर्न जरुरी छ । व्यक्तिहरु राज्यको बजेट आफ्नो पोल्टामा पार्न पाए हुन्थ्यो भन्ने सोचाइ छ । त्यो सोचले गर्दा विकास गर्न हामीलाई चुनौती छ । कृषि क्षेत्रकै धैरै मानिसलाई पनि कृषिलाई आधुनिकीकरण गर्ने कुरामा बुझाउन समस्या छ । के हुन्छ र ? भन्ने प्रवृतिले गर्दा समस्या छ । भुगोलका हिसावले पनि काम गर्न चुनौती छ । स्रोत साधन छैन, श्रमशक्तिको अभावका कारण काम गर्नलाई चुनौती नै छ । भएका र उत्पादन भएको वस्तु खपत गर्ने बजार छैन ।

नगरमा मुख्य समस्या के छन् ?
हाम्रो नगरको मुख्य समस्या भनेको दुई वटा नदी छन् । तर ती नदीमा पुल छैन । वर्षातको समयमा यातायातको साधन ठप्प नै हुन्छन् । हिँड्नुपर्ने बाध्यता छ । मान्छेको थाप्लोको नाम्लो छुटाउने कुरा हो । हामीले धेरै कोशिस पनि ग¥यौं । तर सकिरहेका छैनौ ।

प्रदेशसँग कसरी समन्वय गर्नुभएको छ ?
प्रदेश र स्थानीय तहको कुनै पनि विषयमा समन्वय भएको छैन । सौतेल्नी व्यवहार गर्छ प्रदेश सरकार स्थानीय तहलाई । कसरी समन्वय हुन्छ त ? प्रदेश सरकार आफ्नो खुशीका कार्यक्रम मात्र ल्याउँछ र पठाउँछ । हामीसँग कुनै पनि सहकार्य नै हुँदैन । स्थानीय जनतासँग हामी प्रत्यक्ष जोडिएको हुँदा उनीहरुको समस्या हामीलाई थाहा हुन्छ । त्यही अनुरुप बजेट र कार्यक्रम ल्याउनुपर्ने हो । तर प्रदेश सरकार हामीसँग समन्वय नै गर्दैन । कसरी जनताको माग पुरा गर्ने ? खासमा प्रदेश सरकार र स्थानीय तहबीच समन्वय नै हुन सकेन ।

अन्त्यमा के भन्नुहुन्छ ?
हामीले एक घर, एक रोजगारी सिर्जना गर्ने कार्यक्रमहरु ल्याएका छौं । युवाहरुलाई दक्षताका आधारमा स्वरोजगारमा लगाउनु योजनाका साथ अघि बढेका छौं । जनतासंग गरेका प्रतिवद्धता अनुसार नै काम गरिरहेका छौं । (२०७७ माघ २१ गते बुधबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया