कुहिएको चामल खान बाध्य छन् हुम्ली

हुम्ला २०माघ सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रको चामल कुहिएको भेटिएको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पाइएको छ ।

मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्री केन्द्रबाट ठेकेदारले कुहिएको चामल उपभोक्तालाई बिक्री गरेको जनाइएको छ । हिमाल निर्माण सेवा मुगुका ठेकेदार प्रदीप टमटाले कुहिएको चामल जनतालाई बिक्री गर्ने गरेका छन् । सर्केगार्ड गाउँपालिका–१ जैरबाट चार घण्टा पैदल हिँडेर चामल लिन बालुकुना पुगेका स्थानीयवासी धनगडी बलले गुनासो गरे । अधिकांश उपभोक्ताले चामल किनेर घर पुर्याइसकेपछि मात्रै चामल गुणस्तरहीन रहेको थाहा पाएका छन्

चामल डल्ला र घुन लागेर खान नमिल्ने खालको भएपछि गाईभैँसीलाई खुवाएको सर्केगार्ड गाउँपालिका–१ का स्थानीयवासी दिलबहादुर कार्कीले बताए । उनले भने– ‘माथिल्लो भाग हेर्दा चामल राम्रै देखिन्थ्यो बीच र तल्लोमा काम नलाग्ने कुहिएर डल्ला परेको रहेछ ।’ फिर्ता गर्न धेरै समय लाग्ने भएकाले अधिकांश उपभोक्ताले चामल, गाईभैँसीलाई खुवाउन बाध्य भएको कार्कीको भनाइ छ । ठेकेदारले जहाँ पायो त्यही गोदाम बनाएर थन्काएर राखेपछि यस्तो समस्या खेप्नु परेको उपभोक्ताहरुले दुःखेसो गर्दै आएका छन् । सुर्खेतबाट मुगुको सोरुकोटसम्म गाडीमा र सोरुकोटबाट खच्चर ढुवानी गरी हुम्लाको सर्केगार्ड गाउँपालिका–१ को बालुकुना बिक्री केन्द्रसम्म ३२० क्विन्टल चामल पुर्याएको ठेकेदार प्रदीप टमटाले बताए ।

गाडीमा भिजेको हुनसक्ने हिमाल निर्माण सेवा मुगुका ठेकेदार टमटाले स्वीकार गरे । ‘गाडीवालाको लापरबाही हो’, उनले भने । कुहिएको आधा चामल जैरको खच्चामा त्रिपालले छोपेर राखेको ठेकेदार टमटाले बताए । ‘२५ बोरा सात क्विन्टल सर्केगार्ड जैरको खच्चामा छोपेर राखेको छु’, उनले भने । ठेकेदार टमटाले हतारहतारमा मुगु जिल्लाको सोरुकोटमा एक हजार, कार्मारुम एक हजार र बिक्री केन्द्रमा ९०० क्विन्टल चामल पुर्याएका थिए । सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट हुम्लाका उपभोक्ता ठगिँदै आएका छन् । एक महिना पहिले सर्केगार्ड गाउँपालिकास्थित सर्केगार्ड डिपोबाट रु एक हजार ३५० पर्ने चामल ठेकेदारले रु दुई हजार मूल्यमा बिक्री गरेको उपभोक्ताहरु बताउँछन् । सर्केगार्ड डिपोमा कर्मचारी नभएपछि ठेकेदारले मनपरीरुपमा चामल बिक्री गरी उपभोक्ताबाट रकम असुल्ने गरेको उनीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया