बिरुवा समेत बिक्री नहुँदा यसरी ऋणमा डुबे किसान

तेह्रथुम २०माघ । अन्नबाली हुने खेती योग्य जमिन समेत मासेर कालो सुन भनेर चिनिने अलैँची खेतीमा हौसिएका तेह्रथुमका किसान यो वर्ष निराश भएका छन् ।

पूर्वी नेपालको पहाडी क्षेत्रमा अलैँची राम्रो उत्पादन हुँदै आए पनि यो वर्ष भने बिरुवानै बिक्रि हुन सकेको छैन । अलैँचीले मूल्य पाउँदा बिरुवा बेच्न भ्याइनभ्याइ हुने किसानहरू यो वर्ष भने फुर्सदिला देखिएका छन् ।

अलैँचीबाट राम्रो आम्दानी लिँदै गरेका तेह्रथुम लालीगुराँस नगरपालिकाका कृषक टेकबहादुर केप्छाकी मगरले बिरुवा उत्पादन गरे पनि बिक्रि नहुँदा अलमलमा परेका छन् । बिरुवा बिक्रि नभएपछि उनले उत्पादन गरेका झण्डै ४ लाख अलैँचीको बिरुवा बगानमै हुर्किन थालेका छन् ।

गाउँमै व्यावसायिक अलैँचीको बिरुवा उत्पादन गर्ने सोचेर मगरले अलैँची बिरुवा उत्पादनलाई रोजे पनि बिक्रि नहुँदा डुब्ने डर बढेको छ । सुरुमा १२ हजार रुपैयाँ किलो अलैँचीको बियाँ २० किलो खरिद गरी नर्सरी सुरुवात गरेका उनी अहिले ऋणसमेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । उनले ६० लाख रुपैयाँमा अलैँचीको बिरुवा उत्पादन गरेका थिए ।


गुणस्तरीय बिरुवा उत्पादनसँगै किसानको माग अनुसार बिरुवा उत्पादन गर्ने लक्ष्यले अलैँचीको बिरुवा उत्पादन गरेका यहाँका किसान अहिले अलँची मास्न लागेका छन् । आफ्नै २० रोपनी जमिन र भाडामा जग्गा लिएर मगरले सुरुवात गरेको बिरुवा उत्पादन सुरुका दिनहरूमा राम्रै बजार पाए पनि अहिले बिक्रि सुस्ताएको छ ।

बिरुवा बिक्रिका लागि हारगुहार गरे पनि सम्बन्धित निकायले बजार व्यवस्थापन गर्न सकेको छैन । यहाँका अलैँचीको बिरुवा ७ रुपैयाँको दरले बिक्री हुँदै आएका छन् ।
उत्पादन भए अुनसार बिरुवा बिक्रीका लागि भरपर्दाे बजार नहुँदा किसानहरू पलायन हुने अवस्थामा पुगेका छन् । त्यसैले कालो सुनको रूपमा परिचित अलैँचीको खेती विस्तारतर्फ सरकारले विशेष योजना बनाउनुपर्ने देखिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार