भागी विहे गर्दा माइतीले दुई वर्षसम्म बोलाएनन्

गीता थापा

जीवनका हरेक मोडमा अनेक थरी साथीहरू भेटिन्छन् । कतिपय बिचमै छुटिन्छन् पनि । तर, जीवनसाथी जीवनको अन्तिम घडीसम्म पनि साथमा नै रहन्छन् । जीवनसाथी एउटा यस्तो साथी हो, जो हरेक दुःख सुखमासँगै रहिरहने, जीवनको अन्तिम साससम्म पनि साथ दिन सक्ने, आफूले चोट सहेर पनि जीवनसाथीलाई सुखी बनाउन सक्ने क्षमता जीवनसाथीमा हुन्छ । यस्तै ज्ञानबहादुर नेपाली र सुशिला परियारको जोडी पनि एकअर्कालाई धेरै माया गर्ने र बुझ्ने जोडीमा पर्दछ ।


पहिलो भेट कार्यक्रममा

ज्ञानबहादुर नेपाली वीरेन्द्रनगरको इत्राम स्कुलमा पढ्दा नेपालगञ्जमा भएको कार्यक्रममा भाग लिन गएका थिए । उनले बाँसुरी बाधकको रुपमा कार्यक्रममा भाग लिएका थिए । उक्त कार्यक्रममा दाङबाट सुशिला परियार पनि आएकी थिइन् । उनी गायिकाको रुपमा आएकी थिइन् । २०५३ सालमा दुवैको नेपालगञ्जमा भएको कार्यक्रममा पहिलो भेट भयो । उनीहरुको मौकाले बस्ने होटेल पनि एउटै प¥यो । चिनजान भयो । त्यो भेट त्यतिकैमा सकियो । सामान्य बोलचाल मात्र भयो । पछि फेरी २०५४ सालमा क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतको कार्यक्रम सुर्खेतमा भयो । दाङबाट कलाकार टोलीमा सुशिला पनि आइन् । त्यतिबेला पनि उनीहरुको भेट भयो । भेटघाट बाक्लिदै गएपछि दुवैले एकअर्कालाई मन पराउन थाले । तर कसले पहिला प्रेम प्रस्ताव राख्ने भन्ने कुरामा दोधार भयो । मन त पराए दुवैले, तर भन्न सकेनन् । पछि सुशिलाले ज्ञानबहादुरको बारेमा आफन्तसँग बुझिन् । त्यस समयमा कुलमान नेपालीसँग सुशिलाले ज्ञानबहादुरको बारेमा बुझिन् । बानी व्यवहार सबै राम्रो छ भन्ने थाहा पाएपछि सुशिलाले नै पहिलो पटक ज्ञानबहादुरलाई प्रेम प्रस्ताव राखिन् । दुवैले प्रेमलाई स्वीकार गरेपछि उनीहरुले २०५५ सालमा भागी बिवाह गरे ।

सामान्य बाल्यकाल

पिता चन्द्रबहादुर नेपाली र माता रत्नकुमारी नेपालीको कोखबाट वि.स. २०२७ सालमा वीरेन्द्रनगर वडा नम्बर ७ इत्राममा जन्मिएका ज्ञानबहादुर नेपाली घरको जेठो छोरा हुन् । हाल उनको घर वीरेन्द्रनगर ६ न्युरोडमा छ । सानैदेखि कलाकारितामा उनको रुची थियो । बाल्यकालदेखि नै गित गाउने, बासुरी बजाउने गर्थे । चन्चले स्वभावका थिए उनी । उनले कक्षा १० सम्म श्री कृष्ण संस्कृती मावि इत्राममा पढेका हुन् । पछि उनी कलाकारिता क्षेत्रमा लागेपछि पढाईलाई भने विट मारे ।

यस्तै सुशिला पिता दामोदर परियार र माता रामकली परियारको कोखबाट वि.स. २०३७ साल दाङको घोराही नगरपालिका ६ मा जन्मिएकी हुन् । उनले पनि १० कक्षा पढेकी छन् । हज्ञानबहादुरको कलाकार बन्ने सपना ज्ञानबहादुर विद्यालयका कार्यक्रमहरुमा उनी गीत गाउने, नाटक खेल्ने र उनी मुख्य काम बाँसुरी बजाउने गर्थें । उनी कलाकारितामा खुलेर लागेको वि.स २०४२ सालबाट लागेका हुन् । २०४२ सालमा विद्यालयमा स्काउटको जिल्ला स्तरीय नृत्य प्रतियोगिता भएको थियो । त्यो बेलामा उनको टिम प्रथम भएको थियो । त्यसमा उनले पनि नृत्य गरेको थिएँ । उनी खास कलाकार बनुँला भनेर लागेको त होइन, तर अन्तरआत्मादेखि कलाकारिता प्रति चासो बढेर उनले यो क्षेत्र छोड्न सकेनन् ।

माइतीले दुई वर्षसम्म बोलाएनन्

सुशिला घरकी कान्छी छोरी हुन् । छोरीले भागेर विहे गरेपछि उनीहरुलाई माइतीले दुई वर्षसम्म बोलाएनन् । उनको बुवाआमा छोरीले पढ्ने उमेरमा विहे गरी भनेर रिसाए । जति रिसाए पनि बाआमाको मन न हो, आफ्नो सन्तानप्रतिको माया त कहाँ टाढा हुन्छ र ? यो जोडीको छोरी जन्मेपछि मात्र उनीहरुलाई माइतीले बोलाए ।


छोरी र बुहारी हुँदाको अनुभव

सुशिलालाई छोरी र बुहारी हुँदाको धेरै फरक लाग्यो । माइतीमा केही काम नगरेकी सुशिलालाई विहेपछि घरमा सबै काम गर्नुपर्ने भयो । घरको जेठी बुहारी भएकाले पनि सबै जिम्मेवारी उनीमा नै थियो । उनलाई सुरु सुरुमा खाना पकाउनसमेत आउँथेन । घरमा सबैको माया ममताले गर्दा उनी घरमा छिटो नै घुलमिल भइन् । खाना पकाउनमा नन्दले उनलाई धेरै सहयोग गरिन् । त्यसले गर्दा पनि उनलाई सहज भयो ।
एकअर्काको प्रसंशा

यो जोडी एकअर्काको खुबै प्रसंशा गर्छन् । ज्ञानबहादुरलाई सुशिलाको घर व्यवहार सम्माल्ने बानी मनपर्ने गर्छ । जिम्मेवारी सहजै निवार्ह गर्ने बानी मनपर्ने गर्छ । यस्तै सुशिलालाई पनि ज्ञानबहादुरको नरिसाउने, धेरै नबोल्ने बानी मनपर्ने गर्छ । ज्ञानबहादुर भन्छन्, ‘मेरी श्रीमतीले घर व्यवहार नसम्मालेको भए, आज म कलाकार भनेर चिनिने भागी विहे गर्दा माइतीले दुई वर्षसम्म बोलाएनन् थिएन, आज म जहाँ छु त्यो सबै श्रेय मेरी श्रीमतिलाई जान्छ । उनी त मेरो भगवान हुन् ।’ सुशिला पनि कलाकार नै हुन् । तर घर व्यवहारले गर्दा उनले श्रीमान्लाई कलाकारितामा सहयोग गरिन् । उनले कहिल्यै गुनासो गरिनन् कलाकारितामा लाग्न नपाएकोमा ।
बाँसुरीले चिनारी दियो
ज्ञानबहादुरको चिनारी बाँसुरी हो । यसैमा उनलाई गर्व लाग्छ । हुन त उनी गायक पनि हुन् । त्यसैगरी नृत्य पनि गर्थें । तर पछि मुख्य विधाको रुपमा बाँसुरी बाधक भयो । उनलाई विनोद बस्यालले बाँसुरी बजाउन सिकाएका हुन् । उनलाई बुवाआमाले कलाकारिता क्षेत्रमा आउनलाई धेरै साथ दिए । त्यो जमानामा संगीत सिक्ने भन्ने हुदैनथ्यो ।

गीत सुन्नकै लागि उनका बुवाले रेडियो किनिदिनु भएको थियो । त्यहि रेडियोमा बजेको बाँसुरीको धुन नै उनको संगीतको शिक्षक हो । उनी स्कुलमा पढ्दा गुरुआमा सुधा रेग्मी थिइन् । उनलाई कलाकारितामा लाग्न प्रोत्साहन भने उनीले गरेकी हुन् । उनको प्रोत्साहनले नै आज उनलाई एउटा बाँसुरी बाधकको रुपमा परिचय बनाएको छ । कलाकारितामा निरन्तर लाग्नको लागि साथ दिने जीवनसाथी सुशिला परियार नै हुन् ।

जन्मदिनमा उपहार साटासाट

यो जोडीले एकअर्काको जन्मदिन मनाउने गर्छन् । घरपरिवारसंग बसेर रमाइलो गर्दै एकअर्काको जन्मदिन मनाउने गर्छन् । जन्मदिन विवाह उत्सव आउँदा एकअर्कालाई उपहार पनि दिने गर्छन् । यो जोडीका अनुसार सम्बन्ध दिगो बनाउन एकअर्कामा विश्वास र समझदारी हुन आवश्यक छ । एकअर्का प्रतिको विश्वास नगुमाउनका लागि एकअर्कामा भावना साटासाट हुन जरुरी हुन्छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार