कोरोना कहरमा राहत दिने सरकारी घोषणा, मृतकका आफन्तले पाएनन् राहत


सुर्खेत, १७ माघ ।
गएको साउनतिर देशभर कोरोनाको ठूलो त्रास थियो । ज्यान जोगाउन भन्दै शहरबाट गाउँ पस्ने नागरिकको लर्को नै थियो । उद्योग, कलकारखाना, बजार व्यवसाय पूर्णरुपमा बन्द थिए । नागरिकहरु घरभन्दा बाहिर निस्कन डराउँथे । सरकारले गरेको लकडाउन खुलिसकेको थिएन । यही त्यसमा अर्थात साउन ३१ गते कर्णाली प्रदेश सरकारले बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था थियो । त्यही बाध्यताले गाउँ पुगेका सांसदहरु सुर्खेत झरे ।

सबैले सांसदहरुले कोरोना परीक्षण गराए । त्रासैत्रासका बीचमा कर्णाली प्रदेश सरकारले असार ३१ गते बजेट ल्यायो । त्रासपूर्ण वातावरणबाट त्रसित भएको कर्णाली प्रदेश सरकारले बजेट भाषणामै प्रदेशमा कोरोना संक्रमणबाट नागरिकको मृत्यु भएको खण्डमा एकलाख रुपैयाँ दिने घोषणा ग¥यो । विपत्तमा सरकारले नागरिकप्रति जिम्मेवार देखिएको भन्दै स्यावासी पायो । कोरोनाबाट मृत्यु भएको खण्डमा मृतकका परिवारलाई एकलाख रुपैयाँ दिन सरकारको घोषणाले सबैतिर चर्चा पायो । नागरिकहरुले सरकारलाई खुलेरै धन्यवाद दिए ।

तर मृतकका परिवारलाई एकलाख रुपैयाँ राहत दिने भनी घोषणा गरेको कार्यक्रम भने कार्यान्वयनमा आउन सकेको छैन । बजेट ल्याएको सात महिना वितिसक्दा पनि कोरोनाबाट मृतकका परिवारलाई राहत दिने कर्णाली प्रदेश सरकारको कार्यक्रम कार्यान्वनमा आउन नसकेको हो । कोरोना माहामारीबाटै कर्णाली प्रदेशभर २९ जनाको ज्यान गुमाई सकेका छन् । मृतकमध्ये सुर्खेतका सबैभन्दा बढी छन् । तर बजेट भाषणमा कोरोनाबाट मृत्यु हुनेका परिवारले एकलाख रुपैयाँ राहत पाउँछन् भन्ने सुनेका मृतका आफन्तहरुले भने सरकारले झुटा आश्वासन दिएको गुनासो गर्न थालेका छन् ।

बजेट भाषणामै उल्लेख भएको विषय भने कार्यान्वयन गर्न कुनै संकेत देखिएको छैन । स्वास्थ्य क्षेत्र हेर्ने सामाजिक विकास मन्त्रालय र स्वास्थ्य महाशाखासमेत यस विषयमा अनभिज्ञ छ । बरु बजेट भाषणमा राहत दिने कुरा उल्लेख नभएको जिकिर गर्दछ । ‘कोरोनाबाट मृत्यु हुनेका परिवारलाई राहत दिने विषय हाम्रो बजेटमा छैन’ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख बृषबहादुर शाहीले भने, ‘बजेटमै नभएपछि कसरी राहत दिनु ?’

कोरोनाबाट २९ जनाको मृत्यु
कर्णाली प्रदेशमा कोरोना संक्रमण बाट हालसम्म २९ जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार मृतक मध्ये सुर्खेतका सबैभन्दा बढी छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार सुर्खेतका १६ जना, दैलेखका ६ जना, सल्यान, रुकुमपश्चिम, कालिकोट र डोल्पाका एक÷एक जना छन् । त्यस्तै बाँकेका दुई र स्याङ्झाका एक जनाको पनि कर्णाली प्रदेशमै मृत्यु भएको छ । कर्णाली कार्याक्षेत्र भएका उनीहरुको कोरोनाबाट कर्णालीमै मृत्यु भएको हो । मृतक २९ जनामध्ये पुरुष २१ जना र महिला आठ जना छन् । तर कर्णालीमा स्थायी ठेगाना भएका तर अन्य प्रदेशका मृत्यु भएका नागरिकको तथ्याङ्क भने यसमा समावेश गरिएको छैन ।

साढे सात हजार संक्रमित
कर्णाली प्रदेशमा हालसम्म साढे सात हजारभन्दा बढी संक्रमित भएका छन् । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार शुक्रबारसम्म प्रदेशभर संक्रमितको संख्या सात हजार पाँचसय एघार जना पुगेको हो । संक्रमितमध्ये सुर्खेतका सबैभन्दा बढी छन् । तथ्याङ्कअनुसार सुर्खेतमा तीन जार दुईसय ३३ जना, दैलेखमा एक हजार ६ सय ८१, जाजरकोटमा एकसय ५९ जना, सल्यानमा ६ सय ९३ जना र रुकुमपश्चिममा दुईसय ५७ जना संक्रमित भएका छन् । त्यस्तै जुम्लामा चारसय १३ जना, कालिकोटमा तीनसय ३१, हुम्लामा ५९, मुगुमा ४१, डोल्पामा ४४ जना, अन्य प्रदेश पाँचसय ९५ र भारतका पाँचजना छन् ।

संक्रमितमध्ये हाल सुर्खेतमा २५ जना, दैलेखमा तीन जना, जाजरकोटमा एकजना सल्यानमा १९जना विभिन्न अस्पताल तथा होमआइसोलेसनमा उपचारत छन् । तर रुकुम पश्चिम, जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भने संक्रमितको संख्या शुन्य छ । प्रदेशका कुल संक्रमितमध्ये सातहजार दुईसय ८३ जना भने संक्रमणमुक्त भएका छन् ।

जोखिम कायमै छ ः स्वास्थ्यकमी
अहिले कोरोनाको त्रासपूर्ण अवस्था छैन । लकडाउन खुलेदेखि नै कोरोनाका विषयमा सचेतना अपनाउने छोडिएको छ । तर स्वास्थ्यकर्मीहरुले भने कोरोनाको जोखिम अझै कामय रहेको बताएका छन् । ‘कोरोनाको खोप आयो भन्दैमा हामी सुरक्षित भइसक्यौँ भन्ने अवस्था छैन’ प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकलपर्सन डाक्टर नवराज केसी भन्छन्, ‘अहिले पनि कोरोनाको जोखिम आएमै छ ।’ खोप आइहाल्यो भन्दैमा सचेतना अपनाउन छोड्नु मुर्खता हुने उनको तर्क छ ।

अझै पनि जटिल प्रकृतिका संक्रमणहरु आउन सक्ने भन्दै सुरक्षा सावधानीका उपायहरु अपनाउनुपर्ने उनको सुझाव छ । अहिले नै आम नागरिकले खोप पाउन सक्ने अवस्था नभएका कारण सामाजिक दुरी, मास्क तथा सेनिटाइजर जस्ता सुरक्षा सावधानिहरु निरन्तर अपनाउनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्ले बताउँछन् ।

तपाईको प्रतिक्रिया